• २०८१ बैशाख २२ शनिबार

राष्ट्रपति भण्डारीद्वारा १३औं सागको समुद्घाटन

kharibot

काठमाडौ । दक्षिण एशियाली खेलकुदको महाकुम्भ साग शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा विशेष कार्यक्रमका बीच सागको औपचारिक उद्घाटन गरेकी छिन् ।

उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, पुर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी भएका छन् ।

सागमा सहभागी सातै देशका खेलाडी र खेल पदाधिकारी मार्चपासमा सहभागी भएका थिए । मार्चपासमा नेपालको झण्डा भारत्तोलनका किर्तिमानी राष्ट्रिय खेलाडी कमल अधिकारीले बोकेका थिए ।

सागको उद्घाटनमा झाँकी निकालिएको थियो । 

सन् १९८४ मा पहिलो साग गरेको नेपालले तेस्रोपटक प्रतियोगिता गर्न लागेको हो । दशरथ रङ्गशालामा सागको उद्घाटन भएपनि पोखरा र जनकपुरमा पनि खेलहरु शुरु भएका छन् ।

सागमा नेपालको प्रदर्शनमा उतारचढाव रहनसक्छ । सन् १९९९ मा काठमाडौंमा भएको साग खेलकुदमा नेपालले सबैभन्दा बढी पदक जित्दै दोस्रो स्थान हासिल गरेको थियो । पहिलो सागमा नेपालले चौंथो स्थान हासिल गरेको थियो ।

१३औ सागअन्तर्गत काठमाडौँको १२, ललितपुरको नौ, पोखराको आठ तथा जनकपुरको एक स्थानमा खेल हुदै छन् । यसपटक सागमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ समावेश गरिएको छ । 

खेलमा नेपाली ६४८ सहित तीन हजार २२८ खेलाडी सहभागी हुने बताइएको छ । सागका नौ खेल पोखरा, एक खेल जनकपुर र बाँकी खेल काठमाडौँ तथा ललितपुरमा हुनेछन् । नेपालले सबै खेलमा सहभागिता जनाउने छ । 
खेलमा आयोजक प्रतिनिधि, निर्णायक मण्डल, अतिथिसहित दुई हजार २०९ जना तथा स्वयंसेवक करीब दुई हजार खटिनेछन् ।

सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । खेलमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छ ।

साग कै लागि विभिन्न सडक क्षेत्र कालोपत्रे गरिएको छ भने खाल्डाखुल्डी पुरिएको छ । खेल हुने स्थान पुनःनिर्माण गरेर रङ्रोगन तथा झण्डा फहराएर चिटिक्क पारिएको छ । सडकका विभिन्न क्षेत्रमा सागसँग सम्बन्धित तुल र ब्यानर राखिएको छ । सागको मस्कट कृष्णसारको आकृतिमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै