• २०८१ बैशाख १६ आइतबार

ग्रेटर पोखराको अवधारणाका साथ पर्यटन विकास आवश्यक- मुख्यमन्त्री पोखरेल

kharibot

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ग्रेटर पोखराको अवधारणका साथ पोखराको पर्यटकीय विकास अघि बढाउनुपर्ने बताएका छन् ।

पोखरा पर्यटन परिषद्को २२औँ साधारणसभा तथा १२औँ अधिवेशनको आज उद्घाटन गर्दै उहाँले प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले ग्रेटर पोखराको अवधारणामार्फत पर्यटन विकास गर्नुपर्ने बताउनुभयो । पोखरालाई वैधानिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा मुख्यमन्त्री पोखरेलको जोड छ । 

गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले गण्डकी प्रदेशबाट पारित ऐनमा देखिएका कमीकमजोरीलाई संशोधन गरेर पर्यटनमैत्री ऐनका लागि आफूले पहल गर्ने बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पर्यटन क्षेत्रका लागि शान्ति सुरक्षाको प्रत्याभूति महत्वपूर्ण हुने र उनीहरूले सुरक्षित ठाउँ नै रोज्ने उल्लेख गर्दै पोखराको शान्ति सुरक्षामा प्रशासनले कुनै कसर बाँकी नराखेको बताए । नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यले पोखरालाई उत्कृष्ट गन्तब्य बनाउनका लागि सबैको साझा उद्देश्य र कार्यगत एकताको खाँचो औल्याए । पोखरा पर्यटन परिषद्का संस्थापक अध्यक्ष अशोक पालिखेले देश विकासमा नीजि क्षेत्रको योगदान उल्लेख्य रहेको चर्चा गर्दै पोखराको पर्यटन प्रवद्र्धनमा परिषद्को भूमिका महत्वपूर्ण रहेको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले राज्यका नीति पर्यटनमैत्री हुन नसक्दा यस क्षेत्रको विकासमा बाधा परेको औँल्याउँदै पर्यटन विकासमा विभाजित नभई साझा सोच र विचारबाट अघि बढ्न आवश्यक रहेको धारणा राखे ।    

राससकर्मी सम्मानित

साधारणसभा तथा अधिवेशनका अवसरमा राष्ट्रिय समाचार समितिका पोखरा समाचारदाता जमुना वर्षा शर्मालाई सम्मान गरिएको छ ।    पत्रकारिताका माध्यमबाट पोखरको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै उनलाई नगद १५ हजार, सम्मानपत्रसहित गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्मान गरे । त्यस्तै, पत्रकार वासु मिश्रलाई पनि नगदसहित सम्मान गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै