• २०८१ जेठ ५ शनिबार

जर्मन राजदूत र युनेस्को टोलीद्वारा भक्तपुर अवलोकन

kharibot

तस्वीर : रासस

भक्तपुर । नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्ज र नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोप्टसहितको टोलीले आज विश्व सम्पदामा सूचीकृत भक्तपुरका सम्पदाहरुको अवलोकन गरेका छन् । 

टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभयो । टोलीले भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला सङ्ग्रहालय, पच्चपन्ने झ्याले दरबार, तलेजु मन्दिर परिसर, टौमढी अवस्थित पाँचतले मन्दिर, दत्तात्रय क्षेत्रलगायतको स्थलगत अवलोकन गरेको थियो । नगरप्रमुख प्रजापतिले उक्त टोलीलाई नगरपालिका र नगरवासीको तर्फबाट स्वागत गर्दै सांस्कृतिक सहर भक्तपुरको पहिचान र विशेषताबारे जानकारी गराए ।

त्यसअघि भक्तपुर नगरपालिकाको कार्यालयमा राजदूतसहितको टोली र नगरप्रमुख प्रजापतिबीच भएको छलफलमा टोलीले नगरपालिकाले हालसम्म शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइ लगायतका क्षेत्रमा गरिरहेको कार्यहरूबारे चासो राखेको थियो ।

त्यसक्रममा भक्तपुर नगरको सरसफाइ, सडक निर्माण, ढल निकास व्यवस्थापनलगायतमा जर्मन सरकारले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्दै प्रमुख प्रजापतिले भूकम्पबाट भत्किएका सम्पदा पुनःनिर्माणका लागि जर्मन सरकारबाट सहयोग प्रस्ताव भएको तर प्राविधिक कारणले उक्त सहयोग ग्रहण गर्न नसकिएको बताउनुभयो । उहाँले भक्तपुर नपाले जनताको आर्थिक सहयोग, जनश्रमदानबाट १०८ भन्दा बढी भूकम्पले क्षति पु¥याएका सम्पदाहरू पुनःनिर्माण तथा जीर्णोद्धार गरिसकेको जानकारी गराए ।

उनले भक्तपुर दरबार क्षेत्रमा अवस्थित पच्चपन्न झ्याल दरबारसँगै जोडिएको सिंहध्वाका दरबार (हाल राष्ट्रिय कला सङ्ग्रहालय) रहेको लाल बैठकसहितको भवन पुनःनिर्माण कार्य मल्लकालीन शैलीमै गर्न युनेस्कोको प्रधान कार्यालय पेरिसमा अनुमतिका लागि पुरातत्व विभाग मार्फत अनुरोध गरी पठाएकोमा विभिन्न कानुनी र प्राविधिक समस्याका कारण हालसम्म अनुमति प्राप्त नहुँदा उक्त भवन संरक्षण गर्न नसकिरहेको जानकारी गराए ।

भक्तपुरलाई शैक्षिक गन्तव्यस्थलको रुपमा परिचित गर्न भक्तपुर नगरपालिकाले शैक्षिक क्षेत्रमा पु¥याइरहेको योगदानबारे चर्चा गर्दै उनले एक घर एक स्नातकको नारालाई सार्थक बनाउँदै शिशुस्याहार सञ्चालनदेखि विश्वविद्यालय सञ्चालन गर्न आवश्यक पहल भइरहेको बताए ।

नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जले नेपालको विकासमा जर्मन सरकारको निरन्तर सहयोग रहने भन्दै नेपाल—जर्मनबीचको जनस्तरसम्म फैलिएको सम्बन्धलाई अझ विस्तार गर्न आगामी दिनहरूमा पनि सहयोग गर्न तत्पर रहेको बताए । भक्तपुरका सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरूको आफ्नै विशेषता रहेको बताउँदै यसको संरक्षण र सम्बद्र्धनले नगरको सुन्दरतालाई पृथक पहिचान दिने उनले बताए ।

नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोप्टले विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूको आफ्नै विशेषता हुने भन्दै भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरु विभिन्न कारणबाट पुनःनिर्माण हुन नसकेकोमा पुनःनिर्माण सुचारु गर्न आवश्यक पहल र समन्वय गर्न आफू सकारात्मक रहेको बताए । उनले विश्व सम्पदामा सूचीकृत सम्पदाहरुको संरक्षण गर्दा विभिन्न संरक्षण नीति र नियम पालना गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेता पनि मुख्यतया स्थानीय नागरिकहरुको हितका लागि यसको सदुपयोग हुनुपर्नेमा जोड दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै