• २०८१ जेठ ४ शुक्रबार

द्रूतमार्ग सडक आयोजना सम्बन्धी लेख–रचना समेटिएको जर्नल प्रकाशित

kharibot

काठमाडौँ । नेपाली सेनाले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजना सम्बन्धी लेख–रचनाको संग्रह (केटिएफटी जर्नल) प्रकाशन गरेको छ ।

राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुग्ने राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेको द्रुतमार्ग सडक आयोजनाको वस्तुस्थिति तथा गतिविधि समेटिएको उक्त जर्नलको आज प्रधानसेनापति पूर्णचन्द्र थापाले सार्वजनिक गरे । 

जर्नलमा सैनिक तथा गैरसैनिक व्यक्तिका कूल २० लेख समेटिएका छन् । त्यसमा ११ अनुसन्धानमूलक र नौ जानकारीमूलक रचना संग्रिहित छन् । कार्यक्रममा प्रधानसेनापति थापाले उत्कृष्ट तीन लेख–रचनाका लेखकलाई पुरस्कार प्रदान गरेका थिए । पदमकुमार आङ्बो, अनन्तसिंह भाट र गौरव भट्टराईका लेख क्रमशः प्रथम, दोस्रो र तृतीय भएका थिए । यस्तै विभिन्न अनुसन्धानात्मक तथा जानकारीमूलक लेख उपलब्ध गराउने लेखकलाई पनि प्रधानसेनापतिले कदरपत्रद्वारा सम्मान गरेका थिए । 

कार्यक्रममा द्रुतमार्ग आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले देशको राजधानी काठमाडौँ र तराई/मधेस जोड्ने देशकै पहिलो द्रूतमार्ग आयोजनाको बहुआयामिक महत्व र यसका विविध पाटाका सम्बन्धमा अध्ययन, अनुसन्धान गरी लेख रचना प्रकाशन गरिएको बताए ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको द्रुतमार्गको निर्माण कार्यको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सार्थक बनाउन मुलुकको रक्षा तथा विकास निर्माणमा नेपाली सेनाले आफूलाई उभ्याउँदै आएको छ । 

सरकारले २०७४ सालमा राष्ट्रिय विकासमा महत्वपूर्ण योगदान पुग्ने राष्ट्रिय गौरव एंव रणनीतिक महत्व बोकेको द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । कूल ७२.५ किलोमिटर लम्बाइको यस आयोजनाको भौतिक प्रगति १२.९ र वित्तीय प्रगति ९.५२ प्रतिशत रहेको सेनाले जनाएको छ । विभिन्न ११ क्लष्टरमा विभाजन गरी सेनाले द्रूतमार्ग निर्माणको काम गर्दै आइरहेको छ ।

आयोजनामा १०.५९ किलोमिटर पुल र ६.४९ किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने हुन्छ । आव २०८०÷८१ मा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै