बुटवल । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगी व्यबसायीको समस्या समाधानको लागि महासंघले ‘भिजन पेपर’ तयारी गरेको बताएका छन् ।
मुलुकको अर्थतन्त्रको सुचकांक जिडिपीलाई १० प्रतिशत भन्दा माथि पुर्याउन र रोजगारी अभिबृद्धि कसरी गर्न सकिन्छ भनेर विकसित मुलुकको अनुभवहरुलाई समेत समेटेर भिजन पेरप तयार गरिएको उनले जानकारी गराए ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा भएको ६७औं वार्षिक साधारण सभा तथा २४औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले उक्त भिजन पेपरमा निजी क्षेत्रको एकरुपताको लागि सिएनआई लगायतका अरु संस्थाहरुसंग समेत छलफल भईरहेको जानकारी गराए । आफ्नो नेतृत्वको नेपाल उद्योग बाणिज्य महासंघमा निजी क्षेत्रको समस्या भोगेको र बुझेको टिम रहेकाले समस्या समाधान कसरी गर्न सकिन्छ र लगानी कसरी अभिबृद्धि गर्न सकिन्छ भनेर आफूहरु लागिपरेको जानकारी गराए ।
महासंघका अध्यक्ष गोल्छाले निजी क्षेत्रका व्यबसायिक संस्थाहरु बिच उक्त प्रस्तावमा सम्झौता गरेर जिल्ला नगरमा लैजाने बताउँदै त्यसले साना तथा मझौला उद्योग व्यबसायको समस्या समाधान हुने विश्वास व्यक्त गरे । त्यस्तै उहाँले महासंघले विज्ञ सहितको राहत सेल बनाउन लागिएको जानकारी गराउँदै बिशेषगरी बैंकिङ्, राजश्व, श्रमको समस्यामा परेका व्यबसायीहरुलाई राहतको काम गर्ने उल्लेख गरे ।
त्यस्तै मेलमिलाप केन्द्र बनाउन लागिएको र त्स केन्द्रले उद्योग व्यबसायमा भएका समस्या समाधानको लागि मेलमिलापको काम गर्ने र सर्बोच्च अदालतसंग समन्वय गरेर गरिने उक्त केन्द्रको निर्णयलाई मुद्धा सर्बोच्चमा गएपनि अदालतले समेत त्यसलाई हेर्ने उल्लेख गरे । उनले यस क्षेत्रमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सेजको नियमावली परिवर्तन, मोतिपूर औद्योगिक क्षेत्र लगायतका कारण यस क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने र रोजगारीको समेत सम्भावना प्रसस्त रहेको औंल्याए ।









