• २०८१ बैशाख १४ शुक्रबार

अवरुद्ध सडक पूर्ववत अवस्थामा ल्याउने प्रयास जारी, यी सडक अझै अवरुद्ध 

kharibot

फाइल तस्बीर

काठमाडौँ । अविरल वर्षापछिको बाढी, पहिरो, डुबान र कटानका कारण क्षति पुगेका सडकको पुनःनिर्माणलाई तीव्रता दिइएको छ । 

विच्छेद भएको सडक सञ्जाललाई पूर्ववत अवस्थामा ल्याउने काम तीव्र पारिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार अहिले पनि अवरुद्ध रहेको उदयपुरको गाईघाट–खोटाङ, कटारी–ओखलढुङ्गा, जयराम घाट–घुर्मीसम्म, महोत्तरी–जनकपुर–जलेश्वर (भाप्सी खोला डाइभर्सन) खुलाउने प्रयास जारी रहेको जनाएको छ । 

यस्तै    मेची राजमार्ग, कान्तिलोकपथ (हेटाँैडा), बेनी–जोमसोम, लमजुङको बेँसीशहर–चामे सडकखण्ड, कुलेखानी–फाखेल–फर्पिङ सडक, ईन्द्रसरोवर–फाखेल–काठमाडौँ मार्ग तथा साघारादेखि सिराहा जाने हुलाकी राजमार्गको क्षति भएको क्षेत्रमा पनि पुनःनिर्माणको काम जारी रहेको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए ।

उनका अनुसार सिन्धुलीको मध्यपहाडी लोकमार्ग आजबाट एकतर्फी खुलेको छ । डुबान प्रभावित जिल्ला सप्तरी, सिराहा, महोत्तरी, धनुषा, रौतहटका भित्री सडकमा समेत ठूलो क्षति भएकाले पुनःनिर्माणको काम जारी छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय समुदाय, विभिन्न सङ्घसंस्था तथा सम्बन्धित सडक आयोजनाका अधिकारीहरु सडक निर्माणमा खटिएका छन् । पहाडी क्षेत्रमा पहिरो खसेकाले पहिरो पन्छाउने काम जारी छ भने तराई क्षेत्रमा कटानको समस्या रहेकाले नदी किनारमा तटबन्ध गर्ने तथा अन्य भत्किएको सडक र पुल मर्मतको काम जारी छ ।

गृह मन्त्रालयका अनुसार अवरुद्ध विद्युत् र सञ्चारलाई पुरानै अवस्थामा फर्काउने कामलाई तीव्रता दिइएको छ । धेरैजसो स्थानमा विद्युत् सञ्चालन गरिसकिएको र नेपाल टेलिकमको सेवा वैकल्पिक तरिकाबाट प्रवाह गरिएको जनाइएको छ । 

भारतीय पक्षसँग समन्वय गरी सर्लाहीमा पानी निकासा गराइएको छ । रौतहटमा पनि पानी निकासा गरिएको, कोशी बाँधको लागि पनि निरन्तर समन्वय भइरहेको र लक्ष्मणपुर बाँधको स्थिति सामान्य रहेको सरकराले जनाएको छ । केन्द्रका अनुसार जिल्ला र स्थानीय तहबाट समन्वयात्मक रुपले सम्बन्धित ठाउँका वडाध्यक्ष, रेडक्रस प्रतिनिधि र प्रहरीको संयुक्त टोलीले तथ्याङ्क सङ्कलनसमेत गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै