• २०८१ बैशाख १४ शुक्रबार

कालोपत्र पछि लामिडाँडा विमानस्थलमा पहिलो उडान

kharibot

खोटाङ । जिल्लाको पुरानो लामिडाँडा विमानस्थल कालोपत्र सम्पन्न भएको छ । उत्तरी क्षेत्रको रावाबेँसी गाउँपालिका–३ मा पर्ने लामिडाँडा विमानस्थलमा कालोपत्र गरिएसँगै समिट एयरले उडान भरेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजारको लागतमा विमानस्थल कालोपत्र गरिएको हो । विमानस्थल कालोपत्रको सांसद विशाल भट्टराईले उद्घाटन गरे । उनले विमानस्थलमा नियमितरुपमा विमान उडानका लागि प्राधिकरणसँग छलफल भइरहेको बताए । पाँच सय २० मिटर लम्बाइ तथा २० मिटर चौडाइ रहेको विमानस्थल कालोपत्र वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्सन प्रालीले गरेको हो । 

विमानस्थल विसं २०२८ देखि कच्ची अवस्थामा सञ्चालनमा थियो । लामो समयसम्म कच्ची अवस्थामै सञ्चालनमा आएको विमानस्थल कालोपत्र भएपछि उडान भर्न सहज भएको छ । यहाँ दुई वर्षदेखि हवाई उडान अवरुद्ध थियो । धार्मिक तथा पर्यटकीय गन्तब्य हलेसी आवतजावत गर्न पर्यटकलाई सहज हुनेछ । छिमेकी जिल्ला ओखलढुङ्गा र सोलुखुम्बुका बासिन्दालाई समेत सेवा दिने उद्देश्यले ४८ वर्षअघि विमानस्थल निर्माण गरिएको हो । 

स्थानीयवासीले कुटो र कोदालोको भरमा विसं २०२६ मा विमानस्थल निर्माण थालेका थिए । दुई वर्षपछि विसं २०२८ मा विमानस्थल सञ्चालनमा आएको थियो । तीन विमानस्थल रहेको खोटाङमा मनमाया राई खानीडाँडा विमानस्थल पहिराका कारण अवरुद्ध छ ।

हाल विमानस्थल मर्मतको काम भइरहेको छ । विमानस्थल अवरुद्ध हुँदा सबैभन्दा बढी मारमा बिरामी पर्ने गरेका छन् । थामखर्क विमानस्थल कालोपत्र गरिएसँगै गत माघदेखि नियमित सञ्चालनमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै