• २०८१ बैशाख १५ शनिबार

अलोकतान्त्रिक शक्तिको मोर्चाबन्दी देखियो – प्रधानमन्त्री ओली

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली लोकतान्त्रिक पद्धति र परिपाटी, मूल्यमान्यताप्रति प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गरेका प्रधानमन्त्री ओलीले  हरेक क्षेत्रमा निहुँ खोज्ने काम भइरहेको बताए ।

पहिलेदेखि तय भएको कार्यक्रमलाई प्रतिपक्षी दल काँग्रेसले अवरोध गरेको आरोप लगाए ।   

‘लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा साथ दिएका देउवा आफैं वेल घेर्न जानुभयो, पहिले आफू बोल्न पाउनु पर्छ भनेर,’ प्रधानमन्त्री ओलीले भने,‘ प्रधानमन्त्रीले होइन आफूले बोल्न पाउनुपर्छ भनेर वेल घेराउ गर्न गएको देखेर म आश्चर्यचकित भएँ । उँहालाई संसदीय मर्यादा के हो थाहा हुनुपर्ने ।' 

उनले देउवालाई यति संसदीय मर्यादा थाहा हुनु पर्ने उल्लेख गर्दै आजको अवरोध असंसदीय गतिविधि भएको तर्क गरे ।

आज लोकतन्त्रका विरुद्ध, गणतन्त्रका विरुद्ध, संघियताका विरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी स्पष्ट रुपमा देखा परेको भन्दै अतिबामपंथी देखि अति दक्षिणपंथीहरु एक जुट भएको देखिएको प्रधानमन्त्री ओलीले दाबी गरे ।       

प्रधानमन्त्रीले संसदमा बोल्नुपर्ने विषय पत्रकार सम्मेलन गरेर बोल्न खोजेको होइन भन्दै ‘संसदमा जे गतिविधि भए ती असंसदीय र अमर्यादित क्रियाकलाप भए। यसबारे देशको ध्यानाकर्षण गराउन खोजेको हुँ,’ प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीले अहिले अचानक कतै बाट निस्केर सरकारमा पुगेको नभई लामो संघर्ष गरेर लोकतन्त्रका लागि लडेर आएको भन्दै लोकतान्त्रिक तरिकाले बनेको सरकारलाई अहिले स्वीकार गर्न नसकेको बताए ।

सरकार प्रेस स्वतन्त्रता, मानवाधिकार प्रति प्रतिबद्ध रहेको भन्दै देशको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । सरकार देश बनाउने अभियानमा लागेको भन्दै सरकारले सदै सामाजिक सद्भावमा राष्ट्रिय एकताको जोड दिने बताए ।
अहिले समृद्धिका कामलाई सरकारले अगाडी बढाउन लाग्यो भनेर एकथरी आत्तिएको समेत उनले दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफु युरोपमा गएका बेला गुठी विधेयकबारे उल्टो प्रचार गरिएको भन्दै सार्वजनिक सम्पत्तिको दुरुपयोग नहोस् भनेर नै विधेयक ल्याएको बताए । प्राधिकरणले गुठी संचालन गर्ने होइन तर भ्रम छर्नकाल आगी कुप्रचार गरिएको आरोप लगाए ।

प्रधानमन्त्री ओलीले गुठी बारे काठमाडौँ र काठमाडौँ बाहिरको स्थिति फरक फरक रहेको बताए । काठमाडौँ बाहिर गुठीका नाममा शोषण भैरहेको समेत प्रधानमन्त्रीले बताए ।

अहिले देशबासीले सोच्नु पर्ने अवस्था आएको भन्दै हरेक विधेयक आउदा माइतीघर मन्डलामा जुलुस हुने गरेको बताए । प्रधानमन्त्री ओलीले व्यंग्य गर्दै भने, 'माइतीघर त साच्चै माइतीघर नै रैछ, केहि चित्त बुझेन की निस्केर माइतीघर गइहाल्ने ।'

प्रधानमन्त्री ओलीले यतिबेला आन्दोलन गर्नु नपर्ने बताउदै संवादबाट सबै कुरा टुंगाउन सकिनेमा जोड दिए । यो सरकार जनताले चुनेको सरकार भएकोले जनताले जे चाहन्छन सरकारले त्यहि गर्ने बताए । लोकतन्त्रलाई कम्जोर बनाउने गतिबिधि, विकासका कामलाई अवरोध गर्ने गतिविधि आवश्यक नभएको बताउदै असन्तुष्टि भएका सबैपक्षलाई छलफलमा आउन समेत प्रधानमन्त्रीले आव्हान गरे । प्रधानमन्त्री ओलीले राजनीतिक शक्ति र आम जनतालाई लोकतन्त्र विरोधी शक्तिलाई चिन्न र सजक हुन समत आग्रह गरे ।

प्रधानमन्त्रीले नेपालको मिडिया संक्रमणकालमा रहेको बताउदै सामाजिक मुल्य, मान्यतालाई बिचार गर्न नसकेको बताए । टेलिभिजनले भाषा बिगारेको भन्दै तपाइँ भन्ने शब्द मिडियाले बिर्सेको बताए । सामाजिक संजालको अवस्था बिग्रिएको भन्दै मिडियाले पनि सामाजिक संजाललाई फलो गरेको आरोप लगाए ।                                         

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले आफ्नो साताव्यापी युरोप भ्रमणको बारेमा जानकारी दिदै भ्रमण सफल भएको जानकारी दिए । नेपालको तीन देशसँगको पारस्परिक सम्बन्धमा अगाडी बढाएको दाबी गरेका छन् । आफुले अक्सफोर्डमा गरेको सम्बोधन ४० लाखले प्रत्यक्ष हेरेको समेत प्रधानमन्त्रीले जानकारी गराए ।

            
                
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै