• २०८१ जेठ १ मंगलबार

खप्तडमा आध्यात्मिक र प्राकृतिक आनन्द, कसरि पुगीन्छ खप्तड?

kharibot

डोटी । नेपालको भूस्वर्ग खप्तड पर्यटकको पर्खाइमा छ। नेपाल भ्रमण वर्ष २०२० मा पर्यटकीयस्थल खप्तडमा हजारौँ पर्यटक भित्र्याइने लक्ष्य लिइएको छ।

यहाँका विभिन्न हराभरा लेक, तालतलैया तथा आनन्ददायी बासस्थान भएकाले पनि यहाँ सहजै रुपमा पर्यटक भित्र्याउन सकिने दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताइन्। उनले भनिन, “ पर्यटक भित्र्याउनका लागि हाम्रो मुख्य आकर्षणको केन्द्र खप्तड छ। यहाँ अथाह मनोरम दृष्य अवलोकन गर्न सकिन्छ।”

खप्तड क्षेत्र खप्तडबाबा अर्थात् स्वामी सच्चिदानन्द सरस्वतीले तपस्या गरेको पवित्र ठाउँ पनि हो। खप्तड बाबाले खप्तडमा करीब ५० वर्ष बिताएका थिए। खप्तडबाबा आध्यात्मिक गुरु र दार्शनिकका रुपमा चिनिन्छन्।

सन् १९३७ मा भारतको कश्मीरमा नेहरू परिवारमा जन्मिएका खप्डतबाबा विसं १९८६ मा नेपाल आएका थिए। सन्न्यास लिनुपूर्व उनी प्रतिभावान् चिकित्सक थिए। उनले कोलकातास्थित ट्रपिकल मेडिकल कलेजबाट एमबिबिएस र बेलायतबाट शल्यक्रियाबारे अध्ययन गरेका थिए।

काशीको दक्षिणामूर्ति मठमा रहेर पूर्वीय दर्शनको अध्ययन अध्यापनपछि गहन साधनाका लागि उनी नेपालको खप्तड लेक आएको बताइएको छ। उनका ‘धर्म विज्ञान’, ‘विचार विज्ञान’, ‘स्वास्थ्य विज्ञान’, ‘म र मेरो कर्तव्य’, ‘नारीधर्म र पुरुषधर्म’, ‘आत्मज्ञान’, ‘योग विज्ञान’, ‘वेदान्त विज्ञान’, ‘आरोग्य विज्ञान’लगायत कृति प्रकाशित छन्। प्रकाशन हुन नसकेका उनकै हस्तलिखित अरु थुपै कृति खप्तडबाबाका विभिन्न ठाउँमा बनाइएका मन्दिरमा छन्।

खप्तडबाबाको विक्रम संवत् २०५३ ज्येष्ठ कृष्ण सप्तमीका दिन बूढानीलकण्ठ काठमाडौंमा निधन भएको थियो। उक्त ठाउँमा बाबाले योग र ध्यान गरेको तथा पुस्तक लेखेका थिए।

खप्तड बाबालाई काश्मीरी, हिन्दी, उर्दू, संस्कृत, अङ्ग्रेजी, फारसी, नेपाली तथा अन्य भारतीय भाषाको राम्रो ज्ञान भएको उहाँद्वारा लिखित पुस्तकमा उल्लेख गरिएको छ। खप्तड बाबालाई तत्कालीन राजा वीरेन्द्रले विसं २०३८ मा खप्तडमै पुगेर भेट गरेको स्थानीय बूढापाका बताउँछन्।

खप्तड क्षेत्रमा यस वर्ष बाक्लो हिमपात भएको छ। मनोरम हिउँलगायत अन्य ठाउँको दृष्यावलोकन गर्न पर्यटक दिनहुँ आउन थालेको डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा खप्तड क्षेत्रमा पर्ने पूर्वीचौकी गाउँपालिकाका नरेन्द्रबहादुर खड्काले बताए।

उनले भने, “खप्तड त्यसैमा पनि पर्यटकको आर्कषणको केन्द्र हो, अहिले झन् बाक्लो हिमपात भएपछि त्यसको मनोरम दृष्य हेर्न पर्यटक आउन थालेका छन्।” खप्तडमा पछिल्लो समय विदेशीसहित बाजुरा, अछाम, कैलाली, कञ्चनपुर, बझाङ तथा डोटीका आन्तरिक पर्यटक अवलोकन तथा भ्रमणमा आउने गरेको खप्तड राष्ट्रिय निकुञ्जले जनाएको छ।

खप्तड निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालु आर्थिक वर्षको ६ महिनामा रु दुई लाखभन्दा बढी राजश्व सङ्कलन भएको। खप्तड क्षेत्रमा आन्तरिक पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। निकुञ्जले बाह्य पर्यटकबाट प्रतिव्यक्ति रु तीन हजार ३९० का  दरले भ्रमण शुल्क लिने गरेको छ।

निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै विभिन्न जातिका पशुपक्षी र वनस्पति  हेर्न सकिन्छ। त्यहाँ रहेका त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटनलगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ। निकुञ्जको संरक्षणका लागि चार ठाउँमा इलाका कार्यालय छन्।

खप्तड क्षेत्रमा जेठ महिनामा गङ्गा दशहरा मेला तथा जनैपूर्णिमाका दिन जात्रा लाग्छ। जात्रा हेर्नका लागि सुदूरपश्चिमका विभिन्न जिल्ला र नेपालका अन्य क्षेत्रबाट पर्यटकको घुइँचो लाग्ने गरेको पूर्वीचौकी गाउँपालिकास्थित बग्लेकका धनबहादुर विष्टले बताए। उनले भने, “खप्तडमा पहिले पहिलेको वर्ष जात्राको समयमा हजारौँ पर्यटक आउँथे,  यस वर्ष त जात्राको समयभन्दा पनि अहिले बढी पर्यटक आउन थालेका छन्।”

खप्तड क्षेत्रमा आउने पर्यटकको सुविधा तथा सहजताका लागि डोटीको पूर्वीचौकी गाउँपालिका तथा खप्तड पर्यटन विकास समितिको पहलमा झिग्ररानासम्म सडक सुविधा पुर्याइएको छ।

झिग्रानाबाट भने पर्यटकको मागअनुसार घोडाको व्यवस्था गरिएको सो गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए। उनले भने, “हामीले झिग्रानासम्म सडक सुविधा पुर्याउन सफल भएका छौँ, त्यहाँबाट पर्यटकको मागबमोजिम घोडाको पनि व्यवस्था मिलाउन सक्छौँ।”

खप्तड क्षेत्रमा पर्ने त्रिवेणी धाम, नागढुङ्ङ्गा, सहस्र लिङ्ङ्ग र खप्तड तालको भ्रमण गर्दा पर्यटकलाई झनै आनन्द आउने गरेको खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए। उनले भने, “एक चोटि खप्तड घुम्न आउने पर्यटक अर्को पल्ट नआईकन रहनै सक्दैन, खप्तडसँग मन लोभ्याउने शक्ति छ।”

खप्तडको पर्यटन विकासका लागि यहाँका स्थानीय तहले विभिन्न किसिमका विकासका काम गर्दै आए पनि केन्द्रीय तथा प्रदेश सरकारले खासै विकास गर्न नसकेको स्थानीयवासीको आरोप छ।

खप्तड स्वामीको आश्रमको संरक्षण तथा सम्बद्र्धन स्थानीय तह, नेपाली सेना, स्थानीयवासी तथा खप्तड पर्यटन विकास समितिले गरिरहेको बताइएको छ। त्यस्तै खप्तड क्षेत्रमा पर्यटन गतिविधि बढाउन खप्तड प्रवेशद्वार बगलेकमा घरबास सञ्चालनको तयारी थालिएको छ।

पूर्वीचौकी गाउँपालिका, होटल व्यवसायी सङ्घ डोटी र पूर्वीचौकी गाउँपालिका – २ को संयुक्त लगानीमा बगलेक गाउँका १० घरधुरीबाट घरबास पर्यटन शुरु गरिएको  उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए। खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम पनि भएको स्थानीयवासीको भनाइ छ। त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन्।

निकुञ्ज सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लाको सङ्गममा अवस्थित छ। यसको क्षेत्रफल २२५ वकिमी छ। समुद्र सतहबाट तीन हजार ५०० मिटर सम्म उचाइमा रहेको निकुञ्जभित्र ५६७ थरिका वनस्पति र नेपालमा पाइने ८५० किसिमका चराचुरुङ्गीमध्ये २६० भन्दा  बढी चरा पाइने  निकुञ्जका संरक्षक अधिकृत राजु घिमिरेले बताए।

उनका अनुसार खस्रे भ्यागुता र बझाङ्गे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर र बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो। बाह्रै महिना पानीको सतह एकैनासको हुने विशेषता रहेको १५० मिटर लम्बाइ र ५० मिटर चौडाइ रहेको खप्तड दह तथा ५२ ताल पनि यहाँ छन्।

निकुञ्जमा कस्तुरी, मृग, बँदेल, डाँफे , जरायो, रतुवा, थरल, घोरल, चितुवा, भालु, वानर, ढेडु वानर, दुम्सी, खरायोलगायत जङ्गली जनावर पाइन्छन्। प्रकृतिले नै रमाइलो बनाएको यस ठाउँमा ठूल्ठूला घाँसे मैदान, ससाना ढिस्का र रमाइलो जङ्गल छन्। त्यहाँ रहेका घाँसे मैदानमा गाई, गोरु र घोडा वर्षेनी चर्न आउने र रमाउने गर्छन्।

खप्तड क्षेत्रमा चारैतिर घनघोर जङ्गल र बीचमा ठूल्ठूला फाँट छन्। जैविक विविधताले भरिएको यो क्षेत्र २०४० सालदेखि राष्ट्रिय निकुञ्ज बनेको खप्तड पर्यटन विकास समिति डोटीले जनाएको छ। यस क्षेत्रको सुरक्षाका लागि २०४७ सालदेखि नेपाली सेनाको ब्यारेक स्थापना गरिएको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुरले जनाएको छ।

खप्तडमा २०० भन्दा बढी प्रजातिका फूल, बहुमूल्य जडिबुटीका साथै कस्तुरी, मृग, बँदेल, डाँफेलगायत जन्तु र पक्षी पाइन्छन्। यस क्षेत्र मङ्सिरदेखि फागुनसम्म हिउँले ढाकिन्छ। खप्तड क्षेत्रको विकासका लागि वर्षेनी करोडौँको बजेट आउने भए पनि राजनीतीकरण र आर्थिक अनियमिताले यस क्षेत्रको विकास हुन नसकिरहेको स्थानीयवासीको आरोप छ।

कसरी पुग्ने खप्तड

खप्तड पुग्ने धेरै बाटो भए पनि पर्यटकको प्रमुख चलनचल्तीमा डोटीको बगलेक हुँदै जाने बाटो रहेको छ।

काठमाडौंबाट हवाइजहाज वा बसबाट धनगढी जानुपर्छ। कैलाली जिल्लाको धनगढीदेखि डडेल्धुराको स्याउले बजार हुँदै डोटी जिल्लाको सदरमुकाम सिलगढीसम्म करीब सात घण्टा बस चढी पुग्न सकिन्छ। सिलगढीबाट बीचपानीसम्म करीब दुई घण्टा कच्ची सडकमा गाडी चढेपछि त्यहाँबाट पैदल वा घोडा मगाएर खप्तडतिर हिँड्नुपर्छ। बीचपानीबाट हिँडेपछि ठूल्ठूला चट्टान र घना जङ्गलको बाटो आउँछ।

बाटोमा फुलेका रङ्गीचङ्गी फूलको सौन्दर्यको आनन्द लिँदै केही घण्टामा खप्तडको त्रिवेणी मन्दिर पुगिन्छ। जिल्ला सदरमुकाम सिलगढीबाट हिँडेको दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्जमा आरामसँग पुग्न सकिन्छ।

खप्तड जानुभन्दा अघि पाल, स्लिपिङ ब्याग, खाना पकाउने सामानसँगै लिएर जानु उत्तम हुने खप्तड क्षेत्रमा गएका पर्यटक बताउँछन्। खानका लागि चाउचाउ लगायत ड्राइफुड बोक्दा झनै राम्रो हुन्छ।

त्यहाँ बास बस्नका लागि सरकारले चार धर्मशाला पनि निर्माण गरेको छ। सुदूरपश्चिम क्षेत्रकै प्रमुख पर्यटकीयस्थल खप्तडको विकास छिटो गर्न सके समग्र सुदूरपश्चिमकै विकास हुने स्थानीयवासी बताउँछन्।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै