• २०८१ बैशाख १५ शनिबार

छवि र शिल्पाविरुद्ध हेमाद्वारा प्रहरीमा बहुविवाहको उजुरी

kharibot

काठमाडौँ ।  नेपाली फिल्मका चर्चित निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको आपसी झगडा चलिरहेका बेला यस घटनाले नयाँ मोड लिएको छ ।

तीन वर्ष अगाडि चौथो श्रीमतीको रुपमा छविसँग विवाह गरेकी शिल्पासँगको विवादले फिल्मी बजार तताइरहेको बेला छविराज ओझाकी ५३ वर्षिय जेठी श्रीमती हेमा ओझाले छबि ओझा र शिल्पाविरुद्ध बहुविवाहको उजुरी दिएकी छन् । 

दुई सन्तान (राजिव र महेश) की आमा रहेकी उनले आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको उजुरी दर्ता गरेकी हुन् । अधिकवत्ता स्वागत नेपाललाई साथ लिएर उनी उजुरी दर्ता गर्न प्रहरी वृतमा उजुरी दर्ता गरेकी हुन् । 

छवि र शिल्पाको डिभोर्सको चर्चा चलिरहँदा हेमाको उजुरीपछि यस घटनाले नयाँ मोड लिएको छ । 

हेमाले दिएको जाहेरीमा लेखिएको छ, 'शिल्पा पोखरेल भन्ने व्यक्तिसँग मेरो श्रीमान् छविराज ओझाको सम्बन्ध रहेको भन्ने हल्लाहरु आइरहँदा मैले श्रीमान् ओझासँग सोध्दा के छ तिमीसँग हामीले विवाह गरेको प्रमाण भनेर प्रतिप्रश्न गर्दा मैले प्रमाण पनि भेटिनँ । बिहे दर्ता कहीँ कतै भएको रहेनछ ।' 

'२०७५ साल पुष ११ गते निज विपक्षीहरु (छविराज ओझा र शिल्पा पोखरेल) ले गरेको विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपी फेला परेपछि निजहरुले बहुविवाह गरेको प्रमाणित भएकाले निज मेरो विपक्षी श्रीमान् छविराज ओझाले घरमा म श्रीमती हुँदा हुँदै छोरी भन्न सुहाउने शिल्पा पोखरेलसँग बहुविवाह गरेको हुँदा म यो जाहेरी लिई उपस्थित भएकी हुँ', जाहेरीमा छविराज र शिल्पालाई कारवाहीको माग गर्दै लेखिएको छ, 'निज मेरो विपक्षी पति छविराज ओझा र निज शिल्पा पोखरेललाई प्रचलित कानुन बमोजिम यथासक्य चाँडो नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाई अनुसन्धान समेत गरि निजहरुलाई कानुन बमोजिम हदैसम्मको सजाय गरिपाऊँ ।'

छवि र शिल्पाको विवाह दर्ताको फोटोकपी भेटेपछि आफूसँग सम्बन्ध कायम रहँदा रहँदै बहुविवाह गरेकोले पति छवि र शिल्पालाई प्रचलित कानुन बमोजीम कारवाही गर्न उनले माग गरेकी छन् ।

अहिले चौथी श्रीमती शिल्पाले प्रहरीमा दिएको घरेलु हिंसाको प्रकरण चर्किरहेका बेला छबि फेरी अर्को झमेलामा फसेका छन् ।

निर्माता छबिले विभिन्न मिडियासँग कुरा गर्दै शिल्पालाई घर फर्किन आग्रह गरिरहेका छन् भने उनले आफू शिल्पाकै काखमा प्राण त्याग्ने इच्छा रहेको बताएका छन् । तर शिल्पाले भने अब आफू कुनै हालतमा श्रीमान् ओझासँग नबस्ने र डिभोर्सका लागि अदालतमा निवेदन दिइसकेको बताएकी छन् । २०७३ असार २९ गते सुटुक्क विवाह गरेका छवि र शिल्पाले गएको ६ महिना अगाडि विवाह दर्ता गरेपनि केहि साता अघि मात्र दुवैको विवाह भएको खुलासा आफैले गरेका थिए । 

 बहुविवाहसम्बन्धि नयाँ कानुनमा श्रीमतीसँग पारपाचुके नभई दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान राखिएको छ । त्यस्तै, बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्म जेल सजाय हुनसक्ने र बहुविवाह गरेको ठहर भएका व्यक्ति सरकारी जागिरका लागि अयोग्य हुने पनि स्पष्ट रुपमा उल्लेख गरेको छ । दोस्रो विवाह गरेको थाहा भएको तीन महिनाभित्र उजुरी गर्नुपर्ने भन्ने पनि उल्लेख गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय