• २०८१ बैशाख २२ शनिबार

‘दिगो विकास र समृद्धिको लागि भू–विज्ञान’ भन्ने नाराका साथ अन्तरराष्ट्रिय सम्मेलन

kharibot

फाइल तस्वीर

काठमाडौँ । हिमालय क्षेत्रमा गरिएका पछिल्ला अध्ययन, अनुसन्धान एवं प्रयोग बारे जानकारी दिन तथा प्राप्त ज्ञानको आदानप्रदान गर्न आजदेखि यहाँ अन्तरराष्ट्रिय सम्मेलन शुरुआत भएको छ ।

नेपाल भौगर्भिक समाजद्वारा आयोजित सो १०औँ सम्मेलनको नारा ‘दिगो विकास र समृद्धिको लागि भू–विज्ञान’ भन्ने रहेको छ । सम्मेलनको शुभारम्भ समारोहमा सरोकारवाला व्यक्तिले यस प्रकारका सम्मेलनबाट यस क्षेत्रमा गरिने विकास निर्माणका कार्यमा भूगर्भ विज्ञानको उपयोग, राष्ट्रको समृद्धिका लागि खानी तथा खनिजको दिगो सदुपयोगमा जोड दिनुपर्ने बताए । साथै उनीहरुले प्राकृतिक प्रकोप घटाउने, वातावरण विनाश रोकथाम, जलवायु परिवर्तन तथा भूकम्पीय प्रकोपका असर कम गर्ने सन्दर्भमा समेत सम्मलेनका निष्कर्षले मार्ग निर्देशन हुनेमा जोड दिए ।  

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकको समृद्धिका लागि मात्र नभई विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागिसमेत भौगर्भिक ज्ञान र अनुभवको अपरिहार्यता रहेकामा जोड दिए । उनले वर्षेनी प्राकृतिक विपद् भोग्नुपर्ने नेपाल जस्तो भौगोलिक अवस्था रहेका मुलुकका लागि भौगर्भिक क्षेत्रका नवीतनम् अनुभव महत्व अपरिहार्य भए पनि यस क्षेत्रले आवश्यकता अनुसार प्राथमिकता पर्न नसकेको उल्लेख गरे ।

मन्त्री भट्टले सम्मेलनका निष्कर्ष मुलुकको विकासका योजना निर्माणमा लाभदायी हुने र सरकारले त्यस्ता ज्ञान र अनुभवलाई प्राथमिकताका साथ उपयोग गर्नेमा समेत जोड दिए । 

उद्योग राज्यमन्त्री विमला विकले नेपालमा भूकम्पपछि पूर्वाधारका संरचना बनाउँदा सुरक्षामा बढी ध्यान दिन थालिएको उल्लेख गर्दै त्यसका लागि यस्ता सम्मेलन र अनुभव आदानप्रदानको महत्व बढेको धारणा व्यक्त गरे । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पूर्वाधार व्यवस्थित गर्नुपर्ने बताउँदै उनले यसमा भौगर्भिक क्षेत्रका नयाँ अनुसन्धान र सुझावको खाँचो रहेको औंल्याए ।

सम्मेलनमा नेपाललगायत संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, न्यूजिल्याण्ड, जापान, पोल्याण्ड, भारत पाकिस्तान, बङ्गलादेश, म्यान्माका वैज्ञानिक, अनुसन्धानकर्ता र सरकारी अधिकारीसमेत भाग लिने वा कार्यपत्र प्रस्तुत गर्नुहुने आयोजनले जनाएको छ ।

सम्मेलनमा विशेषतः खानीजन्य पदार्थको पहिचान र उत्खनन्, पूर्वाधार विकासमा इञ्जिनीयरिङ भौगर्भिक, प्रकोप व्यवस्थापन र विपद् जोखिम न्यूनीकरण, भूमिगत जल र जलस्रोत, कोभिड–१९ र यसको असर, भूगर्भ विज्ञानको उपयोग गर्ने नेपाल सरकारका नीति र कार्यक्रम, भूकम्प र भूकम्पीय जोखिम लगायत विषयमा ७० भन्दाबढी कार्यपत्र पेश हुनुका साथै वैज्ञानिकबीच अनुभवको आदानप्रदान हुनेछ ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक पूर्वाधारका संरचना निर्माणमा भूगर्भविद् र भौगर्भिक ज्ञानको महत्वपूर्ण योगदान आवश्यक रहेको बताउँदै भूईन्जिनियरिङ बिना दिगो पूर्वाधार विकास नहुने उल्लेख गरे । 

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले मुलुकको कूल गार्हस्थ उत्पादनमा खानी र खनिजको योगदान न्यून भएको तथ्याङ्क उल्लेख गर्दै यस क्षेत्रका नवीनतम अनुसन्धानको सहयोगले दिगो उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । 

जल तथा ऊर्जा आयोगका सचिव सागरकुमार राईले योजना तहमा भूगर्भविद्को उपस्थितिले मात्र विकासका पूर्वाधार दिगो हुने धारणा व्यक्त गर्दै सम्मेलनमा पानीदेखि खानी र सुरुङलगायत विकास निर्माणका विषयबारे छलफल हुने अपेक्षा गरे । 

विसं २०३७ मा स्थापना भएको समाज नेपालका सम्पूर्ण भूगर्भविद्को वैज्ञानिक पेशागत समाज हो । समाजले नेपाली भूगर्भविद्को भौगर्भिक ज्ञानको विकास गर्न र विश्वमा भएका भौगर्भिक अध्ययन अनुसन्धानबारे विचारविमर्श गर्न प्रत्येक तीन वर्षमा नेपाल भौगर्भिक सम्मेलनको आयोजना गर्दै आएको छ । यस बाहेक समाजले समयसमयमा अन्य राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका सेमिनार, सम्मेलन तथा कार्यशाला आयोजना गर्दै आएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै