काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति पदका लागि दरखास्त आव्हान गरिएको छ । हालका उपकूलपति रामकण्ठ मकाजुको लगातार दोस्रो कार्यकाल आउँदो माघ पहिलो साता सकिँन लागेकाले नयाँ नियुक्तिका लागि दरखास्त आव्हान गरिएको हो ।
शिक्षा मन्त्रालयले काठमाडौं विश्वविद्यालयको उपकुलपति हुन इच्छुक व्यक्तिलाई पुस २७ गतेभित्र सिफारिस समितिका अध्यक्ष एवम् शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको इमेलमा व्यक्तिगत विवरण पठाउन सूचना प्रकाशित गरेको छ ।
प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न सहकुलपतिसमेत रहेका शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा सिफारिस समितिले प्राप्त विवरणका आधारमा योग्य व्यक्तिको नामावली सिफारिस समितिले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने र कुलपति एवम् प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्ने व्यवस्था रहेको छ ।
सिफारिस समितिमा विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा र बोर्ड अफ ट्रस्टीका अध्यक्ष दमननाथ ढुंगाना सदस्य रहेका छन् ।










