खतरनाक हुन सक्छ सधैं थाकेको महसूस गर्नु !

खरीबोट

काठमाडौं । एक्काइसौं शताब्दीभन्दा अघि यदि थकानको कुरा मात्रै गर्ने हो भने पक्कै पनि आफूले अरुको रिस खप्नुपर्थ्यो । त्यस बेला थकानका लागि कुनै पनि ठाउँ थिएन । तर, आजभोलि मानिसहरु दिनभर घरमै मोबाइल चलाएर बसिरहँदा पनि थकानको महसूस गरिरहेका छन् । उनीहरुलाई दुई पाइला चाल्न पनि हिम्मत आउँदैन । यस्तो समस्या दिनानुदिन बढिरहेको छ । 

हाल यस प्रकारको थकानलाई बर्नआउट नाम दिइएको छ । कुनै पनि चिन्ताका कारण भावनात्मक शून्यता, शारीरिक तथा मानसिक क्षमतामा ह्रासको महसूस गर्नु बर्नआउट हो । शारीरिक तथा मानसिक आघात परेको, इच्छा पूर्ति नभएको अथवा भावनात्मक रुपमा आफूलाई असुरक्षित महसूस गरेको व्यक्तिमा यस्तो समस्या देखा पर्न सक्छ । 

सन् २०७० को दशकमा न्यूयोर्कमा जर्मन–अमेरिकी मनोवैज्ञानिक हर्बर्ट फ्रायडेनबर्गरले आफ्नो क्लिनिकमा स्वयंसेवा गर्ने एक व्यक्ति विभिन्न समस्याबाट गुज्रिरहेको फेला पारे । ती स्वयंसेवकले गर्नुपर्ने काम धेरै थियो । उनलाई हौसला दिने पनि कोही थिएनन् । उनी मानसिक रुपले श्रान्त थिए । स्वयंसेवा गर्नुभन्दा अघि यो कार्य धेरै फाइदाजनक रहेको उनी सोच्दथे । तर, पछि उनी खिन्न रहने, झर्कोफर्को गर्ने स्वभावका हुँदै गए । उनले आफ्ना रोगीहरुको पनि राम्ररी ख्याल राख्न सकिरहेका थिएनन् । 

पहिले त फ्रायडेनबर्गरले ती स्वयंसेवकको यो अवस्था कामको थकानका कारण भएको ठाने । तर, जब उनको यो समस्या शारीरिक परिश्रमका कारण मात्र आएको होइन, यसका अन्य धेरै कारण हुने रहेछन् भन्ने उनले जाने, त्यसपछि उनले यस समस्याका लागि बर्नआउट शब्द चयन गरे । यो शब्द निकै छिटो विश्वभर लोकप्रिय भयो । 

विश्वव्यापी रोग 

विश्वमा बर्नआउटबाट मानिस कति ग्रस्त छन् भन्ने त बेलायतको एक अध्ययनले स्पष्ट देखाएको छ । सन् २०१८ मा बेलायतमा मात्रै कामको तनावले ५ लाख ९५ हजार मानिस पीडित थिए । खेलाडी, यूट्युबर, उद्यमीदेखि स्वयं फ्रायडेनबर्गर समेत यसको शिकार भएका थिए । 

गत महिना विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी रुपमा फैलिएको रोगको मान्यता दिएको छ । रोगको वर्गीकरणको अन्तर्राष्ट्रिय म्यानुअलमा यसलाई लगातार कामको तनावले उत्पन्न हुने सिन्ड्रोम उल्लेख गरिएको छ । 

डब्ल्यूएचओका अनुसार बर्नआउटका तीन कारण छन्, थकान, कामबाट दिक्क हुनु र व्यक्तिगत खराब प्रदर्शन । 

यसलाई बेवास्ता गर्नु अथवा उपचारमा ढिलाइ गर्नु समस्यालाई अझै विकसित हुने मौका दिनु हो । कुनै अन्य रोगजस्तै यसमा पनि रोगलाई बढ्न दिनु र ढिला गरी उपचार गर्नाले समस्या बढ्दै गएर कहिल्यै छुटकारा पाउन नसकिने पनि हुन सक्छ । 

आयरल्यान्डको डब्लिन काउन्टीकी एक मनोचिकित्सक सियोबेन मरे भन्छिन्, ‘बर्नआउटको पहिलो संकेत र लक्षण तनावसँग धेरै मिल्छ ।’ मरेले द बर्नआउट सोलुसन नामक एक पुस्तकमा बर्नआउटबाट बच्न रक्सी र चिनीबाट टाढा रहन सल्लाह दिएकी छन् । 
यदि थकान हटिरहेको छैन भने त्यसमा ध्यान दिनु अत्यन्त जरुरी छ । 

बिहान १० बजेसम्म सुतेर पनि फेरि सुत्ने इच्छा हुन्छ, घुम्ने फिर्ने ऊर्जा शरीरमा नरहेमा सतर्क हुनुपर्छ । जब यस्तो महसूस हुन थाल्छ, चिकित्सकको सल्लाह लिनुपर्ने मरे बताउँछिन् । 

तनाव र बर्नआउटको पूर्व स्थिति उस्तै हुन्छ । बर्नआउटलाई रोगको मान्यता दिनु राम्रो कुरा हो । तर, अझै पनि यसलाई पेशागत सामान्य घटनाको रुपमा लिइन्छ । यस्तोमा दुवैको अन्तर बुझ्ने चिकित्सकको सल्लाह लिनु अत्यन्त जरुरी छ । किनकि, तनावको उपचारको लागि विभिन्न विकल्प भए पनि बर्नआउटको उपचारको लागि सबैभन्दा राम्रो उपाय भनेकै जीवनशैलीमा परिवर्तन हो । 

बर्नआउटको नजिक पुगेको र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको बारे कसरी थाहा पाउने भन्ने बीबीसीको प्रश्नमा मरे भन्दछिन्, ‘वास्तवमा तनाव हाम्रो जीवनमा त्यति धेरै हानिकारक पनि होइन, किनकि, यसले हामीलाई राम्रो काम गर्न अभिप्रेरित गर्दछ, तर, जब हामी तनावबाट गुज्रिरहेका हुन्छौं, र हामीलाई आफ्नो ख्याल राख्ने फुर्सद मिल्दैन भने यो बर्नआउटमा परिवर्तन हुन सक्छ । 

उदाहरणको लागि आफूले चयन गरेको कुनै परियोजनाबारे सोचेपछि उत्तेजित हुनु साधारण कुरा हो । यसले मानिसलाई रातभर अनिदो राख्न पनि सक्छ । तर, जब काम पूरा भइसकेपछि पनि छटपटी लगातार बढिरहन्छ भने, हरेक कुरामा झर्को लागिरहन्छ भने त्यो बर्नआउट हुन सक्छ । 

मरे भन्छिन्, ‘यदि तपाईंलाई आफूले गरेको कार्यको कदर नभएजस्तो लाग्छ, सामाजिक प्रतिबद्धताबाट पछि हट्न मन लाग्छ, निराशाले घेरिरहेको छ भने सम्हालिने बेला आइसकेको छ ।’

काममा असर 

लन्डनकी मनोचिकित्सक तथा बर्नआउट विशेषज्ञ ज्याकी फ्रान्सिस वाकर भन्छिन्, ‘बर्नआउटबाट ग्रस्त व्यक्ति भावनात्मक रुपमा शून्य हुन्छ भने मानसिक रुपमा पनि उसले हरेकसँग दूरी महसूस गर्न थाल्छ । मानौं ऊसँग दैनिक जीवनका सामान्य क्रियाकलापमा सहभागी हुने पनि क्षमता नहोस् ।’

मानिसहरुले आफ्नो कार्यक्षमतामा ह्रास आएको र काम सही ढंगले पूरा नभएको देखेपछि म यस्तो मानिस त होइन, म सबै काम सजिलै गर्न सक्ने मान्छे हुँ, म यो, त्यो अनि त्यो सबै काम नै फत्ते गर्न सक्छु भन्ने सोच्दछ । तर, शारीरिक क्षमतामा कमी आएको कारणले नै ती कार्य सही ढंगले पूरा हुन सकिरहेका छैनन् भन्ने बुझ्नुपर्छ । 

मस्लक बर्नआउट इभेन्ट्ररी 

‘मस्लक बर्नआउट इभेन्ट्ररी परीक्षण’(एमबीआई) बर्नआउट मापनको लागि तयार पारिएको हो । एमबीआई परीक्षणले थकानका साथै मानिस काम गर्दा कति सही ढंगले सोच्न सक्छ भन्ने पनि मापन गर्दछ । यद्यपि, यसले तब मात्रै राम्रो नतिजा दिन सक्छ, जब बर्नआउट चरममा पुगेको हुन्छ । 

बर्नआउटबाट कसरी बच्ने ? 

बर्नआउटलाई रोक्ने एकमात्र तरिका भनेको यसको मूललाई नै नष्ट गर्नु हो । मानिसको जीवनमा जे चलिरहेको हुन्छ, त्यसलाई स्थायी र अस्थायी रुप दिन सकिन्छ । उदाहरणका लागि कुनै पनि चिन्ता छ भने त्यस चिन्तालाई छोडेर राम्ररी निद्रा पूरा गर्ने हो भने बर्नआउटबाट शरीरलाई मुक्त गर्न सकिन्छ । बर्नआउटबारे वाकर यो पनि भन्छिन् कि जब मानिस निपुण हुने कोशिश गर्छ, तब उसलाई मानिसहरुले जति निपुण भन्ने सोच्छन् त्यसका लागि आफूले कडा मेहनत गर्नुपर्छ भन्ने सोचाइले पनि बर्नआउटको समस्या हुन सक्छ । 

कार्यस्थलको वातावरण 

कहिलेकाहिँ कामको वातावरणले पनि यस्तो समस्या देखिन सक्छ । सन् २०१८ मा ७ हजार ५ सय अमेरिकी श्रमिकमा परिएको एक अध्ययनका अनुसार कामको क्रममा हुने अनुचित व्यवहार, कामको असहनीय बोझ र कोही व्यक्तिको भूमिकाबारे अस्पष्टताले पनि बर्नआउट हुने देखाएको छ । श्रमिकहरुलाई मेनेजरबाट सहयोग नमिल्ने, उनीहरुलाई अनुचित दबाब दिइने कारणले पनि तनाव बढ्छ । 

मूल्यको टकराव

वाकर भन्छिन्, ‘कुनै विषयमा कम्पनीको मूल्य तथा मान्यता र व्यक्तिगत मूल्य तथा मान्यता मेल नखाएमा पनि तनाव, भावनात्मक अशान्ति उत्पन्न हुन्छ । किनकि उनीहरुले त्यो गर्नुपर्ने हुन्छ, जसमा उनीहरुलाई विश्वास नै हुँदैन ।’

कतिपय अवस्थामा त मानिसहरु बाहिर केही काम गरेर आफूलाई सन्तुष्ट राख्न सक्छन्, तर, कतिपय अवस्थामा त कम्पनी अथवा पेशा नै बदल्ने निर्णयसम्म पुग्छन् मानिसहरु ।

बर्नआउटको कारण जे भए पनि आफूप्रति दयालु रहन मरे सुझाव दिन्छिन् । मरेको अनुभवका अनुसार बर्नआउट नामक महामारीको प्रमुख कारण भनेकै मानिसको सबै कुरा चाहने उसको बानी हो । 

चाहेको सबै कुरा मिल्न सम्भव छैन 

हुन सक्छ, मानिसको सामाजिक जीवन स्वस्थ होस्, आफ्नो काम सही ढंगले सम्पन्न होस्, शरीर पूर्ण रुपमा तन्दुरुस्त होस्, लक्ष्यलाई प्राप्त गरियोस् तथापि, मनमा केही अशान्ति रहिरहन सक्छ । यस्तोमा आफ्नो प्राथमिकताको कुरा तय गर्नु अत्यन्त जरुरी छ । आफूबाट धेरै अपेक्षा गर्नुहुँदैन । मानिसले सबैभन्दा पहिला आफू र आफ्नो क्षमतालाई पहिचान गर्न सक्नुपर्छ । 

यदि हामीले आफू र अन्यलाई तुलना गर्दा अन्य व्यक्ति व्यक्तिगत र सामाजिक जीवनमा हरेक तरिकाले परिपूर्ण देखिएको छ भने कि त उसले हामीलाई भ्रममा पारिरहेको छ, अन्यथा यो सब हुनुमा उसलाई अन्य कतैबाट सहारा मिलिरहेको छ भन्ने बुझ्नुपर्छ । त्यसैले आफ्नो जीवनलाई अन्यसँग तुलना गरेर उसले जति मैले किन गर्न सक्दिनँ भनी चिन्तित हुनु व्यर्थ छ । 

यदि कोही पनि व्यक्ति आफूलाई बर्नआउटको समस्याको नजिक रहेको महसूस गर्दछ भने उसले एक कदम पछि हटेर के सही भइरहेको छ र के गलत भइरहेको छ भनी पहिचान गर्ने कोसिस गर्नुपर्छ । आफ्नो जीवनशैलीमा केही परिवर्तन ल्याउनुपर्छ । व्यस्त जीवनबाट केही पछि हटेर स्वस्थ तथा पोषणयुक्त खानापान, योग, व्यायाम, खेलकुद, संगीत, भ्रमणमा समय दिनु आवश्यक छ । आफ्नो ख्याल आफैले राख्ने हो भने बर्नआउटको समस्याबाट पक्कै पनि छुटकारा पाउन सकिन्छ । 

बीबीसीबाट भावानुवाद  
 

सम्बन्धित समाचार

आज गुरु पुर्णिमा : गुरुलाई सम्मान गरौँ

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।  ‘गु’ को अर्थ अन्धकार र ‘रु’

बाराका स्वास्थ्य केन्द्रमा औषधीको अभाव : डाक्टर भन्छन, 'जीवनजल पनि छैन्'

बारा । बाराको एक जिल्ला अस्पताल ६ प्राथमिक स्वास्थ्य केन्द्र , ९८ हेल्थपोष्ट र बडाहरुमा रहेका दर्जनौं स्वास्थ्य केन्द्रहरुमा राज्यले निःशुल्क उपलव्ध गराएको औषधी नभए पछि यहाँ उपचार गराउँन आएका

आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

काठमाडौँ । आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान्

नेपालगंज र कोहलपुर मेडिकल कलेजसँग सांग्रिला डेभलपमेन्टको स्वास्थ्यसेवा सम्झौता 

काठमाडौँ । नेपालगंज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजसँग सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको स्वास्थ्यसेवामा छूटसम्बन्धी सम्झौता भएको छ । बैंक र मेडिकल कलेजबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा


z