तेहरान । इराक र इरानको उत्तरी सीमा क्षेत्रमा ७.३ रेक्टर स्केलको भूकम्पबाट मृत्यु हुनेको संख्या २ सय १८ पुगेको छ ।
अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पबाट इरानमा मात्र २ सय १४ जनाको मृत्यु भएको छ । त्यस्तै इराकमा ४ जनाको मृत्यु भएको छ ।
इरानको राष्ट्रिय राहत व्यवस्थापन संगठनका प्रवक्तालाई उदृत गर्दै रोयटर्सले भूकम्पबाट २५ सयभन्दा बढी घाइते भएको जनाएको छ ।
भूकम्प गएसँगै मानिसहरु घरबाट बाहिर सडकमा निस्किरहेका छन् । अहिले दुवै देशमा उद्धारको काम चलिरहेको छ । इरानी समाचार संस्था आइआरआइएनएनले उद्धार टोलीलाई देशको पश्चिमी भागतिर तैनाथ गरिएको जनाएको छ ।
भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो । आइतबार बेलुकी इराकी शहर हलब्जा केन्द्रीत भएर भूकम्प गएको अमेरिकी भूबैज्ञानिक सर्वेक्षण यूएसजीएसले जनाएको छ ।
इरानमा यस अघि सन् २००३ को डिसेम्बर २२ मा आएको ६.६ रेक्टर स्केलको भूकम्पबाट ऐतिहासिक शार बाममा ३१ हजार भन्दा बढीले ज्यान गुमाएका थिए ।