• २०८१ बैशाख २४ सोमबार

गोर्खा ब्रुअरीले भन्यो - सुनियोजित ढंगले हाम्रा उत्पादनको गुणस्तरमा प्रश्न उठाइयो

kharibot

काठमाडौँ । गोर्खा ब्रुअरीले आफुहरुले उत्पादन गरिरहेका वियर ब्राण्डहरु गुणस्तरहीन भन्दै भ्रामक प्रचार भइरहेको जनाएको छ । गोर्खा ब्रुअरीका डेपुटी म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालले विश्वमै लोकप्रिय रहेका वियर ब्राण्डहरुको गुणस्तरमा सुनियोजित ढंगले प्रश्न उठाइएको बताएका छन् ।

डेपुटी म्यानेजिङ डाइरेक्टर सुरेन्द्र सिलवालले सयौँ वर्षको इतिहास बोकेको ब्रान्डहरुमाथि व्यावसायिक प्रतिस्पर्धाभन्दा बाहिर गएर केही समूहले मिडियालाई प्रयोग गर्दै यस्तो भ्रम फैलाइरहेको बताए । अहिले सरकारसँग अन्त: शुल्क सम्बन्धि केहि विषयमा व्यवसायीहरुबीच छलफल भइरहेको विषयलाई आफ्ना उत्पादनको गुणस्तरसँग जोडेर प्रचार गरिएकोमा सिलवालले आपत्ति प्रकट गरेका छन् ।

उनले आफुहरुले उत्पादन गर्ने वियरको गुणस्तर परिक्षण सम्बन्धित ब्राण्डले नै विशेषज्ञ पठाएर शुरु देखि नै गरिरहेको भन्दै त्यसमा आफुहरुको कुनै भूमिका नहुने स्पष्ट पारे । उनले भने, ‘विश्वमा सय बर्षदेखि उत्पादन भएका ब्राण्ड तथा नेपालमा ३० बर्षदेखि उत्पादन हुँदै आएका यी प्रडक्टहरु बन्द भएमा राज्यलाई नै ठूलो नोक्सानी हुने हो । तर गलत अफवाह फैलाएर उपभोक्तालाई निराश पार्ने काम भएको छ, यो गलत छ ।’

सिलवालले अन्त:शुल्कमा सरकारसँग असमझदारी भएको बताउदै भने, 'अहिलेको इस्यू भनेको गुणस्तर हुँदै होइन, यो त अन्तःशुल्कको हो र अन्तःशुल्कका विषयमा सकारात्मक छलफल भइरहेको छ।’

बजारमा आन्तरिक राजश्व कार्यालयलाई उदृत गर्दै गुणस्तर बारे प्रचार भएको भन्दै उनले आन्तरिक राजश्व विभाग गुणस्तरको विषयमा बोल्ने निकाय नभएको बताए । गुणस्तर र कर फरक फरक विषय भएको र यी विषयमा हेर्ने निकाय अलग अलग भएको भन्दै उनले नियोजित ढंगले समाचार बनाएर प्रकाशित गरिएको उनले बताए । अहिले बजारमा अस्वस्थ प्रतिस्पर्धा भएका कारण आफुहरुलाई तल पार्ने प्रयास अनुसार नै अहिले यस्तो प्रचार भएको बताएका छन् ।

आन्तरिक राजस्व विभागले गरेको वियरको पछिल्लो वर्गीकरण अन्यायपूर्ण भएको भन्दै यस विषयमा सरकारसँग सकारात्मक छलफल भइरहेको गोर्खा ब्रुअरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै