काठमाडौँ । एथलेटिक बिल्बाओ स्पेनिस सुपर कोपाको फाइनलमा पुगेको छ ।
गएराती साउदी अरबको रियादस्थित किङ फाहद इन्टरनेशनल स्टेडियममा सम्पन्न सेमिफाइनल खेलमा एथलेटिक बिल्बाओले एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
खेलमा खेलको ६२औं मिनेटमा आत्मघाती गोलबाट एटलेटिकोले अग्रता लिएको थियो । एथलेटिक बिल्बाओका उनै सिमोनले आत्मघाती गोल गर्दा एटलेटिकोले शुरुवाती अग्रता लिएको थियो ।
त्यसपछि एथलेटिक बिल्बाओले खेलमा कमब्याक गर्दै खेलको ७७औ र ८१औं मिनेटमा गोल गरेको थियो । एथलेटिकका लागि येरे अल्भारेज र निको विलियम्सले गोल गरेका थिए । यस खेलमा खेलको ९४औं मिनेटमा एटलेटिकोका जोसे मारिया गिमेनेजले रातो कार्ड पाएका थिए ।
योजितपछि एथलेटिक बिल्बाओ सुपरकोपाको फाइनलमा पुगेको छ । अब एथलेटिक बिल्बाओले फाइनलमा रियल म्याड्रिडको सामना गर्ने छ । एथलेटिक बिल्बाओले स्पेनिस सुपरकोपाको डिफेन्डिङ च्याम्पियन समेत हो । अब फाइनल खेल जनवरी १६ मा हुने छ ।
स्पेनिस सुपरकोपा गत सिजनको ला लिगाको विजेता र उपविजेता तथा कोपा डेल रेको विजेता र उपविजेता गरि चार टिमका बीचमा खेल्ने गरिन्छ ।
अहिलेसम्म सबैभन्दा बढी सुपरकोपाको उपाधि बार्सिलोनाले १३ पटक जितेको छ भने रियल म्याड्रिडले ११ पटक जितेको छ । त्यस्तै एथलेटिक बिल्बाओले तीन पटक यो उपाधि जितेको छ गत सिजनको स्पेनिस सुपरकोपा एथलेटिक बिल्बाओले जितेको थियो ।