• २०८१ जेठ ४ शुक्रबार

पूर्व प्रधानमन्त्री आचार्य र पूर्वमुख्यसचिव थापाको शालिक शिलान्यास

kharibot

तस्वीर : रासस

काठमाडौँ । पूर्व प्रधानमन्त्री स्व टङ्कप्रसाद आचार्य र पूर्व मुख्यसचिव स्व चन्द्रबहादुर थापाको शालिक शिलान्यास गरिएको छ ।

निर्माणाधीन निजामती स्मारकमा तत्कालीन समयमा पहिलो पटक निजामती सेवा ऐन जारी गर्न नेतृत्व लिएका उनीहरुको शालिक बन्न लागेको हो । सो ऐन विसं २०१३ भदौ २२ गते जारी भएको थियो । 

मुख्यसचिव शङ्करदास वैरागीले गोकर्णेश्वर नगरपालिका वडा नं. ४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निर्माणधीन निजामती स्मारक क्षेत्रमा आज आयोजित कार्यक्रममा शिलान्यास गरेका हुन् । अगामी एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए । 

सो अवसरमा मुख्यसचिव वैरागीले चालु आर्थिक वर्षभित्र दुवै शालिक निर्माण सकिने गरी काम गर्न निर्देशन दिए । राष्ट्रिय शहीद तथा शान्ति पार्क, निजामती (स्मारक) निर्माणको कार्ययोजना स्वीकृतिको बेलामै मन्त्रिपरिषद्ले कर्मचारीले पदभार ग्रहण गर्नुअघि स्मारकमा माल्यार्पण गर्ने व्यवस्था अर्को वर्षदेखि कार्यान्वयनमा ल्याइने उहाँले जानकारी दिए । 

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान सचिव सुरेश आचार्यले स्मारक क्षेत्रमा निर्माण हुन लागेको युनेस्को ग्रामको अवधारणाले धेरै विषयलाई जोड्ने बताए । वन मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले सामुदायिक वनमा स्मारक निर्माण गरेर पनि वन संरक्षण गर्न सकिन्छ भन्ने उदाहरण जगडोल सामुदायिक वनले प्रस्तुत गरेको जानकारी दिए ।

कार्यक्रममा पूर्व मुख्यसचिव थापाका आफन्त डा पार्थिवेश्वर तिमल्सिना, समितिका अध्यक्ष सिग्देल लगायतका वक्ताले निजामती इतिहासमा महत्वपूर्ण काम गरेका दुई व्यक्तित्वको शालिक निर्माणले भावी पुस्तालाई सकारात्मक सन्देश प्रवाह गर्ने बताए । चालु आर्थिक वर्षमै शालिक निर्माण सम्पन्न गरी अर्को वर्षदेखि निजामती सेवा दिवसको मूल कार्यक्रम स्मारक स्थलमै गर्ने लक्ष्य राखिएको जानकारी गराइएको थियो । 

सो अवसरमा स्मारक निर्माण स्थलमा धुपी, कपुर, अमला लगायत जातका ५० बिरुवा पनि रोपिएको थियो । कार्यक्रममा पूर्व मुख्यसचिव थापाले ९० वर्षअघि लेखेका पुस्तक ‘छोटो रामायण’ को दोस्रो संस्करण विमोचन गरेका थिए । विद्यालय तहका विद्यार्थीलाई रामायणका मुख्य कुरा बुझ्न सजिलो होस् भनी थापाले यो पुस्तक लेख्नुभएको उनका नातिनी विद्या थापा भण्डारीले जानकारी दिइन् ।

स्मारकको काम अझै बाँकी 

विसं २०६८ देखि निर्माण शुरु भएको स्मारकको काम अझै सकिएको छैन । गोकर्णमा राष्ट्रिय शहीद स्मारकसँगै निजामती स्मारक निर्माण भइरहेको छ । असी प्रतिशत भौतिक प्रगति भएर काम अलपत्र भएको समितिका अध्यक्ष सिग्देलले जानकारी दिए ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत निर्माण सुरु भएको आयोजना मन्त्रालय खारेजीसँगै हाल शहरी विकास मन्त्रालय मार्फत सञ्चालनमा छ । शहरी विकास तथा भवन निर्माण विभागले जिम्मा लिएको चार वर्ष पूरा भएपनि काममा प्रगति हुन सकेको छैन । डाँफे–गौरी–पर्वत–सुनौला–खिम्ती जेभीले स्मारक निर्माण ठेक्का पाएको छ । पछिल्लो समय विभागले पनि ध्यान नदिँदा कामममा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ ।

विभागबाट आयोजना प्रमुखका रुपमा काम गरिरहेका वरिष्ठ डिभीजनल इञ्जिनीयर मचाकाजी महर्जन अब पनि काम नगर्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने गरी तयारी भइसकेको बताउछन् । चालु आर्थिक वर्षभित्रमा अलपत्र रहेका आयोजनाका सबै काम सम्पन्न गरी स्मारक सञ्चालन हुने उनको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै