• २०८१ बैशाख २४ सोमबार

चल्ने भयो बुटवल-नुवाकोटगढी केवलकार, अर्थमन्त्री पौडेलले गरे शिलान्यास

kharibot

बुटवल । ओली सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिएसँगै नेकपा ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित उदघाटन र शिलान्यासका कार्यक्रमलाई तिब्रता दिएका छन् ।

अर्थमन्त्री पौडेलले बुटवलदेखि नुवाकोटगढी पुग्ने करिब २ किलोमिटर दुरीको केवुलकारको आइतबार शिलान्यास गरेका छन् ।

पौडेलले गरेको शिलान्याशले सार्थकरुप ग्रहण गरे अवको डेढवर्षमा ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक हिसाबले पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको पाल्पाको तिनाउ–२ मा अवस्थित नुवाकोट गढीसम्म केवुलकारमा बसेर पुग्न सकिने भएको छ ।

नुवाकोटगढीमा केबलकार सञ्चालनको लागि सिद्धार्थ केबलकार प्रालीले यस अघि नै सरकारबाट वन क्षेत्र उपयोग गर्ने स्वीकृती लिएर केही काम अगाडि बढाइसकेको छ । केबलकारको आवश्यक पूर्वाधाार निर्माणको काम सुरु भईसकेको प्रालीका अध्यक्ष राजेन्द्रसिंह गुरुङले जानकारी दिएका छन् ।

१८ महिना भित्रै बुटवल–नुवाकोटगढी केवुलकार सञ्चालनका लागि करिब ७५ करोडको लगानीमा ठेक्का सम्झौता भएको हो । ५० जना पर्यटन व्यवसायीहरु आवद्ध सिद्धार्थ केवलकार प्रा.लिले निर्माणमा लगानी गरेका छन् ।

मनोरम हिमश्रींखलाका साथै तराईका फाँट र भैरहवासम्मका दृष्य देख्न सकिने नुवाकोटगढीसम्म पुग्नका लागि केवुलकार विस्तार हुने भएपछि पर्यटकलाई सहज हुने भएको छ । २२ से २४ से राज्यका बेला राजा मणिमुकुन्द सेनको गृष्मकालिन दरबार, तोपहान क्षेत्र, खरखजनाघर, रानीकुवासमेत रहेको नुवाकोटगढीसम्म पुग्न केवलकार सञ्चालनसँगै यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्ने पर्यटन व्यवसायी माधव नेपालले बताए ।

ऐतिहासिक स्थल मणिमुकुन्द सेन उद्धानबाट २ घण्टाको पैदल यात्रा गरी जान सकिने नुवाकोटलाई रुपन्देहीको ऐतिहासिक स्थल जीतगढी किल्लासँग जोडेर विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै