म सबै केटालाई दाजुभाई मान्न सक्दिन !

खरीबोट

कुरा आफैबाट सुरु गर्दा राम्रो होला जस्तो लाग्यो ।

घटना १

पुषको महिना थियो, झिस्मिसेमै कलेज पुगें । धेरै चिसो भएका बेला एक गिलास पानी खाए पनि तीन गिलास पिसाव आउँछ । सायद त्यहि भएर होला, डेरादेखि कलेज पुग्दा नपुग्दै पिसावले च्यापेर हैरान बनायो । 

आर.आर क्याम्पसको भित्री च्यानल गेटबाट छिर्ने बित्तिकै महिला शौचालय आउँछ । कक्षाकोठा जानुअघि शौचालय जानु ठिक ठानेर त्यतै लम्किएँ । महिला शौचालय छिर्ने बित्तिकै भित्रकी एक युवतीले नमिठोसँग चिच्याउँदै भनिन्, ‘काँ आ’को, यता हैन तपाईको !’
मुखबाट थाहै नपाई फुत्कियो, हजुर ?

युवती केहि हच्किईन् र भनिन्, केहि हैन, ट्वाइलेट कतिधेरै फोहोर रै’छ भनेको । 

घटना २

कलेजले केहि बिद्यार्थीलाई अनुसन्धानका लागि तथ्यांक संकलन गर्न पठाउने भयो । सेयरकाष्ट नामक संस्था, जो संञ्चारको प्रभावबारे अनुशन्धान गर्छ, त्यसैमार्फत हामी केहि साथीहरु नेपालका बिभिन्न जिल्लामा डाटा कलेक्सनका लागि जाने भयौं । जानुभन्दा अघि उक्त संस्थाले तीन दिनको वोर्कसप राख्यो र हामीलाई फिल्डमा जाँदा के गर्ने, के नगर्ने भन्नेवारे सिकायो । यो वर्कसप धोविघाट स्थित सिद्धार्थ कटेजमा भएको थियो । 

ब्रेक समयमा अन्य साथीसँगै म पनि शौचालय गएँ । महिला शौचालय ब्यस्त भएकाले म लगायत अन्य साथीहरु बाहिर उभिइरहेका थियौं । त्यसै समयमा उक्त होटलमा काम गर्ने एक कामदार म भन्दा ठिक पछाडीबाट ‘दाई’ भनेर एकोहोर चिच्याइर¥यो । त्यति ठुलो स्वरले बोलाउँदा पनि नसुन्ने को रहेछ भनेर फर्केर हेरें । मैले जस्तै त्यहाँ उभिएका सबै केटी साथीले आवाज आएतर्फ हेरे । उसले मलाई हेरेर, पुरुष शौचालयतिर देखाउँदै भन्यो, ‘दाई तपाइको यता हैन, त्यता हो ।’

घटना ३

सर नआएकाले हामी एचओडी (क्याम्पस बिभाग प्रमुख) को कार्यकक्ष अगाडी होहल्ला गररहेका थियौं । मसँगै एक केटा साथी पनि उभिइरहेका थिए । त्यहि समयमा हामीभन्दा तल्लो सेमेस्टरकी सुन्दर युवती लच्किदैं कतै जाँदै थिईन् । मेरा ती केटासाथीले मतर्फ इसारा गर्दै भन्यो, ‘राम्री छ, तिमी सम्हाल !’

मैले भने, ‘म राम्री हैन, राम्रालाई नै सम्हाल्छु । केटी हैन, केटालाई नराम्रो नजरले हेर्छु, त्यहि भएर यसलाई तिमी नै सम्हाल, आवश्यकता परे बरु म तिम्लाई सम्हालुँला हुन्न !’

यी तीन घटना, सयौं घटनाको हुलमुलबाट निकालिएका प्रतिनिधि घटना मात्रै हुन् । यसलाई घटना भन्दा परिस्थिति भने अझै राम्रो होला । किनभने मैले यी र यस्ता परिस्थिति बेहोर्नुपरेको करिब दुई बर्षजति भयो । 

काठमाडौंको ठाउँ, शौचालय जाँदा त पानी किन्नुपर्छ, फोकटमा कपाल धुन मात्रै किन त्यत्रो पानी खर्च गर्नु भन्ने ख्याल मनमा आएपछि मैले कपाल ठुट्टै बनाईदिएँ । त्यहि कपाल काटिसकेपछि आएका परिस्थितिहरु हुन् यी । जसमा केहि परिस्थिति रोचक छन् त केहि मनै कोक्याउने खालका छन् । खैर, यहाँ मैले जोड्न खोजेको कुरा भने बेग्लै छ । 

यी दुई बर्षमा, धेरैको नजरबाट मैले तेस्रो लिंगीको जिन्दगी जिउनुपर्यो । नेपाल सरकाले दिएको नगरिकतामा, म महिला हुँ । मेरा बाबुआमाको म कान्छी छोरी, दाई दिदीका कान्छी बहिनी र भाइको कान्छि दिदी हुँ । गाउँघरमा समेत मलाई अझै ‘कान्छी’ भनेर बोलाउँछन् ।

मेरो सपनामा सुन्दर केटा नै राजकुमार बनेर घोडा चढेर लिन आउँछ । लिंगको आधारमा पनि म छोरी हुँ । ‘म महिला हुँ’ को यतिधेरै प्रमाण हुँदाहुँदै पनि धेरैको नजरमा म तेस्रो लिंगी भएँ, जसका कारण बिभिन्न आक्षेपहरु सहनुपर्यो । कपाल काटेकै भरमा मलाई हेर्ने नजर फरक भयो भने, साँच्चैका तेस्रो लिंगी या समलिंगीहरुले कस्तो ब्यवहार भोग्नुपर्ला ? मेरो दिमागले अचेल ती कुराहरु सोच्न थालेको छ ।

केटीले पनि कपाल काट्छन् भन्ने कुरा स्विकार्न नसक्ने यो समाजले, छोराले ज्वाईं ल्याएको, छोरीले बुहारी ल्याएको त कुनै छोरा या छोरीले ज्वाई र बुहारी दुबै ल्याएको भन्ने कुरालाई स्विकार्न सक्ला र ? 

एउटा त्यस्तै समलिंगीहरुको कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । त्यहाँ एकजना मोडल जो आफूलाई ‘गे’ भन्न रुचाउँछन्, अनुज पिटर राई, उनको कुरा सुन्ने मौका पाएँ । एकजना पत्रकार साथीले तपाइलाई सर भन्ने कि मिस भनेर अक्मकाएको देखेर पिटरले भने, ‘म गे हुँ, मलाई महिला हैन पुरुष मनपर्छ, पुरुषसँगै बिहे गर्न चाहन्छु । यसको मतलव यो हैन कि म पुरुष हैन ।’ उनले अगाडी भनेका थिए, ‘मलाई अन्य मानिसहरुले दाई भनेर बोलाएकै मनपर्छ, सर भनेकै राम्रो लाग्छ, किनभने लिंगको आधारमा म हुँ त पुरुष नै ।’

आफूलाई ‘गे’ भन्न रुचाउने पुरुषले समेत मलाई दिदी हैन, दाई भनेकै मनपर्छ भन्छन् भने, म त भावनाले समेत महिला हुँ, मलाई दाई भन्ने अधिकार कसले दियो ? मलाई पुरुष मनपर्छ, महिला सम्हाल भन्ने अधिकार कसले दियो ? लिंगको आधारमा महिला हुँ, महिलाकै शौचालयमा किन आएको भन्ने अधिकार कसले दियो ? 

मलाई यी प्रश्नहरु चिच्याएर सोध्ने मन छ । साथै स्पष्टिकरण पनि दिन मन छ, हे ! सबै जनाले सुन, म सबै केटीलाई दिदीबहिनी मान्न तयार छु तर सबै केटालाई दाजुभाई मान्दिन । म आजका दिनसम्म केटालाई नै नराम्रो नजरले हेर्छु, कुरा बुझ्नुभो !

सम्बन्धित समाचार

आज गुरु पुर्णिमा : गुरुलाई सम्मान गरौँ

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।  ‘गु’ को अर्थ अन्धकार र ‘रु’

आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

काठमाडौँ । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान्

स्मार्टफोन कति खतरनाक ? डेभलपरको कठपुतली त बन्दै छैनौं ? 

काठमाडौँ । अधिकांश मानिसको लागि स्मार्ट फोन संसारलाई हेर्ने एउटामात्रै झ्याल हो । तर, के यदि यो झ्याल अरुले तपाईंको जीवनलाई नियाल्ने माध्यम बन्यो भने ?  तपाईंको खल्तीमा नै लुकेर कसैले

संघिय संरचनाको काँग्रेस कहिले बन्छ ?

काठमाडौं : काँग्रेसभित्र अहिले संघीय संरचना गठन गर्ने कि नगर्ने भन्ने बहस तिब्र भएको छ ।  आगामी असार २२ गते काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको छ । केन्द्रीय समितिको बैठकमा


z