• २०८३ जेठ १६ शनिबार

मनोकांक्षा पूरा गर्ने दोलखा भीमसेन पुग्दा ...

मनोकांक्षा पूरा गर्ने दोलखा भीमसेन पुग्दा ...

चरीकोट । नेपालको दोलखा जिल्लामा रहेको प्रसिद्ध मन्दिर हो दोलखा भीमसेनको मन्दिर । दोलखा भीमसेनलाई मनले चिताएको पूरा गर्ने मन्दिर मानिन्छ । 

आफ्नो मनले चिताएको पुग्ने भन्दै हरेक दिन टाढा–टाढाबाट भक्तजनहरु भीमसेनको दर्शन गर्न मन्दिर जान्छन् । मनोकांक्षा पूरा गर्ने, सन्तान प्राप्त हुने, सुख, शान्ति प्राप्त हुने विश्वाससहित हप्तामा १० हजारभन्दा बढीको संख्यामा दर्शनार्थीहरु भीमेश्वर मन्दिरको दर्शन गर्न आउँछन्  । 

लाखबत्ती पुजा, रुद्रीपूजा, बलीपूजालगायतका विभिन्न थरिका पूजा गर्ने प्रचलन रहेको भीमेश्वरमा हप्ताको दुई दिन शनिबार र मंगलबार दर्शनार्थीहरुको घुइँचो लाग्छ । विशेष गरी ओखलढुङ्गा, सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र भारतबाट समेत धेरै दर्शनार्थीहरुको घुइँचो लाग्छ यहाँ । 

परापूर्वकालदेखि स्थानीय राजाले गुठी सञ्चालन गरेको कागजपत्र भेटिएको मन्दिर व्यवस्थापन संघका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । किम्वदन्तिअनुसार काठमाडौँ उपत्यकामा भन्दा पहिला नै यस ठाउँमा बस्ती बसेको उनले सुनाए । 

तिब्बत र भारतको व्यापारिक केन्द्र सुख्खाबन्दरगाहको केन्द्र मानिन्छ । त्यस्तै व्यापारीहरुको इष्टदेवको रुपमा पनि भीमेश्वर देवतालाई मानिन्छ ।

परापूर्वकालमा व्यापारीहरुले बास बसेको ठाउँमा खाना पकाउन प्रयोग गरेका तीन ढुङ्गामध्ये एक मन्दिरको ढुङ्गा रहेको र अरु ढुङ्गाको वरिपरि खाना पाकेको र बाँकी एकमा खाना काँचै भएकाले व्यापारीले रिसले पन्युले हान्दा शिर समेत उडेको किंवदन्ती रहेको छ । त्यो हालसम्म पनि देख्न सकिन्छ । हान्दा रगत र दूधको धारा बगेको र पछि हेर्दा देवता निस्केको किंवदन्ती रहेको र त्यहाँबाट पूजाआजा गर्नथालेको श्रेष्ठ बताउँछन् । 

आआफ्नो धर्म र संस्कृतिअनुसार महादेव, रुद्र, भीमसेन, भैरव, नारायणलगायत देवताको रुपमा दोलखाको भीमसेनलाई पूजा आराधना गर्ने गरिन्छ । आफूले चिताएको पूरा भएको भन्दै धेरै भक्तजनहरु दोलखा भीमसेनको दर्शन गर्न आउने उनले बताए । विशेष गरी अरु महिनाभन्दा असार र साउनको महिना र हरेक हप्ताको मंगलबार र शनिबार धेरै भक्तजनहरु भीमसेनको दर्शन गर्न आउने उनले जानकारी दिए । 

मन्दिरको सुरुवात कहिलेबाट भयो, कसले बनायो समेत जानकारी कसैलाई थाहा नभएको बताउँदै श्रेष्ठले स्थानीय चलनअनुसार पूजापाठ समेत गर्दै आइरहेको उल्लेख गरे । 

बली दिने ठाउँ व्यवस्थित भएन  
आफूले चिताएको पूरा गर्ने दोलखाको भीमेश्वर मन्दिरमा हरेक दिन धेरै भक्तजनहरु दर्शन गर्न आउँछन् । तर पशुबली दिने र पूजा गर्ने ठाउँ एउटै भएकाले दर्शन गर्न आउनेहरुलाई असहज हुने गरेको छ । बली दिने ठाउँ र मन्दिरसँगै भएकाले मन्दिर नै व्यवस्थित नभएझैँ देखिन्छ । 

विगतदेखि नै मन्दिरभित्र नै बली दिने प्रचलन रहेको कोषाध्यक्ष श्रेष्ठ बताउँछन  । उनले भूकम्पअघि केही समय मन्दिरबाहिर बली दिने गरेको र बल बाहिर दिएकाले नै भूकम्प गएको भन्दै स्थानीयले बाहिर बली दिन नमानेपछि पुनः भित्र नै बली दिन सुरु गरेको बताए । मन्दिरसँगै बली दिँदा स्थानीयले राम्रो मानेको र बाहिरबाट आउनेले विरोध गरेको श्रेष्ठ स्वीकार्छन् । तर छिटै नै मन्दिर र बली कार्यलाई व्यवस्थित गर्ने उनले बताए । 

मूर्तिमा पसिना आउँदा पिरलो : किंवदन्ती
चर्चित भीमसेनको मूर्तिमा कहिलेकाहीँ पसिना आउँछ । मूर्तिमा पसिना आए अनर्थ हुने विश्वास पहिलेदेखि नै चलिआएको कारण यहाँ भीमसेनको मूर्तिमा पसिना आउँदा राजाहरुले विशेष पूजाआजा गर्ने गरेका थिए । दोलखा भीमसेन मन्दिरमा पसिनाको इतिहास पनि लामै समयदेखिको छ । 

यहाँ वि।सं। १९९०, १९९७, २००७, २०११, २०१७, २०१८, २०३६, २०४६ र २०५७ माघ १ र २ गते पनि पसिना आएको बताइन्छ । यी सालहरूमा पसिना आएको ६ महिनाभित्र देशमा राजनैतिक, प्राकृतिक या दरवारमा नचाहेको घटना घट्ने मानिसहरुको विश्वास रहँदै आएको छ । 

लोकतन्त्रप्राप्तिपछि पनि दोलखा भीमसेनको मूर्तिमा पसिना आएको थियो । भीमसेन मूर्तिमा पसिना आउदा पसिना पुछेको कपास पहिले पहिले राजदरबार पठाउने र त्यहाबाट बलि पूजा पठाउने चलन नै थियो ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै