इंग्लिस भिङ्लिस

खरीबोट

एउटा साउथ कोरियन सिरिज छ, मोमेन्ट एट एट्टिन । यो सिरिज आइफिल्क्समा निशुल्क उपलब्ध छ । उक्त सिरिजमा युवा अवस्थामा बिद्यार्थीहरुले भोग्ने समस्या र उनीहरुलाई आईपर्ने विभिन्न परिस्थितीका कथाबस्तु समेटिएका छन् । 

जसमा पहिलो सिरिजको पाँचौं एपिसोडमा पुगेपछि, सरकारी स्कुल पढ्ने हरेकको अँग्रेजी समस्यालाई देखाईएको छ । हिरो अर्थात ओंग सेओंग उ अंग्रेजीमा कमजोर छन् । हिरोइन अर्थात किम ह्यार्ङ जी हिरोलाई अंग्रेजी सिकाउँछिन् । कक्षामा शिक्षकले अंग्रेजी बोल्नका लागि यी दुईलाई जोडी बनाइदिएका हुन्छन् र आफ्नो सपनाको बारेमा दुईबीच कुराकानी गुर्नपर्ने हुन्छ, त्यो पनि कक्षामा सबैको अगाडी । 

उक्त सपनामा सम भन्ने अक्षरलाई हिरोले सोमी भनेर उच्चारण गर्छन् र हिरोइनले सच्चाइदिन्छिन् । हिरो लाजले रातो हुन्छ तर पनि हिरोइनले उनलाई ढाडस दिन्छिन् ।

सिरिजमा त हिरोको अंग्रेजी सच्चाईदिने हिरोइन हुन्छिन्, लाज लाग्दा र परिस्थिती खराव बन्दा सम्हाल्छिन् तर हाम्रो जिन्दगीमा यस्तो घटना बिरलै हुन्छ । 

मेरा जिन्दगीमा पनि हिरोलाई जस्तै समस्या धेरै परेको छ । कतिपय समयमा त बोल्दिन भन्दाभन्दै पनि कहिल्यै प्रयोग नगरेका अंग्रेजी शब्द मुखबाट हाम फाल्छ र सुन्ने र भन्ने दुबै रनभुल्लमा पर्छन् । एउटा घटना भने हालसालैको छ । 

करिब एक महिना अगाडीजसो कार्यक्रमका लागि रात बस्ने गरेर धुलिखेल पुगेको थिएँ । त्यहाँ एकजना गन्यमान्य र चिनेका ब्यक्ति भेटिए । हाईहेल्लो गर्ने क्रममा उनका श्रीमती र छोरीसँग पनि परिचय भयो । उनी काठमाडौंको धुलोधुवाँ छल्न परिवारका साथमा त्यहाँ पुगेका रहेछन् ।  

मुखबाट फुत्त निस्कियो, ए ए परिवारको साथमा भ्याकेन्सी मनाउन आउनुभएको ! उनी र उनका परिवार ट्वाँ परे । मैले पनि भ्याकेसनको ठाउँ भ्याकेन्सी चिप्लिएको मेसो पाइहालें र हतारहतार के के भन्छन् कुन्नी जे भने पनि बिदा मनाउन आउनुभएको हो ? भनेर आफ्नो गल्तिलाई ढाकछोप गरिदिएँ । 

अर्को त्यस्तै घटना भने घरमै घट्यो । स्कुलमा हाउ आर यु पछि आइ एम फाइन थ्यांक यु भन्नका लागि सिकाईएको थियो । हामी स्कुलका केहि साथीहरु भने त्यो बाहेकका वाक्य खोजिरहेका थियौं । त्यस्तैमा फेला प¥यो प्रिटी वेल थ्यांक यु ।

यो वाक्य सिक्न त सिकियो तर प्रयोग गर्ने ठाउँ पाइएको थिएन । भाग्यमानीको भुत्तै कमारो भनेजस्तै, मेरा दाईले जर्मनदेखि त्यहाँको बासिन्दा उठाएर घर ल्याए । उनको नाम युटा थियो । घरमा दाई आएपछिको रौनक त छँदै छ, अझै घरमा अर्कौ भाषा बोल्ने गोरो छाला भएको मानिस आउँदा शानै बेग्लै । 

म युटा घरमा आउँदाको खुशी भन्दापनि उनको मुखबाट हाउ आर यु निस्कने प्रतिक्षामा थिएँ । प्रतिक्षा लामो गर्नै परेन, उनले सोधिहालिन् । मैले पनि ढिला नगरी प्रिटी वेल थ्याक यु भनें । मेरो एक्सेन्ट उनले बुझिनछन्, किनभने भनाईमा प्रिति ओइल थ्यांक यु भएछ । पछि दाईले अनुवाद गरिदिनुप¥यो । 

त्यो समयमा दाईले अनुवाद गरिदिनुपरे पनि उनी भने निकै खुशी थिए मेरो अंग्रेजी सुनेर । दाइले नै पछि सिकाईदिए, ओइल हैन वेल भन्नुपर्छ । पछिसम्म पनि बल्ल बल्ल पाएको अवसर उनको अबुझका कारण खेर गएको महशुस भईरहेको थियो । 

अर्को बलिउड फिल्म छ इंग्लिस भिङ्लिस भन्ने । जसमा श्रीदेविलाई अंग्रेजी नआएकाले निकै समस्या पर्छ । उनका छोराछोरीले जिस्काउने देखि श्रीमानले हेप्नेसम्मको भएपछि उनी १५ दिनकै अंग्रेजी सिक्छिन् । जसमा उनि सफल पनि हुन्छिन् । 

फिल्ममा त हिरोइन थिईन् र १५ दिनमै खर्रर्रै अंग्रेजीमा भाषण दिनसक्ने भईन्, तर हामी त असली जिन्दगीका भिलेनहरु, कसरी पो सजिलै आउँथ्यो र । बुढापाकाहरुको भनाईमा १९ कक्षा पढिसकेको भएपनि अंग्रेजीको हालत सुध्रन सकेन ।

त्यसो त हामीजस्ताको मनलाई आनन्द पुर्याउने सो पनि छ । द कपिल शर्मा सो । उनी सोमा मानिस हँसाउनका लागि उल्टोपुल्टो अंग्रेजी बोल्छन्, जसले हामीजस्ता अंग्रेजीमा कमजोरहरुलाई सहजता महशुस हुन्छ ।

एक बर्ष बाहेक मैले निजी बिद्यालयमा हालसम्म पढेको छैन । एक बर्ष बोर्डिङ स्कुल पढेकी मैले त्यसको ब्याज भने लामो समयसम्म खाइरहन पाएको थिएँ । जस्तो कि, मेरो त अंग्रेजी राम्रो छैन भन्ने कुराको भुईँमा खस्न नपाउँदै जवाफ आउँथ्यो, बोर्डिङ पढेर पनि यस्तो कुरा गर्छेस् । मैले पनि तुरुन्तै जवाफ फर्काउँथें, त्यहाँ पढेको त्यहि ए बी सी डी र वान, टु, थ्री, फोर त हो नी त्यो त जतिखेर पनि आउँछ ।

खासमा बोर्डिङ पढेको फाइदा मैले पाँच कक्षासम्म मात्रै उठाउन पाएँ । किनभने हाम्रो पालामा अहिलेको जस्तो सानैदेखि अंग्रेजी बोल्न र पढ्न सिकाउने चलन थिएन । म भने सुरुदेखि नै अंग्रेजी पढेकोवाला थिएँ ।

सानो बेलाको कुरा, लगभग भुलिसकेको थिएँ, तर साथी कविताले फेसवुकमार्फत सम्झाईन् । हामी दुई कक्षामा पढ्थ्यौं । सुदाम धरेल नाम गरेका सरले अंग्रेजी पढाउँथे । हामी सबैलाई अंग्रेजीमा आ-आफ्नो नाम लेख्न भनियो । 

हामी केहि साथीले त नाम लेखेर बुझायौं तर साथी कवितालाई भने आपत परेछ । उनी दुई कक्षामा अर्कै स्कुलदेखि आएकी थिईन् । उनलाई के ए बी आई टी ए कविता लेख्नका लागि म र मेरी अर्की साथी बिमला धरेलले सहयोग गरेका थियौं । उनको थर भने निकै अफ्ट्यारो थियो, कार्खेती, त्यो लेख्न जानेनौं र सरले नै सिकाईएका थिए ।

कविता अहिले अमेरिकामा छिन्, अंग्रेजीमै बोल्नुपर्छ, अंग्रेजीमै हरेक कुरा गर्नुपर्छ, अब त उनको बानी परिसक्यो होला तर उनलाई उबेलामा नाम लेख्न सिकाउने मेरो भने पारा उस्तै छ । 

बच्चा बेलामा म अन्य बिषयमा फेल भएपनि अंग्रेजीमा भने फेल हुने चान्स मिलेन । एक त बोर्डिङ पढेको भन्ने प्रेसर, अर्को खै किन हो सरले पनि पास गरिदिन्थे ।

कक्षा छ मा पढ्दा हामीले स्कुल परिर्वन गर्नुपर्यो । नयाँ परिवेश, नयाँ साथी, नयाँ स्कुल । यी सबै कुराले होला, पहिलो त्रैमासिक परिक्षामा म सबै बिषयमा फेल भएँ, अंग्रेजी बाहेक । एक्कैचोटी दश कक्षामा पुगेपछि मात्रै अंग्रेजी बिषयमा फेल भएको थिएँ । अशोक अधिकारी नाम गरेका शिक्षकले हामीलाई अंग्रेजी पढाउँथे । नतिजा प्रकाशित सँगै उनको पिटाई पनि खाइएको थियो । 

मेरो २४ आए पास हुनेमा १८ अंक मात्रै आएको थियो । यसैको झोकमा उनले ‘अठार, डण्डी मठार’ भन्दै हातमा सुम्ला बसालिदिएका थिए ।

त्यो पछि पनि अंग्रेजीमा धेरै परिक्षाहरु दिइयो तर फेल कहिल्यै भईएन र राम्रोसँग अंग्रेजी पनि हालसम्म आएको मान्न सकिदैंन ।

अहिले म स्नाकोत्तरको अन्तिम सेमेष्टरको परिक्षा दिएर बसेकी छु । सेमेष्टरको पढाई अंग्रेजी भाषामा हुन्छ र परिक्षामा पनि सबै अंग्रेजीमै लेख्नुपर्ने हुन्छ ।

पहिलो सेमेष्टरको परिक्षा दिएर सकेपछि म निकै खुशी भएकी थिएँ । यसको कारण अरु केहि थिएन, मैले पुरै कापी अंग्रेजी लेखेर भरें भन्ने खुशीले दंग परेको थिएँ । पहिलो दिनको परिक्षा सक्काएपछि, सरले कापी नखोसुन्जेलसम्म म त्यहि भरिएको कापीलाई नै ओल्ट्याई पोल्ट्याई गरिरहेको थिएँ । त्यो तलतिर र माथीतिर फर्केको, ग्रामर नमिलेर अलमल्लिएको अक्षरहरुको मलाई निकै माया लागेको थियो, जुन कुरा आज पनि याद आउँछ । 

संयोग भनौं, तेस्रो सेमेष्टरसम्मको नतिजामा म पास भएँ । त्यो समयमा मलाई जान्ने भएर पास भएँ भन्ने भन्दा पनि मैले लेखेको अंग्रेजी बुझेर पास गराइदिएको भन्नेमा खुशि थिएँ । त्यो क्रम चौथों सेमेष्टरमा पनि जारी रहन्छ यदि पास भईयो भने ।

अर्को कुरा अब थेसिस पनि अंग्रेजीमै गर्नुपर्ने छ । यो कुरा सम्झेरै पनि दिउँसै तारा देखिईरहेको छ ।

सम्बन्धित समाचार

मिसन मंगलले जगाएको मेरो मिसन !

बैनी र म, हामी दुई दिदि बहिनी बस्छौ, यो अलिकति बिराना मान्छेहरुको शहरमा ! दुई/चार थान साथीहरू अनि आफन्त भन्दा नजिककी  बहिनीले साँझ काम सकेर कोठामा हामी दुबै आइसकेपछी सोधी "मिसन

शान्तिपूर्ण र सत्याग्रहको विचार अझै सान्दर्भिक : प्रधानमन्त्री ओली 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको शान्तिपूर्ण र सत्याग्रहको विचार एवं सादा जीवनका पक्षहरु अहिलेको समयमा अझ बढी सान्दर्भिक भएको बताएका छन् । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा नेपाल

नेकपामा 'सी पथ' को बहस : विचार की विकास  

काठमाडौं । अहिले सत्तारुढ दल नेकपा अहिले चिनियाँ राष्ट्रपति सी जीङपीङको विचारधारा पछयाएको आरोप खेपिरहेको छ । चिनियाँ कम्युनिष्ट पार्टी र नेकपाबीच काठमाडौँमा दुई दिने विचारधारात्मक प्रशिक्षण सम्पन्न भएपछि नेपाली

नेकपाको विचारधारात्मक प्रशिक्षण : तरंगित भयो राजनीति

काठमाडौँ ।  नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक संयुक्तरुपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरेका छन् । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का


z