• २०८१ बैशाख १४ शुक्रबार

दोर्दी करिडोरको बाढी र पहिरोको अध्ययन गर्न समिति

kharibot

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दोर्दी करिडोरमा केही दिन पहिले गएको बाढी र पहिरोको क्षतिको समग्र अवस्थाको अध्ययनका लागि एक समिति बनाएको छ । 

यही साउन ८ गते लमजुङको दोर्दी करिडोरमा अत्यधिक वर्षा भएपछि एक्कासि आएको बाढीले निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ र सुपर दोर्दी जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो । यस्तै बाढीमा परेर पाँच जनाको निधन भएको र केही बेपत्ता भएका थिए । 

लमजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङ, सो करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग मन्त्री वर्षमान पुनले आज छलफल गरेका हुन् ।

सोही छलफलका आधारमा मन्त्रालयका सहसचिव रामगोपाल खर्वुजाले समन्वय गर्ने गरी, विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरण, सिँचाइ विभाग, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (आइपान) र स्वतन्त्र विज्ञसहितको समिति गठन गरिएको छ । सो समितिले आवश्यक अध्ययन गरी कार्यान्वयनका लागि आवश्यक सिफारिश गर्नेछ । 

छलफलमा मन्त्रालयका सचिव डा सञ्जय शर्मा र दिनेशकुमार घिमिरेसहित उच्च अधिकारी सहभागी थिए । नेकपाका मुख्य सचेतक गुरुङले बाँध फुटेर जलविद्युत् परियोजनामा मानवीय र भौतिक क्षति भएको भन्दै राहतको व्यवस्था गर्न माग गरेका थिए । 

छलफलमा मन्त्री पुनले जनताको सुरक्षा र भविष्यमा बन्ने आयोजनाको लागि पनि घटनाको अध्ययन जरुरी रहेको धारणा राखे । उनले लमजुङमा दुःखद् घटना भएको भन्दै विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग र अन्य निकायसँग समन्वय गरी मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कूल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाट क्षमताको आयोजना हो । सो आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको थियो । निर्माणको अन्तिम चरणमा पुगेको आयोजनामा बाढीका कारण निर्माण उपकरण बगाएको छ ।

क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको आयोजनाले जनाएको छ । यस्तै सोही करिडोरमा निर्माणाधीन ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’मा पनि बाढीले क्षति पुर्याएको छ । सो करिडोरमा कूल पाँच आयोजना रहेका छन् । त्यसमा चार आयोजना निर्माणका क्रममा छन् । ती आयोजनाको कूल क्षमता ११८ मेगावाट रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै