• २०८१ बैशाख २४ सोमबार

एसिड आक्रमण गर्नेलाई कारवाही गर्न अध्यादेश ल्याउने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

kharibot

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) पिडितहरूले माग गरेअनुरूप यस अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने उल्लेख गरेका छन् ।

यस निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि प्रधानमन्त्री ओलीले कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

उनले अपराधीको सम्पत्ती रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु-याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने बताए ।

देशभरि एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरू सहभागी आजको विशेष कार्यक्रममा प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले गर्ने घोषणा गरेका छन् ।

आक्रमणकापछि पढ्न चाहनेहरूका लागि नि:शुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने उनले बताए । साथै, उचित तालीम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले मिलाउने समेत उनले कार्यक्रममा जानकारी गराए ।

प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने बताएका छन् ।

हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमणविरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उनले सबैलाई आव्हान समेत गरेका छन् ।

सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले हरेस नखाई अघि बढ्न सहभागीहरूलाई आश्वस्त गरेका छन् ।

नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै