काठमाडौं । आसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपाधि युएईले जितेको छ ।
आज भएको फाइनल खेलमा नेपाललाई ७ रनले पराजित गर्दै डिभिजन २ को उपाधि जितेको हो ।
युएईले दिएको २७८ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाएको छ ।
नेपालका लागि कप्तान पारस खड्काले नट आउट खेल्दै ११२ रन बनाए पनि टिमलाई जिताउन भने सकेनन् । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ३५, शरद भेसावाकरले ३०, ज्ञानेन्द्र मल्लले २४ रन बनाएका थिए ।
यस अघि युएईले नेपाललाई २७८ रनको लक्ष्य दिएको थियो । टस जितेर पहिला ब्याटिंग गरेको युएईले निधारित ५० ओभरमा ४ विकेट गुमाउदै २७७ रन बनाएको थियो ।
युएईका लागि अशफिक अहमदले ११४ रन बनाएका थिए भने रोहण मुस्तफाले ५१, शैमन अनवरले ४० रन बनाएका थिए । त्यस्तै रमीज शाहजादले नटआउट ३३ रन बनाएका थिए ।
नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी र बसन्त रेग्मीले एक एक विकेट लिएका थिए ।