पढाइ छाडेका बालिका पुनः विद्यालयमा

खरीबोट

बाँके । मध्यान्तरको समयमा एक हुल किशोरी चउरमा जम्मा भए । स–साना बालिकाहरु आ–आफ्नै सुरमा खेल खेल्न मग्न थिए । केही बालिका आकाशे रङको कमिजमा थिए त केही कुर्तामा । यी बालिकामध्ये केहीले सामान्य फित्तावाल चप्पल लगाएका थिए । बाँकीका खुट्टा खाली थिए । 

उनीहरुको अवस्था हेरेरै अभिभावकको आयस्तर न्यून रहेको अनुमान लगाउन सकिन्थ्यो । नेपालगञ्जको सल्यानी बङ्गलामा रहेको आधारभूत छात्रा विद्यालयको अवस्था हो यो । नेपालगञ्ज मधेशी र मुस्लिम समुदायको बाक्लो बसोबास भएको ठाउँ हो । यहाँका धनी परीवारले बालबालिकालाई निजी विद्यालयमा पढाउँछन् । आयस्तर न्यून भएका अभिभावकको छनोटमा सरकारी विद्यालय पर्ने गर्छ । तर, कतिपय अभिभावक आफ्ना बालबालिकालाई सरकारी विद्यालय पठाउन पनि समर्थ छैन । बालबालिकाले नै श्रम गर्नुपर्ने अवस्था छ । 

नेपालगञ्जमा मात्र करीब दुई हजार ५०० बालबालिका श्रममा रहेको एक तथ्याङ्क छ । सरकारी विद्यालयको विद्यालय पोशाक र किताब कापी किन्न नसक्ने भएकै कारण पनि कतिपय अभिभावक विद्यालय पठाउन नसक्ने अवस्थामा छ । अझ मधेशी र मुस्लिम समुदायले उच्च शिक्षाका लागि छोरीलाई कम प्रोत्साहन गर्ने गरेको पाइएको छ । छोरीलाई अर्काको घरमा जाने, केटा भएको विद्यालयमा पढाउँदा सानैमा भागेर विवाह गर्ने, अन्तरजातीय विवाह गरिदिने, प्रेम गर्ने डरका कारण विद्यालय नपठाउने गरेको अभिभावकहरु स्वयं बताउँछन् । 

धेरै बालिका शिक्षाको पहुँचबाट टाढा रहेको तथ्यलाई ध्यानमा राखेर नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ४, सल्यानीवागमा छात्रा विद्यालय सञ्ञ्चालनमा ल्याएको हो । यो यहाँको दोस्रो छात्रा विद्यालय हो । यसअघि सरस्वती माविमा छात्रा विद्यालय सञ्चालनमा ल्याइएको हो । मधेशी तथा मुस्लिम छात्राहरुको शिक्षामा पहुँच पुर्याउन यही शैक्षिक सत्रदेखि सल्यानी बङ्गलामा छात्रा विद्यालय सञ्चालनमा ल्याइएको नेपालगञ्जका मेयर डा धवलशम्शेर राणाले बताए । 

अभिभावकको इच्छा अनुसार छोरीहरुलाई पढ्ने अवसर छात्रा विद्यालयमा भएको उनले बताए । छात्रा मात्र अध्ययन गर्न पाउने गरी विद्यालय सञ्चालनमा आएपछि यहाँका मधेशी र मुस्लिम समुदायले पनि छोरी पढ्न पठाउन थालेका छन् । बाहिरी जिल्लाबाट नेपालगञ्ज झरेका, मजदूरी गरी जीवन चलाइआएका, आर्थिक स्थिति कमजोर भएका परिवारले पनि यहाँ छोरीलाई भर्ना गरेका छन् ।

पढाइ छोडेका पनि पुनः भर्ना

नेपालगञ्जकी २६ वर्षीया रविना राई छात्रा विद्यालयमा अध्ययनरत ४ वर्षीया छोरी लिन आएको अवस्थामा भेटिइन् । कालो बुर्काले अनुहार छोपेर आएकी उनले आर्थिक अवस्था कमजोर भएकाले छोरीलाई यहाँ निःशुल्क भर्ना गराएको बताए । यहाँका मधेशी र मुस्लिम समुदायका अभिभावकहरु छोरी बिग्रने र उनीहरु असुरक्षित हुने डरले विद्यालय पठाउन चाहँदैनन् तर, छात्रा विद्यालय खुलेपछि सहज भएको अनुभव उनीहरुले गरिरहेका छन् । 

अर्का अभिभावक नजीर रहमान मधेशी तथा मुस्लिम समुदायमा छोरीहरु पढाउन पठाउन नमान्ने संस्कार अझै रहे पनि छात्रा विद्यालय खुलेपछि सहज भएको बताउछन् । केटाहरु पढ्ने विद्यालयमा छोरीहरुले भागेर विवाह गर्ने, चाँडै विवाह गर्ने, केटाहरुले जिस्काउने चिन्ता अभिभावकमा छ । छोरीको पढाइ छुटेकाहरु पनि छात्रा विद्यालय खुलेपछि विद्यालय पठाउन थालेको स्थानीयवासी राविया शाहीले बताइन् । उनले पनि छोरी यसै विद्यालयमा पढाइरहेकी छिन् । 
कक्षा ७ मा अध्ययनरत छात्रा रोशनी हलवाईले पनि पुनः पढाइलाई निरन्तरता दिएकि छिन् । छात्रा विद्यालय बन्नुका साथै उर्दू भाषामा पनि पढाइ हुने भएकाले पुनः विद्यालयमा पढाइ शुरु गरेको उनले बताइन् । 
मुस्लिम समुदायमा नमाज पढ्न उर्दू भाषा आवश्यक छ । निःशुल्क पढ्न पाइनाका साथै उर्दू भाषामा पनि पढाइ हुने भएपछि मुस्लिम समुदायले छोरीहरु अध्ययनका लागि छात्रा विद्यालयमा पढाउन थालेको उर्दू भाषा पढाउने शिक्षक आरविदा जमाल बताउछन् ।
 
उत्साहित अभिभावक 

निर्धक्क भएर छोरी विद्यालय पठाउने वातावरण बनेकामा अर्की अभिभावक नेपालगञ्ज–४ की राज्मा हल्वाई पनि खुशी छिन् । उनले यही विद्यालयमा पढ्ने छोरीलाई पैसा नभएर कापी कलम किन्न नसक्दा विद्यालय छुटाएकि  थिइन् । छात्रा विद्यालय बनेपछि उपमहानगरपालिकाले आयस्तर उकास्न किराना पसल सञ्चालनका लागि उनले सहयोग पाइन् । छोरीको पढाइलाई निरन्तरता दिने उनको  सोच छ । 

उपमहानगरपालिकाले अभिभावकहरुको आर्थिक अवस्थामा सुधार ल्याउन बाख्रापालन, किराना पसल सञ्चालन लगायतका आयमूलक शीप दिएको नेपालगञ्ज–४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाको भनाइ छ । उनका अनुसार सामुदायिक विद्यालय भएकाले निःशुल्क पढाइ हुन्छ र विद्यालयले प्रोत्साहनका कार्यक्रम ल्याएपछि अभिभावकको आर्कषण बढेको छ । 

सल्यानी बङ्गलाकी स्थानीयवासी जुवेदा सल्मानीका चार  छोरी पनि यसै विद्यालयमा अध्ययन गर्छन् । उनले पनि आयस्रोत बढाउन दुई वटा बाख्रा पाएका छन् । प्रोत्साहनका यस्ता कार्यक्रमले आफूहरुलाई छोरी पढाउन सहज भएको उनको भनाइ छ । यस्तै, उपमहानगरपालिका र वडा कार्यालयले छात्राहरुको विद्यालयमा आर्कषण बढाउन र टिकाइ राख्न प्रत्येक छात्रालाई मासिक दुई लिटर तेल वितरण गर्दै आएको छ । विद्यालय पोशाक, कापी कलम लगायतका छात्रवृत्तिको व्यवस्था पनि गरेपछि अभिभावकले बालबालिकालाई निरन्तर विद्यालय पठाउन थालेका छन् । 

छात्राहरु खुशी

अर्थाभावमा पढ्न नसक्नेहरुलाई यो विद्यालयले सहयोग पु¥याएको छ । तेल पनि पाइने, छात्राहरुसँगै पढ्न पाइने भएपछि छात्राहरु पनि खुशी छन् । कक्षा ८ की सादिया खान र कल्पना थारुले आफूहरुले पनि कम खर्चमा गुणस्तरीय शिक्षा पाएकामा खुसी व्यक्त गरिन् । केटीहरु मात्रै भएपछि नबुझेका विषयमा प्रश्नहरु सोध्न उनीहरुलाई सहज भएको छ ।

“पहिला केटाहरुले जिस्काउँथे, पढाइमा समस्या हुन्थ्यो, अहिले सहज छ,” थारुले भनिन् । अहिले घरका अभिभावकबाट पनि निरन्तर विद्यालय आउन प्रोत्साहन मिलेको उनी बताउछिन् । एक वर्ष पढाइ छोडेर उनले अध्ययनलाई पुनः निरन्तरता दिएकी हुन् । अर्थाभावका कारण विद्यालय छोडेकामा उनीजस्तै धेरै छात्राले अहिले निरन्तरता दिएका छन् । 

उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी किरण आचार्यलाई परामर्शदाताको जिम्मेवारी दिएको छ । धम्बोझी माविको शैक्षिक गुणस्तरमाथि उकास्न महत्वपूर्ण भूमिका खेलेकी आचार्यले विद्यार्थी केन्द्रित पढाइमा जोड दिएको बताइन् । शुरुमा शिक्षकहरु धेरै खटिने गरे पनि नतिजा सन्तोषजनक थिएन । डेढ दशकदेखिको शैक्षिक अनुभव र सिकाइलाई विद्यालयको शैक्षिक गुणस्तर सुधार्न उपयोग गर्दैआएको आचार्यको भनाइ छ । 

उपमहानगरपालिकाले ९० लाखको लागतमा जीर्ण विद्यालय मर्मत  गरेर पठनपाठन शुरु गरेको हो । छात्राहरु मात्र हुने भएकाले विद्यालयमा पढ्न आउनेको सङ्ख्या पनि बढेको छ । गतवर्ष १२० जना छात्रा अध्ययनरत रहेकामा यस वर्ष विद्यार्थी सङ्ख्या बढेर २५२ पुगेको छ ।   

विद्यालयका प्रधानाध्यापक विधेसकुमार जैसवालले पहिलेको भन्दा विद्यालयको शैक्षिकस्तरमा धेरै सुधार आएको दावी गरे । मुस्लिम बहुल क्षेत्र भएकाले छोरी पढ्न नपठाउने समस्या अन्त्य गर्न छात्रा विद्यालय सञ्चालन गरिएको उनको भनाइ छ ।

विद्यालयमा हाल उपमहानगरपालिकाको अनुदानमा १० वटा कम्प्युटरसमेत जडान गरिएको छ । यहाँ १३ शिक्षक कार्यरत छन् । उपमहानगरले आगामी वैशाखसम्म कन्या छात्रा कलेज सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
 

सम्बन्धित समाचार

शिक्षामन्त्री पोखरेलसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गरेका छन्। कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा.मस्वेली बिन मालिकसँगको

चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा चारजना सिफारिस

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको चारवटा निर्देशक पदमा चारजना वरिष्ठ चिकित्सकको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा प्रा डा रमेशप्रसाद आचार्य, प्रा डा संगरत्न बज्राचार्य, प्रा डा दिलीप शर्मा र

अन्तरराष्ट्रियस्तरको कम्प्युटर शिक्षा नेपालमा

काठमाडौँ । कम्प्युटर शिक्षामा दक्ष विद्यार्थी उत्पादन गर्न सफ्ट्वेएरका कलेज अफ आइटी एन्ड इ–कमर्स काठमाडौँले बेलायतमा लोकप्रिय रहेको कम्प्युटर पाठ्यक्रम ‘डिजी प्रोग्राम’ नेपाल भित्र्याएको छ।  नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको उक्त

सीमा विवादबारे शिक्षामन्त्री पोखरेलबाट भारतीय मन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । फ्रन्सको पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभा बैठकका क्रममा भारतीय समकक्षीसँगको भेटवार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुई देशबीचको सीमा


z