• २०८१ बैशाख २४ सोमबार

सुरक्षित गर्भपतनसम्बन्धी तालिम सम्पन्न 

kharibot

फाइल तस्वीर

डोटी । डोटी जिल्लामा गर्भपतन गर्नेको सङ्ख्या महिनैपिच्छे बढ्दै गएको पाइएपछि यहाँका किशोरकिशोरीका लागि सुरक्षित गर्भपतनसम्बन्धी तालिम आयोजना गरिएको छ ।

जिल्लामा लामो समयदेखि काम गर्दै आएको गैरसरकारी संस्था सामुदायिक विकास मञ्च (सिडिएफ)ले उक्त तालिमको आयोजना गरेको हो ।

‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य महिलाको मौलिक’ अधिकार हो भन्ने मूलमन्त्रका साथ किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र सुरक्षित गर्भपतन सेवासम्बन्धी शिक्षकलाई तीनदिने तालिम शुरु गरिएको सो संस्थाका अध्यक्ष खड्कराज शर्माले जानकारी दिएका छन् ।

उमेर नपुग्दै विवाह गर्ने चलनका कारण यहाँका किशोरीले सानैमा बच्चा जन्माउने तथा अकालमै ज्यान गुमाउनु परेको जटिल समस्या रहँदै आएको सिडिएफका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले बताए ।

उनले भने , “जिल्लामा सानै उमेरमा विवाह गर्ने चलन अझै कायमै छ, जसले गर्दा यहाँका किशोरीको अकालैमा ज्यान जाने गरेको छ ।”

किशोरकिशोरीलाई लक्षित गरी आयोजना गरिएको उक्त तालिमले बालविवाह गर्नाले पर्ने विभिन्न प्रकारका नकारात्मक असरका बारेमा सचेतीकरणका लागि सहज हुने लक्ष्य लिइएको छ ।

सानै उमेरमा नै गर्भवती हुनुपर्ने र यसबाट विभिन्न जटिलता भोग्नुपर्ने, उचित शिक्षा तथा आवश्यक सीप सिक्ने तथा वृत्ति विकासका अवसर गुम्नेलगायत समस्या हुने गरेको परिवार नियोजन सङ्घका प्रमुख चेतराज फुलाराले जानकारी दिएका छन् । 

सकेसम्म किशोरावस्थामा विवाह गर्नु राम्रो होइन र यदि विवाह भएमा पनि उमेर नपुगी बच्चा जन्माउनु राम्रो नभएको उनको भनाइ छ ।

दम्पतीले आफूलाई उपयुक्त हुने परिवार नियोजनका उपाय अपनाउनुपर्ने स्वास्थ्यकर्मीको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै