काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्ष पदमा दुईजनाको उम्मेदवारी परेको छ ।
संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले (राना) को उम्मेदवारी परेको छ ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताका लागि आज ११ देखि दिउँसो २ बजेसम्मको समय तोकिएको थियो । राष्ट्रियसभाको आइतबार बस्ने बैठकमा उपाध्यक्ष पदको निर्वाचन हुनेछ ।
निर्वाचनमा अध्यक्षबाहेक ५८ जनाले मतदानमा भाग लिने छन् । उपाध्यक्षका उम्मेदवार दाहाल महोत्तरीकी हुन् भने आले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्दछिन् ।
संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभालाई प्रबुद्ध समूहको थलोका रुपमा हेर्ने गरिन्छ ।
राष्ट्रियसभाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार गणेशप्रसाद तिमिल्सिना गत फागुन ३० गते निर्विरोध निर्वाचित भइसकेका छन् ।