• २०८१ जेठ ३ बिहीबार

प्रचण्ड भन्छन्- 'अर्ली इलेक्सनको हल्ला मात्र हो'

kharibot

फाइल तस्वीर

धनुषा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्षी दलले संविधानको मर्म र भावनाविपरीत अनावश्यक रूपमा संसद् अवरुद्ध गरेको बताएका छन् ।

जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले लामो समयदेखि प्रतिपक्षी दलले संविधानको मर्म र भावना विपरीत अनावश्यक रूपमा संसद् अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि महत्वपूर्ण विधेयक अगाडि बढाइने बताए । उनले भने, “नागरिकता विधेयक लगायत महत्वपूर्ण विधेयक अध्यादेशबाट नै भए पनि अगाडि बढाउने तयारीमा छौँ ।”

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले नागरिकता विधेयक राष्ट्रिय सहमतिका आधारमा पास गर्ने चाहना रहेको बताए । उनले भने, “नागरिकता विधेयकका लागि हामी राष्ट्रिय सहमतिबाटै जान चाहन्छौँ, राष्ट्रिय सहमति नभए अध्यादेशबाटै भए पनि जान्छौँ ।”

प्रचण्डले मुलुकमा अहिले न्यायालयको क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा गठबन्धनका दलहरुले संयुक्त धारणा बनाउने प्रक्रियामा रहेको बताए । प्रचण्डले अहिले गठबन्धन सरकार रहेको र गठबन्धनमा कुनै किसिमको समस्या नरहेको सबै राम्रोसँग चलिरहेको जनाउँदै उनले भने, “न्यायालयमा समस्या देखिएकाले गठबन्धनका नेता काठमाडौँमा केन्द्रित भएर एउटा धारणा बनाउने प्रक्रियामा रहेका छौँ ।”

अध्यक्ष प्रचण्डले अहिले गठबन्धनका नेताहरु काठमाडौँभन्दा बाहिर भएकाले साझा धारणा बनाउन ढिलो भएको बताए । उनले बैठक बस्ने बित्तिक्कै गठबन्धनको धारणा आउने जनाए । प्रचण्डले अर्ली इलेक्सन नहुने दाबी गर्दै भने, “अर्ली इलेक्सनको हल्ला त्यतिकै चलेको छ, तर हुँदैन, गठबन्धनकै सरकार पूरा कार्यकाल रहन्छ ।”

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै