• २०८१ बैशाख १५ शनिबार

सीमा विवादमा देउवाको टिप्पणी असान्दर्भिक – प्रचण्ड 

kharibot

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका विषयमा गरेको टिप्पणी असान्दर्भिक भएको बताएका छन् ।

नेकपाको भरतपुर महानगरपालिका–१६ निर्वाचन परिचालन समितिले आज विजयनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अब झुटा र आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्ने दिन गएको टिप्पणी गरे ।

काँग्रेस सभापति देउवाले चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहमा नै भारतले नक्सा जारी गरेको विवादस्पद बयान दिएका थिए ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका विषयमा असान्दर्भिक टिप्पणी गरेको बताउँदै प्रचण्डले भने,“अब भ्रम छरेर झुट्टा र आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्ने दिन गयो ।” 

 प्रचण्डले सम्बोधन गर्दै नेकपा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई नछाड्ने बताएका छन् । उनले देशको एक इन्च जमीन पनि अरूलाई नछोड्ने र अरुको पनि नलिइने बताए । अध्यक्ष प्रचण्डले भने,“सरकारले यसको कूटनीतिक पहल शुरु गरिसकेको छ । नेपालको भूमि फिर्ता भएरै छाड्छ ।” 

दुई पार्टीबीचको एकता संसारलाई नयाँ सन्देश दिँदै देशमा समृद्धि, सुशासन, स्थायित्व र विकासका लागि भएको उनको भनाइ थियो । उनले पार्टी एकता प्रधानमन्त्री बन्न हतारो भएर स्वार्थबाट नभएको स्पष्ट पारे । 

अध्यक्ष प्रचण्डले एकतापछिको नेकपा पानीको फोका नभएको भन्दै यो नयाँ नेपाल निर्माण गरेर देखाउने मुख्य आधार भएको बताए । उनले थपे, “प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्ष सरकारको नेतृत्वमार्फत राष्ट्र निर्माणमा लाग्नुहुन्छ, म पार्टीको सुदृढीकरण र सङ्गठन विस्तारमा केन्द्रित हुन्छु ।” 

अध्यक्ष प्रचण्डले आसन्न उपनिर्वाचनमा ८० प्रतिशतभन्दा बढी स्थानमा नेकपाले विजय हासिल गर्ने दाबी गरे । नेकपाको नेतृत्वमा गठित सरकारले देशको योजनाबद्ध विकासमा खेलेको भूमिकाका कारण देखिएको जनलहर देखेर प्रतिक्रियावादी अनर्गल प्रचारमा लागेको उनको भनाइ थियो ।

चितवन क्षेत्र नं–३ का निर्वाचित सांसदसमेतरहेका प्रचण्डले आफ्नो पहलमा भएका विकास निर्माणका कार्यहरु र भावी योजना पनि सुनाएका थिए । उनले नेकपाको उम्मेदवारलाई मतदान गर्न पनि अपिल गरे । 

निर्वाचन परिचालन समितिकी संयोजक दिलकुमारी थापा रावलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं ३ का सह–इन्चार्ज काशीनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहाल, प्रदेशसभा सदस्य कृष्ण भूर्तेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेकपाबाट वडाध्यक्षका उम्मेदवार भक्तराज हमाललगायतले बोलेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय