• २०८१ बैशाख १५ शनिबार

बाह्रबिसे नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्धारण गरी लागू गरिने

kharibot

मेलम्ची । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले यसै वर्ष वैज्ञानिक स्थानीय पाठ्यक्रम निर्धारण गरी लागू गर्ने भएको छ ।

नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको नगर शैक्षिक सम्मेलनले आठ बुँदे प्रतिबद्धतापत्र घोषणा गर्दै यस्तो निर्णय गरेको हो ।

सम्मेलनले यसै वर्षभित्र स्थानीय पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिकसत्रबाट लागू गर्ने निर्णय गरेको छ । विद्यालयको भौतिक पूर्वाधार निर्माणमा विशेष जोड दिँदै सम्मेलनले सबै विद्यालयमा सुविधासम्पन्न कक्षाकोठा निर्माण गर्ने जनाएको छ ।

बाल तथा शिशु कक्षा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्ने, दुई वर्षभित्र नगरपालिकाका ३५ विद्यालयमा पूर्वाधार सम्पन्न बाल कक्षा सञ्चालन गर्ने नीति लिइएको छ । 

विद्यार्थी, अभिभावक र शिक्षकलाई एक सूत्रमा बाँध्नका लागि नगरपालिकाको तर्फबाट समन्वयकारी भूमिका निभाउने निर्णय गरिएको नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले बताईन । 

“त्यसका लागि नगरपालिकाकाले अभिभावक शिक्षण कार्यक्रमसमेत सञ्चालन गर्नेछ”, उपप्रमुख पाख्रिनले भनिन्, “आगामी पाँच वर्षभित्र नगरपालिकाका सबै विद्यालयलाई प्रविधिमैत्री र शिक्षकलाई समाजकै दक्ष व्यक्तिको रुपमा स्थापित गराइनेछ ।” शिक्षाविद् डा विद्यानाथ कोइरालाले व्यावसायिक ज्ञान दिनेगरी पाठ्यक्रमको विकास हुनुपर्ने बताए ।

बिहीबार सम्पन्न सम्मेलनमा नगरपालिकाका एक क्याम्पस, ४९ सामुदायिक विद्यालय र छ निजी विद्यालयका शिक्षक, विद्यार्थी तथा विद्यालय व्यवस्थापन समिति सदस्यको उपस्थिति थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै