• २०८१ बैशाख १४ शुक्रबार

काँग्रेसको छ प्रदेशमा चुनियो नयाँ नेतृत्व: देउवा पक्ष चार र पौडेल पक्ष दुईमा विजयी

kharibot

काठमाडौँ । नेपाली काँग्रेसको ६ प्रदेशमा अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चुनिएको छ । प्रदेश २ बाहेक अन्य ६ प्रदेशमा सम्पन्न अधिवेशनले पहिलो पटक काँग्रेसको प्रदेश कार्यसमितिको चयन भएको हो ।

काँग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्यानलसहित भएको चुनावी भिडन्तमा देउवा पक्षले चार प्रदेशमा जित हासिल गरेको छ भने पौडेल पक्षले दुइ प्रदेशमा जित हासिल हरेको छ ।

देउवा पक्षले सिटौला पक्षसँग सहकार्य गरेर बागमती र प्रदेश १ मा जित हासिल गरेको छ । बागमती प्रदेशमा देउवा पक्षका इन्द्र बानियाँको जितले सभापतिको उम्मेदवारी दिन लागेका प्रकाशमान सिंहलाई झट्का लागेको रुपमा हेरिएको छ । सिंहको समर्थनमा पौडेल पक्षबाट जगदीशनरसिंह केसीले उम्मेदवारी दिएका थिए । बागमतिमा बानियाँले १०८५ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् भने केसीले ९२७ मत प्राप्त गरेका थिए ।

त्यस्तै प्रदेश १ मा देउवा-सिटौला पक्षका उद्धव थापा विजयी भएका छन् । सभापतिमा थापा ८४४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरेका थिए । थापाले २ मत अन्तरले घिमिरेलाई पराजित गरेका हुन् ।

त्यस्तै कर्णाली प्रदेशको सभापतिमा देउवा पक्षका ललितजंग शाही विजय भएका छन् । कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरेर् विजयी भए भने उनका प्रतिस्पर्धी पौडेल पक्षका भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरेर पराजित भए ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशको प्रदेश सभापतिमा देउवा पक्षका वीरबहादुर बलायर आफ्नो पुरै प्यानलसहित विजयी भएका छन् । 

बलायरले ६८८ मत प्राप्त गरेर जित हासिल गरे भने उनका निकटतम प्रतिद्वन्द्वी पौडेल पक्षका नारायणदत्त मिश्रले २८० मत प्राप्त गरेका थिए ।

त्यसैगरी काँग्रेसको पौडेल पक्षले लुम्बिनी र गण्डकी प्रदेशमा जित हासिल गरेको छ । लुम्बिनीमा अमरसिंह पुन सभापति बनेका छन् भने गण्डकीमा शुक्रराज शर्मा सभापति बनेका छन् ।

लुम्बिनीको सभापातिमा पौडेल पक्षका पुनले ८५२ मत ल्याएर देउवा पक्षका भारतकुमार शाहलाई पराजित गरेका हुन् । शाहले ७६७ मत प्राप्त गरेका थिए ।

त्यस्तै गण्डकीमा शर्माले सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार अर्जुन जोशीलाई हराएका हुन् ।  

गण्डकीमा ११४६ मत खसेकोमा शर्माले ६१२ मत ल्याएर सभापतिमा जित हासिल गरे भने जोशीले ५२८ मत ल्याएर पराजित भएका थिए ।

प्रदेश २ अधिवेशन अनिश्चित

नेपाली कांग्रेसको प्रदेश नं २ को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अन्योलमा छ । हालसम्म केन्द्रिय निर्वाचन समितिबाट सबै प्रतिनिधिको नामावली प्रदेश निर्वाचन समिति समक्ष प्राप्त नहुँदा निर्वाचन प्रक्रिया अन्योलमा परेको हो । 

प्रदेश नं २ का आठवटै जिल्लामा ३२ प्रदेश निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेस प्रदेश २ का निर्वाचन अधिकृत प्रल्हद गौतमका अनुसार प्रदेशका सात निर्वाचन क्षेत्रमा प्रदेश अधिवेशन हुन नसकेकाले प्रतिनिधिको नामावली प्राप्त हुन सकेको छैन् ।

मतदाता नामावली प्रकाशन हुन नसक्दा अन्य निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको अधिकृत गौतमले जानकारी दिए । सर्लाहीका चार, बाराको प्रदेश निर्वाचन क्षेत्र २ (ख), सप्तरीको निर्वाचन क्षेत्र नं ४ र रौतहटको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि छनोट हुन सकेको छैन ।  

प्रदेश २ को सबै जिल्लाका प्रतिनिधि छनोट भएपछि कूल मतदाता एक हजार ८८८ पुग्ने छन् । निर्वाचन हुन बाँकी रहेका जिल्लाको प्रदेश अधिवेशनमार्फत छनोट हुने प्रतिनिधिको नामवली  समावेश गरी बल्ल निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने निर्वाचन नभएका जिल्लाका नेता कार्यकर्ताको माग छ  । 

जनकपुरधाममा रामजानकी विवाहमहोत्सव प्रारम्भ भइसकेको र पार्टीको महाधिवेशनको मूलसमारोह आगामी २२ मङ्सिरमा रहेकाले प्रदेश २ को प्रदेश अधिवेशन महाधिवेशनपछि नै धकेलिने अनुमान गरिएको छ ।

यस अगावै प्रदेश सभापतिका लागि रौतहटका कृष्णा यादव र प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै