• २०८१ बैशाख १४ शुक्रबार

प्रदर्शन चर्किएपछि कोहलपुर आसपासमा कर्फ्यु

kharibot

बाँके । विद्यार्थीको प्रदर्शन चर्किएपछि बाँकेमा कर्फ्यू लगाइएको छ । ट्रकको ठक्करबाट एक बालिका गम्भीर घाइते भएपछि विद्यार्थीले चर्को प्रदर्शन गरेका थिए । 

कोहलपुरका केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ पिपरीचोकसम्म, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी अपराहन्न ३ बजेदेखि कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यलय बाँकेले जानकारी दिएको छ 
। 

कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालयको कक्षा ७ अध्ययनरत बालिकालाई ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि प्रदर्शन चर्किएको थियो । विद्यार्थीहरुले ठक्कर दिने ट्रकसमेत जलाएका छन् । प्रदर्शनकै क्रममा प्रहरी र विद्यार्थीबीच झडप पनि भएको छ । प्रहरीको हवाई फायरले पनि भीड नियन्त्रण नभएपछि कर्फ्यू जारी गरिएको छ ।

ट्रकको ठक्करबाट बालिका गम्भीर घाइते भएपछि आक्रोसित हुँदै विद्यार्थी र स्थानीबासीको समूहले उक्त ट्रकमा आगजनी गरेका छन्। आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन् भने चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन् ।

स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन्।

प्रदर्शनकारीसँगको झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीसहित केही प्रहरीहरू पनि घाइते भएका छन्।

घाइतेहरूको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा १५ जना घाइते आएको अस्पतालले जनाएको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै