काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेको छ ।
एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय सभा सदस्यका लागि मापदण्ड तय गरेको हो । बैठकले प्रदेश कमिटिहरुलाई तोकिएको मापदण्ड अनुसार माघ ५ गते भित्रै नाम सिफारिस गर्न निर्देशन दिएको छ । साथै बैठकले एकल संक्रमणिय मतको तालिम प्रदान गर्नपनि प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।
उम्मेदवार छनौटमा एमालेले तय गरेका मापदण्डहरु :
१. संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका ।
२. पार्टीमा लामो योगदान गरेका ।
३. पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका ।
४. भौगोलिक र सामाजिक सन्तुलन ।
५. स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका ।
६ . विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु ।