• २०८१ बैशाख १४ शुक्रबार

हुम्ला टिपर दुर्घटना : २० घण्टापछि घाइतेको उद्धार

kharibot

सिमकोट । हुम्लाको उत्तरी गाउँपालिका नाम्खाको सल्लीबाट सामान ढुवानी गरिरहेको लु ४ ख ३२६९ नं को टिपर दुर्घटना हुँदा घाइतेको २० घण्टापछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको छ।

घाइते भएका १३ मध्ये सिमकोट गाउँपालिका–६ का बक्त रोकायाको हुम्ला जिल्ला अस्पतालमा उपचारका क्रममा नै मृत्यु भएको र मृतकको सङ्ख्या चार पुगेको छ।

हिजो दिउँसो २:०० बजे दुर्घटना भएको टिपरमा चारको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा नाम्खा गाउँपालिका–१, हेप्कागाउँका छिरिङ कर्मा तामाङ, नरी लामा, खार्पुनाथ–१ का बबरजङ्ग शाही रहेका छन्। मृतकको शव परीक्षण जिल्ला अस्पतालमा भइरहेको छ। 

चालकले मदिरा सेवन गरी टिपर चलाएको प्रारम्भिक लक्षण पाइएको भए पनि रिपोर्टमा सो नपाइएको र अन्य विवरण प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी प्रमुख रामप्रसाद घर्ती मगरले जानकारी दिए।

दुर्घटनास्थलको कच्ची सडक खण्डमा दुई पटक सडकको उत्तरी र दक्षिणी भागमा टिपर ठोक्किँएको तेस्रो पटक दक्षिणी भागको भिरालो खण्डमा खसेको पाइएको छ। 

घाइते हुनेमा नाम्खा–१ का नाम्गेल लामा, नातोक लामा, सिन्दार तामाङ, सिमकोट–६ का कपिल रोकाया, खगेन्द्र रावत, कमल रोकाया, सन्तोष सुनार, रामकुमार रोकाया, सिमकोट– ७ का नर सुनार, खार्पुनाथ–५ का धनसिंह भण्डारी, सर्केगाड गाउँपालिका–२ का चालक आनन्द तामाङ गरी १२ घाइते भएका थिए।

घाइतेमध्ये ११ को नेपालगञ्जतर्फ उपचारका लागि लगिएको छ। दुर्घटनामा अन्य क्षतिको विवरण हालसम्म छानबिनको क्रममा नै रहेको बताइएको छ। घाइतेको अधिकांशको अवस्था गम्भिर छ। 

हुम्ला शोकमग्न, विद्यालय खुलेनन्

चारको दुर्घटनामा मृत्यु भएपछि मृतकका आफन्त र सिङ्गो जिल्ला नै शोकमग्न भएको छ। मृतकको दाहसंस्कारका लागि सिमकोटमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थी विद्यालयमा उपस्थित नहुँदा विद्यालयको पठनपाठन समेत प्रभवित भएको छ। सिमकोटमा रहेका तीन सरकारी र दुई निजी बोर्डिङ विद्यालयमा आज अघोषित नै बिदा भएको छ।

घाइतेको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा), ले एकमृष्ठ रु एक लाख नगद सहयोग कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीमार्फत जिल्ला समन्वय समितिका अध्यक्ष दानबहादुर रावतलाई प्रदान गरिएको छ।

त्यसैगरी कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले रु १० हजार प्रदान गरेको र घाइतेको उपचार प्रदेश सरकारले नै गर्ने मन्त्री रावलले बताए।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै