• २०८१ बैशाख २४ सोमबार

पाँचथरको फिदिममा नयाँ शहर आयोजना : जग्गा एकीकरणको काम पूरा

kharibot

फाइल तस्वीर

पाँचथर । नयाँ शहर आयोजना अन्तर्गत पाँचथरको फिदिममा जग्गा एकीकरणको काम पूरा भएको छ ।

आधुनिक बस्ती विकास गर्ने उद्देश्यसहित थालिएको जग्गा एकीकरणको काम पाँच वर्षपछि पूरा भएको हो । एकीकरण पूरा भएपछि सो जग्गा जग्गाधनीलाई फिर्ता गर्ने तयारी थालिएको छ । जग्गा एकीकरण आयोजना अन्तर्गत जमीनलाई आधुनिक बस्ती बसाल्न उपयुक्त बनाइएको हो । 

फिदिम नगरपालिका–२ नेपालटारमा स्थानीयवासीको ९९ रोपनी जग्गामा बस्ती बसाल्न उपयुक्त चौकोष र मोहडा निर्माण, सडक निर्माण, चौर तथा पार्कका लागि आवश्यक जग्गा व्यवस्थापन, सरकारी कार्यालयका लागि जग्गा व्यवस्थापनलगायत कार्य सम्पन्न भएको छ । आधुनिक बस्तीका लागि विकसित भएको उक्त जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गर्ने कार्य आगामी साताबाट शुरु हुन लागेको नयाँ शहर आयोजना कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले जानकारी दिए ।

नयाँ शहर आयोजना कार्यालय फिदिमले नेपालटार क्षेत्रमा बस्ती विकास गर्ने उद्देश्यसहित २०७२ सालबाट जग्गा एकीकरणको कार्य थालेको थियो । स्थानीयवासीको १०० कित्तामा रहेको ९९ रोपनी जग्गालाई एकीकरण गर्न अधिग्रहण गरी विकसित तुल्याइएको हो । 

विसं २०७६ माघ १३ गतेको मन्त्रिपरिषद्को बैठकले जग्गा एकीकरणका लागि यहाँको १२३.३४ रोपनी जग्गा, जग्गा प्राप्ति ऐन २०३४ बमोजिम अधिग्रहण गर्न स्वीकृति दिएको थियो । एकीकरणपछि उक्त जग्गा १२९ वटा कित्तामा विभाजन भएको छ । आयोजना अन्तर्गत घर निर्माणका लागि उपयुक्त चौकोष र मोहडासहितका घडेरी बनाइएको छ । ग्राभेल गरिएको बाटोले सबै कित्ता एवं घडेरीहरुलाई समेटेको छ भने तीन स्थानमा खुला चौर राखिएको छ । 

यहाँका ७२ जना जग्गाधनीले आफ्नो कूल जग्गाको १० प्रतिशत ‘सेवा प्लट’का रुपमा आयोजनालाई दिई जग्गा एकीकरण आयोजनामा सामेल भएका थिए । उक्त १० प्रतिशत सेवा प्लटको जग्गा अब सरकारी कार्यालयहरु निर्माणका लागि प्रयोग हुने आयोजना कार्यालयका प्रमुख प्रजापतिले जानकारी दिए । “सरकारी कार्यालय स्थापनापछि सेवाग्राहीको चाप र मानवीय चहलपहलले यहाँको जग्गाको मूल्य वृद्धि तथा बस्ती विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ”, प्रजापतिले भने, “यहाँ अहिले कम्तीमा तीनवटा सरकारी कार्यालयका भवन निर्माण गर्ने योजना बनाइएको छ ।” 

जग्गा एकीकरण आयोजनाअन्तर्गत व्यवस्थित शहरीकरणको जग बसाल्ने सरकारी लक्ष्यअनुसार हालसम्म रु दुई करोड ५० लाखभन्दा बढी बजेट खर्च भइसकेको छ । जग्गा एकीकरण उपभोक्ता समितिका सदस्य विजयहाङ आङ्देम्बे एकीकृत जग्गामा संरचना निर्माण गर्न उपभोक्ता आतुर रहेको बताउछन् । 

जग्गा एकीकरणको काम सम्पन्न गर्न ढिलाइ हुँदा उपभोक्ताहरुले संरचना निर्माण गर्न नपाएको बताउँदै उनले चाँडो उक्त कार्य पूरा गरी जग्गा जग्गाधनीलाई फिर्ता गरिनुपर्ने बताए । आधुनिक बस्तीको अवधारणा अनुसारकै कार्य हुनुपर्नेमा जोड दिँदै उनले सडक कालोपत्र, विद्युत विस्तार, फनपार्क, पदमार्ग तथा चौरी व्यवस्थापनमा सरकारले थप लगानी गर्नुपर्ने बताए । 

सेवा तथा औद्योगिक क्षेत्रहरुको विकास एवं प्रवद्र्धन गरी तराई तथा कृषियोग्य क्षेत्रमा हुने बसाइँसराइलाई कम गर्दै लैजाने नीतिअनुसार पुष्पलाल (मध्यपहाडी) राजमार्ग आसपासका १० शहरमध्ये फिदिमलाई समेत नयाँ शहरका रुपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माणका कार्य भइरहेका छन् । आधुनिक बस्ती विकास गरी पहाडबाट तराईतर्फ बढ्दो बसाइँसराइ रोक्न आयोजना सफल हुने स्थानीयवासीको अपेक्षा छ । शहर निर्माणसँगै यस क्षेत्रका सांस्कृतिक, धार्मिक र ऐतिहासिक क्षेत्रहरुको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार निर्माण भइरहेको छ । 

यस्तै फिदिम बजार क्षेत्रको सडक कालोपत्र, ल्यान्डफिल्ड साइट निर्माण, फिदिम रङ्गशाला निर्माण, गणेशमानसिंह पार्क निर्माण जस्ता कार्यसमेत अगाडि बढाइएको आयोजना कार्यालयले जनाएको छ । आयोजना अन्तर्गत नै पल्लोटर, सिन्धुपौवा, तीनमौले, ठाडे, तालखर्क, मेची राजमार्ग, माथिल्लो गाउँ, कञ्चनजङ्घा चियाबगान, कात्तिके, दुमा, साभ्राङ, चिलाउनेडाँडा, भदौरे, जोरसाल हुँदै पुनः पल्लोटार जोड्ने करीब २५ किलोमिटरको चक्रपथ निर्माणको काम समेत अगाडि बढाइएको छ । पर्याप्त बजेटको अभावमा पूर्वाधार निर्माणका कार्यहरु प्रभावकारी रुपमा अगाडि बढाउन नसकिएको आयोजना कार्यालयका प्रमुख प्रजापतिको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै