• २०८१ जेठ ३ बिहीबार

देउडामय बन्यो डडेल्धुरा सदरमुकाम

kharibot

प्रतिनिधि तस्बीर

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाम पछिल्लो समयमा देउडामय बनेको छ । देउडा खेल्न र हेर्नेको जिल्ला सदरमुकाममा घुइँचोे छ । स्थानीय गाउँमा गौरा पर्वको समापन भएसँगै जिल्ला सदरमुकाम बागबजारमा गौरा महोत्सवको आयोजना गरिएको हो । 

मङ्गलबारदेखि राष्ट्रिय गौरा महोत्सव, २०७९ सुरु भएसँगै जिल्ला सदरमुकाम बागबजार र तोफानडाँडा क्षेत्र देउडामय बनेको हो । स्थानीय संस्कृतिको जगेर्ना र पहिचान गर्न सुदूरपश्चिमेलीको महान पर्व गौराको अवसरमा महोत्सवको आयोजना गरिएको गौरा महोत्सव मूल आयोजक समितिका संयोजक देवराज भट्टले जानकारी दिए । 

मङ्गलबार दिउँसोदेखि सुरुआत भएको गौरा महोत्सवमा जुम्ला, कालीकोट, बैतडीका देउडियासमेत सहभागी बनेका छन् । गौरा, महेश्वरलाई फाग गाउँदै महिलाले बसपार्कमा बालो नाच प्रदर्शन गरिरहेका छन् भने पुरुष तथा अन्य महिला देउडामा झुमिरहेका छन् । महोत्सवमा सुदूरपश्चिमका नौवटै जिल्लासहित कर्णालीको कालीकोट जिल्लाबाट समेत डेउडिया कलाकारको सहभागिता रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा गौरानाच, बालो नाच, चैत, धुमारी, फाग, भुइँचम्फा, हुड्केली, महिला तथा पुरुष डेउडाजस्ता यहाँका कलासंस्कृति समेटिने गरी सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन् । महोत्वसमा डेउडा खेल खेल्ने डेउडियालाई खादा प्रमाणपत्रसहित नगद पुरस्कारले सम्मान गरिने छ । 

धर्म संस्कृतिको जगेर्ना तथा स्थानीय कला संस्कृतिको सम्मान र युवापुस्तामा परम्परा हस्तान्तरण होस् भन्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको समितिका अध्यक्ष भट्टले बताए । चार दिनसम्म आयोजना हुने महोत्सवमा अरुभन्दा पनि युवादेखि बूढापाका देउडा खेलमै रमाउने गरेको देख्न सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै