• २०८१ बैशाख २० बिहीबार

बारा- हत्यामा संलग्नलाई पक्राउ माग गर्दै दोस्राे दिन पनि चक्काजाम

kharibot

बारा । जितपुरसिमरा उपमहानगरपालिका- ६ निवासी राकेशभक्त पौडेलको हत्या भएको ३३ दिन पूरा भए पनि प्रहरीले अहिलेसम्म दोषीहरू पत्ता लगाउन सकेको भन्दै बुधबारबाट लगातार राजमार्ग बन्द छ ।

लामो समयसम्म पनि दोषी पत्ता नलागेपछि आक्रोशित बनेका स्थानीयले बुधवार बिहानबाट जितपुरस्थित त्रिभुवन राजपथमा चक्काजाम गरेका छन् । हत्याको ३३ दिन बितिसक्दा पनि दोषी पत्ता नलागेको भन्दै पीडित परिवारसहित स्थानीयले जितपुरसिमरा-७ जितपुरस्थित दुर्गा मन्दिरअगाडि मुख्य सडकमा चक्काजाम गरेका हुन् ।

घटनाको सत्य तथ्य बाहिर ल्याउन र दोषी पत्ता लगाएर कडाभन्दा कडा सजायको माग गर्दै स्थानीयसहित मृतकका आफन्तहरू सडकमा उत्रिनु परेको मृतक पौडेलका माइला दाइ राजेशभक्त पौडेलले बताए ।

मृतक पौडेलको साथमा रहेको पर्स घटनाको २२ दिनपछि २० जेठ बिहान भेटिएको थियो । वडा नम्बर ६ र वडा नम्बर ३ को सिमानामा पर्ने शिव मन्दिरको अगाडि सडकको छेउमा मृतक पौडेलको पर्स बेवारिसे अवस्थामा भेटिएको थियो । पर्स भेला परेपछि घटनाको अनुसन्धानमा थप मद्दत पुगेको भए पनि प्रहरीले अहिलेसम्म हत्यामा संलग्नहरुको पहिचान गर्न सकेको छैन ।

गत २२ वैशाखमा मध्य रातमा स्थानीय चित्रबहादुर केसीको घरमा ३८ वर्षीय पौडेलको हत्या भएको थियो । पौडेलको टाउकोको पछाडिको भागमा धारिलो हतियारको प्रहारबाट गहिरो घाउ लागेको थियो । हात र शरीरको अन्य भागमा पनि चोट पटक लागेको मृतकका जेठाे दाइ केदारभक्त पौडेलले बताए । 

घटनाको ९औं दिनमा एक किशोरीलाई पक्राउ गरेर अनुसन्धान थालेको प्रहरीले उनकै बयानको आधारमा थप पाँच जनालाई पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले अन्य सात जनालाई पनि पक्राउ गरेको थियो । 

उता प्रहरीले जितपुरसिमरा उपहमानगरपालिका वडा नम्बर ६ का चित्रबहादुर खत्री, एक १६ वर्षीया किशोरी, चित्रबहादुरका भतिज वडा नम्बर ३ का खगेन्द्र थापा, उनकै ज्वाइँ सन्तोष खत्री, उद्धव अधिकारी, वडा नम्बर २ का केबी भनिने खगेन्द्र रिजाल र पछि पक्राउ पर्ने अन्यमा वडा नम्बर ६ कै युवकहरू सन्दिप थापा, सुजन लामा, मसिने मगर, सन्त बछार, सुदिप घिमिरे, राजु अधिकारी र अर्जुन चिमोरिया गरी १३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

यसअघि मृतकका परिवारले हत्या सुनियोजितढंगले भएको भन्दै निष्पक्ष अनुसन्धान गरी न्याय दिन माग गर्दै २० जेठमा त्रिभुवन राजपथमा चक्काजाम र प्रशर्दशन गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै