• २०८१ बैशाख १५ शनिबार

श्रीमती र छोरा जलाउने पक्राउ

kharibot

मध्य धादिङको सिद्धलेक गाउँपालिका– १ निवासी २४ वर्षीया बिमला दाराई लम्साल र १५ महिनाको छोरा जेनिस उनको श्रीमानले तारपिनतेल हालेर जलाएपछि जिल्ला अस्पताल धादिङमा उपचार गराउँदै । तस्वीर : सीताराम अधिकारी

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१ का २५ वर्षीय गणेश लम्साललाई श्रीमती र छोरालाई आगो लगाई जलाएर मार्न खोजेको आरोपमा आज बिहान प्रहरीले पक्राउ गरेको छ । 

लम्सालले गए राति धन्सारभित्र थुनेर २४ वर्षीया श्रीमती विमला दराई लम्साल र १५ महीनाको छोरा जेनिसलाई तारपिन तेल खन्याएर आगो लगाई ज्यान मार्न खोजेपछि घाइतेलाई गाउँबासीले उद्धार गरेका थिए । 

रक्सी सेवन गरेर आएका गणेशले झगडा गरी श्रीमती र नावालक छोरालाई मार्ने नियतले आगो लगाएका थिए । आफूले बच्चा बोकेर प्रतिकार गर्न नसकेपछि झ्याल खोलेर भागेपछि बाँच्न सफल भएको घाइते विमलाले बनाए । 

विमलाको घाँटी, अनुहार, देब्रे हात, खुट्टा र छातीमा गहिरोसँग पोलेको छ भने जेनिसको पेट, ढाड, देब्रे हात र खुट्टामा पोलेको छ । घाइते आमा, छोराको जिल्ला अस्पतालले एकीकृत सङ्कट व्यवस्थापन प्रणालीअन्तर्गत निःशुल्क उपचारको व्यवस्था मिलाएको अस्पतालका सूचना अधिकारी कृष्णलाल श्रेष्ठले बताए । 

पक्राउ गरिएका लम्साललाई ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै