• २०८१ बैशाख १४ शुक्रबार

डार्क वेव : गैरकानुनी गतिविधिहरूको साम्राज्य

kharibot

काठमाडौँ । अमेरिकामा सरकारले नै लागू पदार्थलाई डिलरबाट तपाईंको घरको ढोकासम्म पुर्याइदिन्छ भन्दा तपाईंलाई अचम्म लाग्ला । तर इन्टरनेटको विकाससँगै इन्टरनेटमा डार्क वेवको साम्राज्य फैलाएर आपराधिक मानसिकता भएका लागूऔषध व्यापारी, हत्यारा, अश्लील गतिविधि गर्ने व्यक्तिहरू विश्वका सुरक्षा निकायहरूको टाउको दुखाइको विषय बनेका छन् ।

नयाँ नयाँ तरिका अपनाएर गैरकानुनी गतिविधि गर्नु र प्रहरी भन्दा एक कदम अगाडि हुनु उनीहरूको गुण नै हो । अत्यन्तै गोप्य र ह्याकप्रुफ हुने गरेका कारण अहिले विश्वभरि डार्क वेवको प्रयोग गरेर सुरक्षा निकायबाट बच्दै भयानक खालका अपराधहरू घटाइने गर्छन् । यस आलेखमा डार्क वेव र त्यसमार्फत हुने गैरकानुनी गतिविधिहरूका बारेमा चर्चा गरिनेछ । 

डार्क वेव र सिल्करोड :

हामी इन्टरनेटमा सामाजिक संजाल चलाउँछौ । गुगल सर्च गर्छौं । युट्युबमा भिडियो हेर्छौं । तर यो इन्टरनेटको कुल हिस्साको ५ प्रतिशत भाग मात्र हो जसलाई ‘सर्फेस वेव’ भनिन्छ । हामीले गुगल क्रोम, मोजिला, सफारी लगायतका सामान्य ब्राउजरबाट सर्च गरेर जे-जति कुराहरू फेला पार्छौं त्यसलाई नै सर्फेस वेव भनिन्छ जसलाई जोकोहीले पनि सजिलै ब्राउज गर्न सक्छ । बाँकी ९५ प्रतिशत इन्टरनेटको भाग लुकेको हुन्छ । त्यसमा गुगल ड्राइभ लगायतका क्लाउड सर्भिस, बैंक तथा अन्य ठूला कम्पनीका डाटा भण्डारण आदि पर्छन् । इन्टरनेटको यो हिस्सालाई डीप वेव भन्दछन् । यो विशेष 'लिंक' भएका र अनुमतिप्राप्त व्यक्तिले मात्र ब्राउज गर्न सक्छन् र सर्च इन्जिनमा देखा पर्दैनन् । 

डीप वेवभित्र पनि 'डार्क वेव' भन्ने भयानक अर्को खण्ड छ जसलाई लिएर विश्वभरिका सुरक्षा अधिकारीहरू तनावमा रहने गर्छन् । डार्क वेवलाई टोर (द अनियन राउटर) नामको ब्राउजरबाट मात्र ब्राउज गर्न सकिन्छ । यस्ता वेवसाइटहरूको डोमेन नेमका पछाडि डट अनियन सफिक्स हुन्छ । यहाँ लागूऔषध वेचविखन, हातहतियार विक्री, चाइल्ड प्रोनोग्राफी, सुपारी किलर लगायतका हर तरहका गैरकानुनी गतिविधिहरू हुने गर्छन् । 

लेखक : अनुप जोशी 

मान्छेहरू मनोरञ्जनकै लागि कसैको भयानक तरिकाले हत्या गरेर यस्ता साइटमा राख्छन् र दर्शकहरू पैसा तिरेर आनन्दका लागि हेर्छन् । यहाँ कल्पना नै गर्न नसकिने खालका गतिविधिहरू हुने गरेको रिपोर्टहरूले बताउँछन् । 

यसैबीच ‘सिल्क रोड’ डार्क वेवका अनगिन्ती साइटहरूमध्ये कुनै समयमा सबैभन्दा लोकप्रिय मार्केट प्लेस (अमेजन जस्तै) थियो । यसबाट विशेष गरी लागूऔषधको व्यापार हुने गर्थ्यो । ड्रग डिलरहरू सिल्करोडमा आफ्ना लागू औषधिहरू बिक्रीका लागि राख्थे र ग्राहकहरूले डार्कवेवमा गएर छानी छानी आफूलाई मन परेको ड्रग अनलाइन अर्डर गर्थे । टोर ब्राउजरले ३ तहको भिपीएनजस्तै सेक्युर प्रविधि प्रयोग गर्ने भएकाले को ग्राहक हो र को विक्रेता हो भनेर कसैले पनि ट्रयाक गर्न सक्दैन । टोर प्रयोगकर्ताको आइपी एड्रेस ट्रयाक गर्नु असम्भवप्राय मानिन्छ । यसको भित्री तहसम्म पुग्न नसकिने भएकाले नै यसलाई ‘द अनियन राउटर’ अर्थात् प्याज जस्तै तह नै तह भएको नाम दिइएको हो । यहाँ हुने पैसाका कारोबारहरू सबै बिटकोइन, मोनेरो लगायतका क्रिप्टोकरेन्सीहरूबाट हुने गर्छन् ।

ब्लकचेन प्रविधिको प्रयोग गरिने यस्ता मुद्राहरू अत्यन्तै सुरक्षित हुनुका साथै यिनले उच्च तहको गोपनियता पनि प्रदान गर्छन् । यो प्रविधिमा कसले कसलाई किन पैसा पठायो भन्ने सवालमा गोपनियता मिल्छ र कुनै सरकार वा निकायले यसको नियमन गर्दैन । क्रिप्टोकरेन्सी संसारमा लोकप्रिय हुनुमा यो गैरकानुनी गतिविधिको लागि स्वर्णिम मुद्रा बन्नु पनि प्रमुख कारण मानिन्छ । बिटकोइनबाट शुल्क तिर्दा न कुनै बैंकबाट प्रामाणिकरण गर्नुपर्छ न त अरु कसैलाई थाहा नै हुन्छ ।

युएस पोस्टल सर्भिस :

इन्टरनेटको आगमनसँगै सुस्ताउँदै गएको हुलाक सेवा अमेरिकामा सन् २०१२ तिर चमत्कारिक ढंगले फस्टाउन थाल्यो । कारण थियो सिल्करोडको सफलता र अन्य ड्रगडिलरहरूको वृद्धि । अमेरिकाको सरकारी एजेन्सी युएस पोस्टल सर्भिसले वर्षमा झन्डै २०० अर्ब वटा मेलहरू ह्यान्डल गर्ने गर्छ । प्याकेजभित्र के छ भनेर हेर्ने अधिकार कर्मचारीहरूलाई हुँदैन । न त उनीहरूलाई फुर्सद नै हुन्छ । कतिवटा प्याकेजलाई खोलेर हेर्नु? फेरि प्याकेजलाई खोलेर हेर्नका लागि विशेष वारेन्ट चाहिन्छ । जबकी फेडएक्स लगायतका प्राइभेट सेवाहरूलाई भने यो कानुनले रोक्दैन । यही कुराको फाइदा उठाउँदै सिल्करोड लगायतका डार्क वेवका मार्केट प्लेसहरूले सजिलैसँग युएस पोस्टल सर्भिसको प्रयोग गरेर आफ्ना ग्राहकहरूको ढोकामा लागूऔषधीको डेलिभरी दिन्थे । 

त्यसताका सिल्करोडको व्यापार निकै फस्टाउन थालेको थियो । लागूऔषध प्रयोग गर्ने जो कोहीका लागि पनि यो त्यसबेलाको अमेजन थियो । उनीहरू सहजै आफूलाई चाहिएको लागू पदार्थ अर्डर दिन सक्थे । सुरक्षा अधिकारीहरूलाई यसबारे ज्ञान भए पनि उनीहरूले खासै केही गर्न सक्दैनथे । न त डार्कवेवमा ग्राहक र व्यापारीलाई ट्रयाक गर्न सक्थे न त अरु केही नै गर्न सक्थे । बरु सरकारी हुलाक सेवाले नै लागूऔषध ओसारपसार गरिदिन्थ्यो । 

तर पछि सन् २०१३ मा आएर अमेरिकी अधिकारीहरूले अन्ततः सिल्करोडका संचालक रोस उल्ब्रीचिटलाई प्रक्राउ गरिछाडे र सिल्करोड पनि बन्द गरियो । इन्टरनेटमा ‘ड्रेड पाइरेट रोबर्ट्स’को छद्मनामले परिचित २९ वर्षिया उल्ब्रीचिट पक्राउ पर्दा २८ मिलियन डलरका मालिक थिए । उनले इन्टरनेटमा स्वतन्त्रता र गोपनियताको कुरा गरेर लाखौँको मसिहा नै बनेका थिए । दुई-तीन वर्षको अन्तरालमा नै उनले तेत्रो अकल्पनीय पैसा जम्मा गरेका थिए । 

उनको पक्राउ कसरी गरियो र कसरी सिल्करोड बन्द गरियो भन्ने कुरा निकै रोचक छ जसबारे अर्को कुनै लेखमा बताउँला । अहिले भने उनी अमेरिकी जेलमा जन्मकैद+४० वर्षको सजाय काटिरहेका छन् । अदालतले उनलाई पे-रोलमा छुट्न नसक्ने व्यवस्था गरेको छ । त्यसैले उनको बाँकी जीवन जेलमै बित्ने पक्का छ ।

२०१३ मा सिल्करोड बन्द भएता पनि पुन: सिल्करोड २.० को नामले यो संचालनमा आयो । त्यसलाई पनि अधिकारीहरूले बन्द गरिदिए । फेरि अरु मिरर साइटहरू आए । सिल्करोड त एउटा उदाहारण मात्र हो । अहिले पनि डार्कवेवमा अल्फा बे, ओपन बजार लगायतका अनगिन्ती मार्केट प्लेस छन् जसले आफ्ना ग्राहकहरूलाई लागूऔषध डेलिभरी गरिरहेको बताइन्छ । डार्क वेव लागूऔषधका लागि मात्र नभएर तपाईंले कल्पना गर्नसक्ने सबैखालका गैरकानुनी कामका लागि स्वर्ग बनेको छ । यसले प्रदान गर्ने गोपनियताका कारण नै मानिसहरू यसप्रति आकर्षित भइरहेका छन् ।

डार्क वेव गैरकानुनी गतिविधिको साम्राज्य मात्र हो त?

होइन । ‘एनोनाइमस ब्राउजिङ’ गर्नु आफैंमा गैरकानुनी होइन । यसबाट तपाईं के-कस्तो गतिविधि गर्नुहुन्छ भन्ने हो । ‘टोर’ ब्राउजर र भिपिएनहरू इन्टरनेटमा गोपनियता स्थापना गर्नका लागि ल्याइएका हुन् । अहिले हामीले सामान्य रुपले इन्टरनेट चलाईरहँदा हामीले के हेर्दैछौं कस्ता गतिविधि गर्दैछौं भनेर इन्टरनेटका ठूला कम्पनी र सरकारी निकायहरूले ट्रयाकरमार्फत जासुसी गरिरहेका हुन्छन् । तपाईंका गोप्य सूचना संकलन गरेर उनीहरूले व्यापारमा ठूलो फाइदा लिइरहेका हुन्छन् ।

जस्तो कि तपाईंले ब्राउजरमा फेसबुक खुला राखेर दराजमा कुनै सामान हेर्दै हुनुहुन्छ वा गुगलमा केही सर्च गर्दै हुनुहुन्छ भने फेसबुकले तपाईंको गतिविधिलाई आफ्नो सर्भरमा राख्छ । अनि विज्ञापन देखाउने बेलामा त्यस्तै खालका विज्ञापन देखाइन्छ । तपाईंलाई लाग्छ कि तपाईंलाई चाहिएको सामान देखा परिरहेको छ र तपाईं खुसीखुसी त्यसलाई किन्नुहुन्छ । तर यो सबै तपाईंको डाटा दुरुपयोग गरेर फाइदा लिइएको हो ।

चुनावमा पनि विशेष राजनीतिक दलको प्रोपोगान्डालाई भाइरल बनाएर मत प्रभाव गरिन्छ । यस्तो अवस्थामा भिपिएन र टोर ब्राउजरहरू गोपनियताका लागि वरदान सावित हुन्छन् । 

नेट न्युट्रालिटि र गोपनियता अहिले विश्वकै चासोको विषय हो । कुनै पनि सरकार निरङ्कुश भयो भने उसले इन्टरनेटका गतिविधिहरूमा जासुसी गर्न सक्छ । सरकार विरोधी कुरा कसैले गरेको छ वा सरकारका पदाधिकारीको कालो करतूत वा भ्रस्टाचारको खुलासा गर्दै छ भने उसलाई पक्राउ गरिन्छ र त्यसो गर्नबाट रोकिन्छ । यस्तो अवस्थामा सत्यतथ्य बाहिर ल्याउने सबैभन्दा भरपर्दो उपाय हुनसक्छ टोर ब्राउजर र डीप वेव । कसले त्यो सूचना लिक गरेको हो भनेर कसैले पत्ता लगाउन सक्दैन र व्यक्तिलाई जिउज्यानको जोखिम हुँदैन ।

मानौं, तपाईंसँग सरकार वा कुनै ठूलो कम्पनी/निकायले अनियमितता गरेको र अपराध गरेको प्रमाण छ । तपाईंले त्यो कुरा खुलमखुल्ला भन्न थाल्नुभयो भने त तपाईंको ज्यान नै जोखिममा पर्छ । यस्तो बेलामा तपाईं डार्क नेट प्रयोग गर्न सक्नुहुन्छ । मानववेचविखनमा परेका, विभिन्न प्रताडनामा परेका पीडितहरूले प्रोटोनमेल, टोरबक्स लगायतका इन्क्रिपटेड डार्कवेव इमेल सर्भिसहरू प्रयोग गरेर मुक्ती पाएका उदाहारणहरू पनि छन् । उनीहरूले आफ्नो पहिचान गोप्य राखेर कुनै संचारमाध्यमलाई आफूमाथि भएका अपराधहरूबारे जानकारी दिन सक्छन् । यसबाट उनीहरूको सुरक्षा पनि हुन्छ भने गलत कार्यको पर्दाफास भएसँगै अरु व्यक्तिहरू त्यसको सिकार बन्नबाट पनि जोगिन्छन् । भिपीएन, टोर ब्राउजर र टोर प्रोजेक्ट यस अर्थमा इन्टरनेट युगमा अभिव्यक्ति स्वन्तत्रताको हिमायती बनेका छन् । टोरलाई कुनै देशले गैरकानुनी घोषणा पनि गरेको छैन । यसमाथि कुनै प्रतिबन्ध छैन । 

अन्त्यमा,

इन्टरनेटले संसारलाई जोड्नुका साथै हाम्रो जीवनमा चामत्कारिक परिवर्तन ल्याइदिएको छ । तर यससँगै यसमा आपराधिक मानसिकता बोकेका मानिसहरूलाई पनि हौसला मिलेको छ । सर्फेस वेवबाट मात्रै त विभिन्नथरीका अपराधहरू संचालन भइरहेका छन् भने डार्क वेव त झन् विशेष गरी त्यसैको लागि प्रयोगमा ल्याइने गरिएको छ । पछिल्लोसमय नेपालमा समेत केही हत्याका घटनामा डार्क वेवबाट हत्यारा झिकाइएको आशंका गरिएको थियो । यसरी हत्या गराउँदा कसैले कसैलाई हत्या गराउनु छ भने उसले डार्क वेवमा गएर अन्तर्राष्ट्रिय सुपारी किलरहरूलाई सुपारी दिन्छ । पैसा क्रिप्टोकरेन्सीमा तिरिन्छ । न त सुपारी लिनेले कसले आफूलाई मार्न पठाएको भनेर चिन्छ न त सुपारी किलरको नै परिचय खुल्छ । यसरी गोप्य रुपमा हत्या गराइन्छ ।

पछिल्लोसमय मानिसमा प्रविधि र इन्टरनेटसम्बन्धि ज्ञान बढ्दै जाँदा आपराधिक मानसिकता भएका व्यक्तिहरू डार्कवेवमा आकर्षित हुने गरेका छन् । कतिपयले उत्सुकताकै कारण पनि यो दलदलमा फस्ने गरेका छन् । संचार र ज्ञानका लागि इन्टरनेट ब्राउज गर्नु अन्त्यन्तै आवश्यक छ तर इन्टरनेटमा उपलब्ध यस्ता नकारात्मक कुराहरूले हाम्रो समाजलाई खोक्रो बनाउँदै लगेको छ ।

एकातिर टेक जायन्ट र डाटा चोरहरूले प्रयोगकर्ताका गोप्य सूचनाहरू चोरेर दु:ख दिइरहेका छन् भने अर्कातिर इन्टरनेटमा स्वतन्त्रताको आवरणमा आपराधिक गतिविधिहरू पनि संचालनमा आएका छन् । इन्टरनेटमा के ब्राउज गर्ने के नगर्ने, यसबाट सकारात्मकतातर्फ अगाडि बढ्ने कि हाम्रो मानव सभ्यतालाई नै पतनको बाटोतर्फ लैजाने यो तपाईं हाम्रो हातमा छ । ‘एनोनाइमस ब्राउजिङ’ गरौँ, आफ्नो सूचना चोरी हुनबाट जोगिऔं तर त्यसको आवरणमा गलत बाटोतर्फ नलागौं ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै