• २०८१ बैशाख १४ शुक्रबार

पाल्पाको ऐतिहासिक भगवती जात्रा स्थगित

kharibot

फाइल तस्बीर

रामपुर । कोभिड–१९ महामारीका कारण पाल्पाको प्रख्यात ऐतिहासिक भगवती तथा रणउजेश्वरी जात्रा यो वर्ष स्थगित भएको छ । 

जिल्ला प्रशासन कार्यालय र तानसेन नगरपालिकाको निर्यणानुसार यस वर्र्ष जात्रा ननिकाल्ने निर्णय भएको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले जानकारी दिए ।

विजयोत्सवका रुपमा मनाइने भगवती जात्रा हेर्न विभिन्न जिल्लाबाट दर्शकहरु यहाँ आउने गर्छन् । जात्रामा मानिसको ठूलो भीड लाग्ने भएकाले निरन्तर मनाउँदै आएको जात्रा यस पटक स्थगित गरिएको अध्यक्ष उदयको भनाइ छ ।

कर्णेल उजिरसिंह थापाले विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीनतले मन्दिर पूरा गरेका थिए । तिनै थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते जीतगढीमा अङ्ग्रेजलाई परास्त गरेको थियो । युद्धमा निस्कनुअघि उनले विजय भएमा ठूलो मन्दिर बनाई खटजात्रा शुभारम्भ गर्ने भगवतीसँग भाकल गरेका थिए । आफ्नो भाकल पूरा भएपछि उनले तानसेनमा भगवतीको मन्दिर बनाएका हुन् । 

राष्ट्रियता, वीरता, धीरता, रणकौशलको इतिहास पनि यस रथयात्रासँग गाँसिएको छ । विसं १८७७ देखि निरन्तर कृष्ण जन्माष्टमीको भोलिपल्ट भगवतीको जात्रा निकालिँदै आएको छ ।

यसैगरी, पाल्पामा निकालिने गाईजात्रा, रोपाइँ जात्रा, बाघ जात्रा, नारायण जात्रा, गणेश जात्रा, कृष्ण जात्रालगायत जात्रा तथा पर्व यो वर्ष नगरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, तानसेन नगरपालिका, विश्व हिन्दू महासङ्घ, विभिन्न गुठी सङ्घसंस्थाहरु र सरोकारवालाको बैठकले कोरोनाको जोखिमका कारण जात्राहरु नगर्ने निर्णय गरेको छ । 

कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै जिल्लामा यस वर्ष जात्रा तथा महोत्सव नगर्ने निर्णय भएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै