• २०८१ बैशाख २३ आइतबार

सीमा क्षेत्र छाङ्ग्रु गाउँका एक्ला चौकीदार

kharibot

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्ग्रुका ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौकीदार हुनुहुन्छ । तीन हजार २०० मिटर उचाइमा रहेको छाङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो । यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ । 

अत्यधिक चिसो हुने गरेका कारण यहाँका नागरिक छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यास उक्लिने गर्छन् । अहिले चिसो समय भएका कारण यहाँका नागरिक गत मङ्सिर महिनामा आफ्ना पशुचौपाया र लालाबालासहित सदरमुकाम खलङ्गा झरेका छन् तर ऐतवाल चिसोको समयमा पनि गाउँको चौकीदारी गर्दै बसे ।

व्यासको छाङ्ग्रुमा यसपटक चिसो माइनस १६ डिग्रीसम्म झर्यो तर चौकीदार ऐतवालले यो चिसोलाई सहजै छले । छाङ्ग्रुमा १२० घरधुरीको बसोबास छ । गाउँका सबै सदरमुकाम झरेपछि उनलाई वडा नं १ को कार्यालयले चौकीदार राखेको हो । 

गाउँको निगरानी गर्ने, चोरी भए खबर गर्ने उहाँको जिम्मेवारी हो । ऐतलाल भन्छन्, “चोर, तस्करसँग लड्न त कहाँ सकिन्छ तर निगरानी गर्छु । विगतमा भारतसँग खुला सीमा तथा तस्करी चल्ने समय हुँदा चौकीदार बस्नुपथ्र्यो । त्यो बेला गाउँमा आएर आगलागी गरिदिने, धन सम्पत्ति चोरीदिने खतरा हुन्थ्यो”, उनले भने, “तर अहिले त्यो अवस्था छैन ।” 

दुई वर्षदेखि चौकीदार बस्दै आउनुभएका ऐतवाललाई यसपटक सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म र नेपाल प्रहरीसमेत छाङ्ग्रुमै बसेपछि सहज भयो । “विगतमा गाउँभरि एक्लै हुन्थेँ तर यस वर्ष पहिलोपटक सरकारले दुईवटा सुरक्षा निकायलाई बाह्रैमास छाङ्ग्रुमै राखेपछि चौकीदारीमा सजिलो भयो”, उनले भने, “यस वर्ष विगतको भन्दा हिउँ पनि कम पर्यो । गाउँको वरिपरि दैनिक दुई-चारपटक फन्को लगाउँछु”, ऐतवालले दिनचर्या सुनाए । उनका अनुसार पूरै गाउँ घुम्न १० मिनेट लाग्छ । बिहान, दिउँसो र रातिको समयमा सबैको घरघर पुगेर अवस्था हेर्नुपर्छ ।

दिउँसो घाम लाग्छ । यसपटक उहाँले आफ्ना पशुचौपाया पनि सँगै राखेका छन् । पशुचौपायालाई जङ्गल पठाउनेदेखि खेतबारीमा काम गरेर उनको समय बित्ने गर्छ । एक्लै बस्न डर लाग्दैन भन्ने प्रश्नमा ऐतवाल भन्छन्, “यस्तो कैलाश भूमिमा के को डर ?” ऐतवाललाई वडा कार्यालयले मासिक रु १० हजार दिने गरी चौकीदार राखेको हो । गाउँको सुरक्षा पनि हुने, रोजगारी पनि सिर्जना हुने भएपछि पाँच-छ महिनाका लागि चौकीदार राखिएको वडाध्यक्ष अशोकसिंह बोहरा बताउछन् । हामीले पहिले पनि स्थानीय तह नहुँदा चौकीदार राख्थ्यौँ ।

व्यासका स्थानीयवासी वैशाख दोस्रो सातादेखि व्यासको छाङ्ग्रु र तिङ्कर उक्लिने तयारीमा छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय