काठमाडौँ । अमेरिकाको सिलिकन भ्यालीमा तीन दशक बताएका दक्षिण भारतका श्रीधर र उनका भाई हाल तामिलनाडुको एक गाउँबाट आफ्नो कम्पनि चलाएको विषय अहिले चर्चामा रहेको छ ।
१९९६ मा सिलिकन भ्यालीमा क्लाउडमा आधारित सफ्टवेयर कम्पनि जोहो स्थापित गरेका श्रीधर दाजुभाईले हाल यो कम्पनि तामिलनाडुको एक अविकसित गाउँबाट संचालन गरिरहेका छन् ।
फोर्ब्सका अनुसार श्रीधर दाजुभाईको अहिले पनि १.५ बिलियन डलरको सम्पत्ति रहेको छ ।
अहिले पनि करिब १० हजार कर्मचारीले काम गर्ने यो कम्पनि उनले चेन्नई भन्दा करिब ६ सय किलोमिटर दक्षिणमा स्थित तेनकाशी जिल्लाको दुर्गम गाउँमा बसेर चलाइरहेका छन् ।
लगभग २ हजारको हाराहारीमा जनसंख्या रहेको गाउँ कच्ची सडक, खानेपानीको अभाव, ढलको व्यवस्था नरहेको गाउँ साथै पटक पटक विजुली बत्ति गइरहने गाउँबाट आफ्नो अर्ब डलरको कम्पनि चलाइरहेका छन् भन्दा अपत्यारिलो लाग्दछ । यँहा सम्मकी उनी विजुलीको लागि डिजेलबाट चल्ने जेनरेटरको सहयोग लिने गर्दछन ।
यस्तो गाउँबाट उनले कसरी आफ्नो कम्पनि चलाएका छन् भन्ने प्रश्नले अचम्मित भएपनि उच्च गतिको इन्टरनेट उपलब्ध रहेकाले उनलाई अफिसको काम गर्न कुनै समस्या रहेको छैन । उनी भन्छन्- 'मसँग अफिसको त्यो मात्र काम आउछ जो नीतिगत रुपमा निर्णय गर्नुपर्छ, अन्य काम सबै सिलिकन भ्यालीस्थित अफिसमा रहेको टिमले गर्दछ । एक टिम छ जसले सिधै मलाई रिपोर्ट गर्दछ । म प्रोग्रामर्सहरुसँग काम गर्छु । केहि ठुला टेक प्रोजेक्टहरुमा कम गर्छु । यस सफ्टवेयर टिममा विश्वका कुना कुनाबाट इन्जिनियरहरुले काम गर्ने गर्दछन् ।'
दुई बेडरुमको सामान्य फार्म हाउसमा बस्ने श्रीधरसँग कुनै कार समेत छैन । उनी इलेक्ट्रिक अटो रिक्शा या साइकलको प्रयोग गर्दछन् । उनको घरमा एसी समेत छैन । उनी प्राय गाउँको स्थानीय चिया पसलमा जान्छन् र स्थानीयसँग भेटघाट गर्छन ।
उनी भन्छन- मैले यँहा आफ्नो जीवन भरपुर रुपमा जिउदै छु । मैले यँहा कैयौं स्थानीयहरुलाई चिनेको छु । नजिकका गाउँका व्यक्तिहरुसँग पनि चिनजान बढाउदै छु ।'

आमरुपमा गाउँमा जिन्स र टिसर्टमा घुम्ने श्रीधर धोति समेत लगाएर घुम्ने गरेका छन् ।
उनको बारेमा हुने मिडिया कभरेजका कारण धेरै जसो स्थानीयहरुले उनलाई चिन्छन् । उनले आफुलाई सेलिब्रेटी भने नभएको बताउछन् । बिबिसीसँग कुरा गर्दै श्रीधरले आफु बसेको गाउँको नाम भने प्रकाशित नगर्ने शर्त राखेका थिए ।
कोरोना महामारीका कारण पछिल्लो एक बर्षदेखि 'वर्क फ्रम होम' को अवधारणा आएपनि श्रीधरले भने धेरै अगाडी देखि नै यहि अवधारणामा काम गरिरहेका छन् । त्यसैले कोरोना महामारीका कारण उनलाई कुनै नयाँ सिस्टम बनाउनै नपरेको उनी बताउछन् । जोहोको अहिले विश्वभर ३० सेटेलाइट कार्यालय रहेको उनी बताउछन् ।
श्रीधर अब कोरोना महामारी पछि अमेरिकास्थित कार्यालयमा जाने सोच भएपनि स्थायी रुपमा अमेरिका फर्किने सोच भने नभएको बताउछन् ।
गत जनवरीमा उनलाई भारत सरकारले चौथो सर्वोच्च नागरिक सम्मान पद्म श्रीले सम्मानित गरेको थियो । साथै उनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डमा समेत नियुक्त गरिएको छ । उनको भूमिका देशको आर्थिक र सुरक्षाजन्य विषयमा महत्वपूर्ण वैज्ञानिक तरिकाको अनुसन्धान गर्ने रहेको छ ।









