• २०८१ बैशाख १४ शुक्रबार

ए डिभिजन लिगः जावलाखेलको लगातार तेस्रो हार, मछिन्द्र दोस्रो स्थानमा उक्लियो

kharibot

काठमाडौं । साबिक विजेता मछिन्द्र फुटबल क्लब जावलाखेल युथ क्लबलाई २–० अन्तरलेपराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ । 

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मछिन्द्रका लागि रञ्जित धिमालले एक गोल गरे । यस्तै जावलाखेलका डिफेन्डर सिमन्त थापाले आत्मघाती गोल गरे । 


 मिडफिल्डर मनिष डाँगीले १४औं मिनेटमा दायाँतर्फ दिएको पासलाई राइट ब्याक छिरिङ गुरुङले सुन्दर क्रसमा परिणत गरेका थिए । सोही क्रसलाई क्लियर गर्ने क्रममा जावलाखेलका डिफेन्डर सिमन्तले आत्माघाति गोल गरेका थिए ।

जावलाखेलविरुद्ध हाबी बनेको मछिन्द्रले सुरुआती २२ मिनेटमै अग्रता दोब्बर पारेको थियो । खेलको २१औं मिनेटमा जावलाखेलका डिफेन्डर लोइक निज्मीले मछिन्द्रका कप्तान सुजल श्रेष्ठमाथि फाउल गरेपछि साबिक विजेताले फ्री–किक पाएको थियो ।

सोही फ्री–किकलाई मछिन्द्रका लेफ्ट ब्याक रञ्जितले गोल गरे । पेनाल्टी एरियाको दायाँ तर्फबाट ‘सेकेन्ड बार’मा प्रहार गरेको फ्री–किक सोझै गोलमा परिणत भएसँगै मछिन्द्रले महत्त्वपूर्ण तीन अंक हासिल गर्‍यो । 

निर्धारित अवधिभर जावलाखेलमाथि मछिन्द्रले निरन्तर आक्रमणको प्रयास गरे पनि अन्य मौकालाई सदुपयोग  गर्न सकेन । जावलाखेलले विरलै मछिन्द्रमाथि आक्रमणको मौका सिर्जना गर्न सक्यो ।

जावलाखेलका रूप बहादुर लामाले पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।

रञ्जितले ७०औं मिनेटमा कर्नरमार्फत दिएको क्रसमा मनिषले ६ यार्ड बक्स भित्रबाट गरेको हेडर प्रहार फ्रेममा परेन । त्यसको तीन मिनेट नबित्दै मछिन्द्रका सेन्टर ब्याक नुरेन करिमले हेडरमार्फत गरेको सशक्त प्रहार जावलाखेलका गोलकिपर टेकेन्द्र सिंह थापाले पञ्च गरेका थिए ।

जितसँगै सुरुआती तीन खेलबाट ७ अंक जोडेको मछिन्द्र अंक तालिकाको दोस्रोस्थानमा उक्लिएको छ । सातदोबाटो युथ क्लबसँग अंक र गोलअन्तरमा बराबरी भए पनि थोरै कार्डको आधारमा मछिन्द्र दोस्रो स्थानमा उक्लिएको हो ।

पहिलो खेलमा न्युरोड टिम (एनआरटी)विरुद्ध २–१ को जित निकालेको मछिन्द्रले दोस्रो खेलमा विभागीय महारथी त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेलेको थियो ।

यस्तै, पराजित जावलाखेल तेस्रो चरण सकिँदा पनि जित र अंकबिहीन रहँदै तालिकाको १३औं स्थानमा छ । पहिलो खेलमा मनाङसँग १–० को नतिजामा पराजित जावलाखेल दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग १–० ले हारेको थियो । योसँगै तेस्रोचरणका खेल सकिएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै