• २०८१ बैशाख १५ शनिबार

आईटीएफ टेनिसमा कमल थापाले जिते उपाधि

kharibot

पोखरा । ५५ वर्ष उमेर समूहभन्दा माथिको आईटीएफ सिनियर टेनिस प्रतियोगिताको एकल स्पर्धामा कमल थापाले स्वर्ण हात पारेका छन् ।

राप्रपाका अध्यक्षसमेत रहेका थापाले पोखरामा जारी उक्त प्रतियोगितामा प्रतिद्वन्द्वी भारतीय खेलाडी सञ्जय कुमारलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् ।

थापाले कुमारलाई ६–३ र ६–२ को सेटमा पराजित गरेका थिए ।

त्यसैगरी थापाको जोडीले ५५ वर्षमाथिकै उमेर समूहको युगल तर्फको समेत उपाधि जितेको छ । थापा र छाम्बा ढुण्डुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुस्लिमको जोडीलाई ११–९ को सेटमा पराजित गरी उपाधि जितेको हो । 

च्याम्पियनसीपको ३५ वर्षमाथिको उमेर समूहको उपाधि भने धरमबहादुर लामिछाने र विमलकुमार गुरुङको जोडीले गोपी भट्टराई र शरन गुरुङको जोडीलाई पहिलो सेट ६–४, दोस्रो सेट ५–७ र अन्तिम सुपरटाई १०–६ मा पराजित गरी उपाधि जितेका छन् ।

३५ वर्ष माथिको उमेर समूहको उपाधि भने विकास गुरुङ तथा ४५ वर्ष माथिको उमेर समूहको उपाधि विमलकुमार गुरुङले जितेका हुन् । 

च्याम्पियनसीपमा ३५ वर्षमाथिको उमेर समूहमा १० जना, ४५ वर्षमाथिको उमेर समूहमा २२ जना तथा ५५ वर्ष माथिकोे प्रतिस्पर्धामा २० जनाले बरियता प्राप्त गर्ने अङ्कको लागि प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक प्रिति बरालले जानकारी दिए ।

विजेता खेलाडीलाई एनआइसी एशिया बैंकका गण्डकी प्रदेश प्रमुख  दीपेन्द्र शर्मा, नेपाल टेनिस सङ्घका पूर्व अध्यक्ष मनोज राणालगायतले ट्रफी वितरण गरेका थिए ।

आइटिएफ विश्व वरीयता सिनियर्स ग्रेड ४ टेनिस च्याम्पियनसिप कास्की जिल्ला टेनिस संघको आयोजना तथा एनआइसी एसिया बैंकको मुख्य प्रायोजनमा सञ्चालन भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय