• २०८१ जेठ ४ शुक्रबार

अमेरिकामा कोभिड-१९ को नयाँ रेकर्ड, एकै दिनमा चार हजारभन्दा बढीको मृत्यु

kharibot

प्रतिनिधि तस्वीर

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ ।

यहाँ एकै दिन कोरोना सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको छ ।

कोभिडका कारणबाट अमेरिकामा बिहीबार मात्र कम्तीमा पनि चार हजार जनाको ज्यान गएको बताइएको छ ।

यहाँको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले दिएको जानकारीअनुसार बिहीबार मात्र कम्तीमा पनि चार हजार १८० जनाको यो सङ्क्रमणबाट निधन भएको छ ।

त्यस दिनमात्र यो सङ्क्रमणका २ लाख ७९ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका छन् । यो संख्या पनि अमेरिकामा धेरैपछि एकै दिन देखिएको सबैभन्दा धेरै संख्या भएको यहाँको स्वास्थ्यसम्बन्धी निकाय सिडीसीले जनाएको छ ।

सिडीसीले दिएको जानकारीअनुसार अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएपछिको यो सबैभन्दा धेरै संख्याको संक्रमण र मृत्यु हो ।

अमेरिकामा शुक्रबारको तथ्यांकअनुसार करिब १ लाख ३२ जना नागरिक कोभिडको संक्रमणका कारण विरामी भएर अस्पतालमा भर्ना भएका छन् ।

नयाँ वर्ष शुरु भए पछिको पहिलो हप्तामा नै अमेरिकामा २३ हजार ८३ जना कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ । यसका कारण यहाँ पछिल्ला दिनहरुमा यो संक्रमणको त्रास थप बढेको पनि अधिकारीहरुले जनाएका छन् ।

एक हप्ता भित्रमा अमेरिकाका विभिन्न १६ वटा राज्यमा कोभिडका संक्रमितहरु बढेका छन् र उनीहरुमध्ये केहीलाई कडा लक्षणहरु देखिएका कारणले अस्पताल नै भर्ना गरिएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकामा अहिलेसम्ममा कोरोना संक्रमणबाट दुई करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । त्यसैगरी कोरोना संक्रमणजन्य जटिलताका कारण अमेरिकामा ३ लाख ६९ हजार जनाले ज्यान गुमाएका छन् ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार शनिबारसम्मको तथ्यांकमा अधिक संख्या देखिएको छ । साथै पछिल्ला केही दिनहरुमा अमेरिकामा संक्रमित हुने र मृत्यु हुने दर पनि बढेको देखिएको छ । 

गत वर्षको डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको सङ्क्रमणको कारण विश्वभरी ९ करोड १० लाख भन्दा बढी सङ्क्रमित भएका छन् । 

कोरोना सङ्क्रमणको कारण विश्वभरी १९ लाख ३५ हजार भन्दा बढीको मृत्यु भएको छ भने ६ करोड ४४ लाख ९२ हजार ५९७ जना कोरोना मुक्त भएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै