• २०८१ बैशाख १४ शुक्रबार

काभ्रे दुर्घटनामा मृत्यु भएकाका परिवारलाई पाँच लाख क्षतिपूर्ति दिइने

kharibot

काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका २ बाट बनेपातर्फ आउँदै गरेको निसान गाडी रोशी गाउँपालिका ३ साँझाकोटमा शुक्रवार बेलुका दुर्घटना हुँदा घाईते भएकाहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको लागी एम्बुलेन्सबाट निकाल्दै । तस्वीर : पेमा लामा

बनेपा । यही असोज २४ गते महाभारत गाउँपालिका–२ थामबाट दशैँ मनाएर बनेपातर्फ आउँदै गर्दा रोशी गाउँपालिका–३ साँझाकोटमा निसान गाडी दुर्घटना हुँदा मृत्यु भएका व्यक्तिका परिवारलाई पाँच-पाँच लाख दिने आज सहमति भएपछि परीक्षणपश्चात् आफन्तले शव जिम्मा लिएका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार मृतक दुई जनाको परिवारलाई क्षतिपूर्तिबापत रू  पाँच-पाँच लाख उपलब्ध गराउने, किरिया खर्चबापत पचास-पचास हजार दिने र घाइतेको उपचार गरिदिने गाडी धनी सुनिल थापा तथा मृतकका आफन्तबीच सहमति भएपछि आफन्तले शव बुझेका थिए ।

किरिया खर्चबापतको पचास-पचास हजार रकम आज नै उपलब्ध गराइसकेको र क्षतिपूर्ति रकम १५ दिनभित्रमा दिने सहमति भएको प्रहरीले जनाएको छ । सो घटनामा परि सोही गाउँपालिकाको वडा नं २ अमलवासका वकिल बोम्जन र सोही ठाउँ घर भई हाल ललितपुर जिल्ला गोदावरी नगरपालिका बस्ने प्रकाश मोक्तानको मृत्यु भएको थियो ।

उक्त घटनामा परी ३२ जना घाइते भएका र उनीहरुमध्ये केहीको उपचार भइरहेको तथा केही उपचारपश्चात् घर फर्किसकेको उक्त गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै