• २०८१ बैशाख २२ शनिबार

काबेली बी–१ क्यासकेडमा बिओके अगुवाइमा ऋण लगानी सम्झौता

kharibot

काठमाडौँ । अरुण भ्याली जलविद्युत् विकास कम्पनी र बैंक अफ काठमाण्डूबीच ९.४ मेगावाटको काबेली बी १ क्यासकेड जलविद्युत् आयोजनामा लगानी गर्नेसम्बन्धी ऋण सम्झौता भएको छ ।

आयोजनामा बैंक अफ काठमाण्डूको अगुवाइमा कुमारी बैंकसँगको सहवित्तीयकरणमा ऋण लगानी गर्ने सम्झौता भएको हो । आयोजनामा दुई बैंकले १ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । 

‘दुई बैंकले नै लगानी पुर्याउने हाम्रो आशा छ,’ अरुण भ्यालीका कार्यकारी प्रमुख रमेशप्रसाद न्यौपानेले भने, ‘रकम पुगेन भने अर्को बैंकसँग पनि हामी रकम लिन सक्छौं ।’ आयोजनामा ३० प्रतिशत स्वपुँवी (इक्विटी) र ७० प्रतिशत ऋण लगानी रहने उनले बताए । 

पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने उक्त आयोजना २५ मेगावाट क्षमताको काबेली बी १ आयोजनाको क्यासकेड आयोजना हो । काबेली बी १ ले छोडेको पानीबाट उक्त ९.४ मेगावाटको आयोजना सञ्चालन हुन्छ । आयोजनाले काबेली बी १ ले नै निर्माण गरेको बाँध, प्रसारणलाइनलगायतका संरचना प्रयोग गर्नेछ । 

२५ मेगावाटको काबेली बी १ आयोजना भने दसैँअघिबाटै सञ्चालनमा आइसकेको छ । क्यासकेड आयोजनामा करिब २ अर्ब लगानी हुने अनुमान गरिएको न्यौपानेले बताए । 

आयोजनाको विद्युत् खरिद–बिक्री (पिपिए)सम्झौता भने यसअघि नै भइसकेको छ । हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिट र वर्षामा ४ रुपैयाँ ८० पैसा प्रतियुनिट विद्युत् खरिद–बिक्री दर तोकिएको छ । क्यासकेड आयोजनाबाट १ असोज २०७८ मा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । ‘वित्तीय व्यवस्थापन पूरा हुनासाथ हामी आयोजना निर्माणको चरणमा प्रवेश गर्नेछौँ,’ न्यौपानेले भने । 

अरुण भ्यालीले नेपालको पहिलो निजीक्षेत्रबाट प्रबन्धन भएको ३ मेगावाट उत्पादन क्षमता रहेको पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरीसकेको छ । उक्त आयोजनामा पनि बैंक अफ काठमाण्डू लिमिटेडले नै सहवित्तियकरण कर्जाको अगुवाइ गरेको थियो । उक्त पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई असोज १, २०६० देखी नै सञ्चालनमा आईसकेको छ । उक्त आयोजनामा रहेको बैंकको सहवित्तियकरण कर्जाको भुक्तानी भई कर्जा चुक्ता भइसकेको छ ।

साथै यस सहवित्तियकरण कर्जा पश्चात् यस काबेली बी वान कास्केड जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै