• २०८१ बैशाख १५ शनिबार

दाइजो दिने रकमबाट बालबालिकालाई न्यानो कपडा

kharibot

राजविराज । विवाहमा दाइजो दिने रकमबाट सप्तरीमा एक व्यक्तिले विपन्न समुदायका महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन्।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुर निवासी शैलेन्द्रचन्द्र झाले आफ्नो छोरी अभिलाषाको विवाहमा लाग्ने रकम सामाजिक कार्यमा लगाएका हुन्।

बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २५० महिला र ३०० बालबालिकालाई न्यायो लुगा वितरण गरेको उनको पारिवारिक स्रोतले जनाएको छ। त्यस्तै अशक्तताका कारण उपस्थित हुन नसकेका २४ वृद्घवृद्घालाई समेत बेहुली र उनका बुबाले घरमै गएर न्यायो लुगा प्रदान गरेका छन्।

बेहुला पक्षका अभिभावकसमेतको सहमतिमा दाइजो लेनदेन नगर्ने भएपछि समुदायका विपन्न महिला तथा बालबालिकालाई लक्षित गरी राहतस्वरुप गरीब असहायलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको बेहुलीका बुबा झाले बताए।

यता लत्ताकपडा पाएर खुशी भएकी उर्मिला सदाले दुई छाक जोहो गर्न मजदुरी गर्नुपर्ने हामीजस्तालाई यो सहयोगले चिसो छल्न पनि निकै टेवा पुगेको बताए।

झाकी छोरी अभिलाषा र सप्तरीकै बलानविहुल गाउँपालिका–४ निवासी अमरनाथ झाका छोरा अमितबीच बुधबार बिनादाइजो विवाह सम्पन्न भएको थियो।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै