• २०८१ जेठ ७ सोमबार

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नौ शैंयाको आइसियु तयारी हुँदै

kharibot

कास्की । कोभिड–१९ का बिरामीको उपचार गर्न  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नौ श्ययाको सघन उपचार कक्ष (आइसियु) तयार गरिने भएको छ । सो अस्पताललाई ‘डेडिकेटेड अस्पताल’ तोकिएको छ ।

पछिल्ला दिन कोरोनाको जोखिम बढेसँगै अस्पतालमा सम्भावित गम्भीर अवस्थाका बिरामीको उपचारलाई लक्ष्यित गरी विशेष सुविधासहितको कोभिड उपचारमैत्री श्यया निर्माण भइरहेको जनाइएको छ । अस्पतालका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले गम्भीर अवस्थाका बिरामीको उपचारका लागि तीन/चार दिनभित्रमा सुविधासम्पन्न आइसियु तयार हुने जानकारी दिए ।

आइसियुको हाल रहेको ११ श्यया क्षमताबाट घटाएर सहज उपचारका लागि नौ श्ययामा सीमित गर्न लागिएको छ । अस्पतालले रु २० लाख लागतमा विशेषखालको उपचार कक्ष निर्माण गरिरहेको जनाएको छ । सरकारले सो अस्पताललाई कोभिड–१९ को उपचारका लागि ‘डेडिकेटेड अस्पताल’ तोकेको छ ।  ‘लेबल एक’ र ‘लेबल दुई’ दुवैको उपचारका लागि अस्पताललाई तोकिएको हो ।

त्यसैगरी हालको मेडिकल वार्डमा समेत २५ श्यया कोरोनाका बिरामीको उपचारका लागि तयार गर्न लागिएको अस्पतालले जनाएको छ । आवश्यकतानुसार सो कक्षमा श्यया विस्तार गर्न सकिने उनले बताए । “तत्काल कोरोनाका बिरामीलाई आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको छ । गम्भीर अवस्थाका बिरामीका लागि केही दिनमा नै आइसियु र मेडिकल वार्डमा उपचारको प्रबन्ध गरिने छ, अहिले त्यसको काम भइरहेको छ”, उनले भने ।

कोभिड–१९ पुष्टि भएका गम्भीर अवस्थाका बिरामी दुईजनासम्मलाई आइसोलेशनमा उपचारका लागि दुई श्यया तयारी अवस्थामा रहेको बताइन्छ ।    डेडिकेटेड अस्पताल तोकिएको गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल अस्पतालमा १० श्ययाको आइसोलेशन यसअघि नै तयारी अवस्थामा छ ।

सरकारले आवश्यक स्वास्थ्य सामग्री, उपकरण तथा आइसियु व्यवस्थापनका लागि अस्पताललाई रु ६ करोड बजेट पठाएको थियो । लेबल एक कोभिड अस्पतालले सामान्य केस व्यवस्थापन आफै गर्नुपर्छ भने बाहिरबाट आएका र अस्पतालमा पहिचान भएका बिरामीलाई प्रोटोकलअनुसार आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने उल्लेख छ ।

लेबल दुई कोभिड अस्पतालले  मध्यम, जटिल र अति जटिल केस व्यवस्थापन गर्नुपर्ने हुन्छ । बाहिरबाट आएका र अस्पतालमै पहिचान भएका मध्यम, जटिल साथै अति जटिल बिरामीलाई आइसियु केयरमा उपचार गर्नुपर्ने सरकारले जारी गरेको उपचार निर्देशिकामा उल्लेख छ । 

कोरोनाका बिरामीको उपचारका लागि प्रदेशअन्तर्गतका ११ वटै जिल्लामा गरी २८३ आइसोलेशन श्यया तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । जिल्लामा पुष्टि भएका बिरामीको उपचार सम्बन्धित जिल्लामा गर्ने गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम, अस्पतालमा उपकरण तथा स्वास्थ्य सामग्री व्यवस्थापनको काम गरिएको उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै