• २०८१ बैशाख १४ शुक्रबार

बालिकाको मृत्युपछि डोटीको सुजङ अस्पतालमा तनाव

kharibot

डोटी । डोटीको दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा आज साँझ ६ महीने बालिकाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापति पन्तले दिनुभएको जानकारीअनुसार जिल्लाको शिखर नगरपालिका–१ कपल्लेकी टीका ऐरको छ महीने छोरी राधिकाको मृत्यु भएको हो । 

केही दिन पहिले घरमा निमोनिया ज्वरोले थला परिकी निज बालिकालाई उपचारका लागि आज उक्त अस्पतालमा ल्याइएको थियो । अस्पतालमा चिकित्सकको लापरवाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा नाराबाजी गरिरहेको प्रहरीले जनाएको छ ।

सुजङ अस्पतालका स्वास्थ्यकर्मी अर्जुन बलायरले आफ्नोतर्फबाट उपचारका क्रममा कुनै लापरवाही नभएको दाबी गरेका छन् । उनले भने, “निज बालिकालाई १०४ डिग्री निमोनिया ज्वरोले सताएको थियो, हामीले यहाँ उपचार सम्भव छैन बाहिर लैजान आग्रह गरेका थियौँ तर परिवारले लगेनन्, अहिले ज्यान गएपछि दोष हामीलाई दिन थालेका छन् ।”

अस्पतालमा मृतकका आफन्तले नाराबाजी गर्न थालेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारणले बालिकाको ज्यान गएको भन्दै क्षतिपूर्तिसहितको माग गरेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै